कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शिवराम र भुवन भिड्दै

काठमाडौँ — नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले ‘होल इन वन’ सहित सेमिफाइनलमा सूर्यप्रसाद शर्मालाई पराजित गर्दै सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनल स्थान पक्का गरेका छन् । बुधबार क्वाटरफाइनलमा सहोदर दाइ जयरामलाई ५ होलले पराजित गर्दै सेमिफाइनल पुगेका शिवरामले सूर्यलाई १ होलले हराए । अर्को सेमिफाइनलमा तेस्रो वरीयताका भुवन नगरकोटीले रामे मगरलाई ३ होलले पन्छाए ।

शिवराम र भुवन भिड्दै

निकै प्रतिस्पर्धात्मक रहेको सेमिफाइनलमा सूर्यले सुरुआती दुवै होल जित्दै अग्रता लिएका थिए । शिवरामले तेस्रो र चौथो होल जित्दै बराबरी गरे पनि पाँचौं होलमा सूर्यले फेरि अग्रता बनाए । तर, सातौं र नवौं होल जित्दै फ्रन्ट नाइनमा शिवराम अगाडि रहे । ब्याक नाइनको ११ औं होल शिवरामले आफ्नो पक्षमा पारे पनि सूर्यले १२ औं होल जितेर खेललाई जीवित राखे ।

शिवरामले १४ औं होलमा करिअरकै पहिलो प्रतिस्पर्धात्मक ‘होल इन वन’ प्रहार गर्दै दुई होलको अग्रता लिए । तर ‘होल इन वन’ पछि उनले लगातार दुई होल गुमाउँदै खेल बराबरीमा ल्याए । १६ औं होलमा शिवरामले बर्डी प्रहार गर्दै अग्रता लिए । अन्तिम होल बराबर हुँदा शिवराम फाइनल पुग्न सफल रहे । सूर्यले डिफेन्डिङ च्याम्पियन रवि खड्कालाई ३ होलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा भुवनले रामेविरुद्ध पहिलो होलदेखि बनाएको अग्रता अन्तिमसम्म कायम राखे । फ्रन्ट नाइनमा ३ होलको अग्रता लिएका भुवनले १० औं होल गुमाए पनि १७ औं होल आफ्नो नाममा गर्दै उपाधि भिडन्त पक्का गरे । भुवनले क्वाटरफाइनलमा यलम्बरसिंह अधिकारीमाथि ५ होलको सहज जित पाएका थिए । रामेले भने दोस्रो वरीयताका सञ्जय लामालाई पराजित गर्न २१ औं होलसम्म प्रतिस्पर्धा गर्नुपर्‍यो । एक समय ३ होलले पछाडि रहेका रामेले निर्धारित १८ होलको खेल बराबरीसम्म लगेका थिए ।

फाइनल र तेस्रो स्थानको खेल बिहीबार ३६ होलमा खेलिने छ । शिवराम टुरको चौथो तथा भुवन दोस्रो उपाधि जित्ने दाउमा हुनेछन् । जारी सिजनको यो पाँचौं प्रतियोगिता हो । वरीयताअनुसार शीर्ष १६ स्थानका व्यावसायिक खेलाडीले सहभागिता जनाएको यस प्रतियोगिता विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ४० हजार तथा तेस्रो र चौथोले क्रमश: २८ र २० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित : माघ ११, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?