३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सारथि बने समर्थक

दृष्टिविहीन वान डे विश्वकप यात्रा

काठमाडौँ — सामान्यत: सरोकारवालाले उचित सहयोग दिँदा समर्थकले ताली बजाउँछन् । तर नेपाल दृष्टिविहीन क्रिकेट टोलीको विश्वकप यात्रामा भने ठीक उल्टो स्थिति थियो । समर्थकले सामाजिक सञ्जालको माध्यमबाट रकम जम्मा गरेर सहयोग गर्दा सरोकारवाला 
गुमनाम थिए । 

सारथि बने समर्थक

नेपाली दृष्टिविहीन क्रिकेट टोली पहिलोपल्ट वान डे विश्वकप खेल्न पाकिस्तान जानु थियो । दोस्रो चरणको खेल यूएईमा थियो । तर कुनै सहयोग नपाउँदा टोली लामो बस यात्रामा भारतको गोरखपुर, दिल्ली, अमृतसर हुँदै पाकिस्तानको लाहोर पुग्नुपरेको थियो ।

गोरखपुरको रेल यात्रा रद्द भएपछि दृष्टिविहीन टोली निकै दु:खसाथ बसबाट दिल्ली लागेको थियो ।

नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले दृष्टिविहीन टोलीले उचित सम्मान पाउनुपर्ने भन्दै सहयोगका लागि अभियानै चलायो । जसका कारण नेपाली टोलीले फर्कंदा जाँदा जसरी सास्ती खेप्नुपरेन । एनसीएसएसले चलाएको अभियानबाट उठेको रकमबाट दृष्टिविहीन टोली आइतबार साँझ फ्लाई दुबईको प्लेनमा काठमाडौं उत्रेको थियो ।


‘दृष्टिविहीन क्रिकेटरको सहयोगार्थ एनसीएसएसको अभियान’, ‘जाँदा रेलमा फर्किदा प्लेनमा’, ‘स्वाभिमानको अभियान’ जस्ता नारा दिँदै एनसीएसएसले ७ लाख ८७ हजार १ सय २९ रुपैयाँ उठाएको थियो । त्यसमा ३ लाख १९ हजार रुपैयाँ विश्वकप खेल्न गएको २२ सदस्यीय दृष्टिविहीन टोलीलाई हवाई टिकटमा खर्च गरेको थियो भने बाँकी रकमले सोही टोलीलाई सोमबार कीर्तिपुरस्थित त्रिवि मैदान नगदसहित सम्मान गरियो ।


एनसीएसएसले १४ खेलाडीलाई प्रतिव्यक्ति २२ हजार र बाँकी ८ अफिसियललाई जनही ११ हजार प्रदान गर्दै सम्मान गरेको हो । दृष्टिविहीन टोलीको मुख्य प्रायोजक साहस स्पोर्ट्स र नेपाली टोलीलाई यूएईबाट ल्याउने क्रममा हवाई टिकटमा ३० प्रतिशत छुट दिएको फ्लाई दुबईलाई पनि सम्मानित गरियो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटासहित एनसीएसएसका अध्यक्ष भानु सिग्देलले दृष्टिविहीन क्रिकेट टोलीलाई सम्मान गरे । सिग्देलले अभियानबाट उठेको सबै रकम पारदर्शी हिसाबमा खर्च गरिएको जनाए । ‘एनसीएसएसले चलाएको अभियानलाई संस्थागत अगाडि बढाउन जरुरी छ, दृष्टिविहीन क्रिकेट संघलाई आर्थिक रूपमा बलियो बनाउन राष्ट्रिय टोलीले सधैं सहयोग गर्नेछ,’ कप्तान पारसले भने । सुरुआतमा उनले ५० हजार सहयोग गरेपछि अभियानले ठूलो रूप लिएको थियो ।

विश्वकपमा नेपाली टोली नेता तथा नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले लामो बस यात्राका कारण थकित नेपाली टोलीले समर्थकको न्यानो सम्मान पाएपछि अस्ट्रेलियासँगको खेल जित्न सकेको बताए । प्रशिक्षक टमाटाले दृष्टिविहीन क्रिकेटको विश्वकप यात्रा आफूहरूका लागि उदाहरणीय भएको बताए ।


विश्वकपबाटै खेलाडी जीवन टुंग्याएका टोलीका कप्तान कीर्तन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानालाई सम्मान गरिएको थियो । सो अवसरमा ब्याटिङ परामर्शदाताका रूपमा आएका सुलक्षण कुलकर्णीलाई मायाको चिनो प्रदान गरियो । कार्यक्रमबाटै एनसीएसएसले ५० हजार जम्मा गरी अक्षयकोष स्थापना गरेको छ । उक्त घोषणालगत्तै प्रशिक्षक टमाटा र दृष्टिविहीन क्रिकेट टोलीका कप्तान कीर्तनले ५–५ हजार प्रदान गरे ।

प्रकाशित : माघ ९, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?