कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिवरामले जिते ४१ औं उपाधि

काठमाडौँ — नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले गल्फर पाइलट्स एनपीजीए क्लासिकको उपाधि जित्दै करिअरको ४१ औं उपाधि जितेका छन्। सिजनको पाँचौं उपाधि जित्ने क्रममा शिवरामले समग्रमा ८ अन्डर २ सयको स्कोर बनाउँदै दोस्रो स्थानका भुवन नगरकोटीलाई ५ स्ट्रोकले पछाडि पारे।

शिवरामले जिते ४१ औं उपाधि

शुक्रबार ७२–पारको गोकर्ण गल्फ क्लबमा शिवरामले १ अन्डर ७१ को स्कोर बनाए। सिजनको पाँचौं उपाधिसँगै शिवरामले ५५ हजार रुपैयाँ प्राप्त गरे। दोस्रो भएका भुवनले ३७ हजारमा चित्त बुझाए। शुक्रबार शिवरामझैं १ अन्डर ७१ स्कोर जोडेका भुवनले समग्रमा ३ अन्डर २ सय ५ को स्कोर जोडे। अन्तिम दिन फ्रन्ट नाइनमा भुवनले अग्रतालाई २ स्ट्रोकमा झारे पनि ब्याक नाइनमा शिवरामले पुनरागमन गर्दै ५ स्ट्रोकको अग्रता कायम राखे। भुवनले पटिङमा बारम्बार गल्ती गरेर शिवरामलाई दबाबमा राख्न चुकेका थिए।


एमेच्योरतर्फ १२ ओभर २ सय २० अंक जोडेका विनोद तामाङले उपाधि हात पारे। उनले तेस्रो दिन ७ ओभर ७९ को खराब प्रदर्शन गरे पनि दोस्रो स्थानका सुवास घिसिङलाई ३ स्ट्रोकले पछि पारे। व्यावसायिकतर्फ रामे मगरले १ ओभर २ सय ९ स्कोरसहित तेस्रो स्थान हासिल गरे। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। ५ ओभर २ सय १३ स्कोर जोड्दै चौथो भएका शिवरामका सहोदर दाइ जयरामले २२ हजार पाए। संयुक्त पाँचौं स्थानमा ६ ओभर २ सय १४ स्कोर जोडेका ३ खेलाडी रहे। धनबहादुर थापा, सञ्जय लामा र रवि खड्काले समान १६ हजार ८ सय ३३ रुपैयाँ पाए। आठौं स्थानका चार खेलाडीले समान १० हजार ७ सय ५० रुपैयाँ पाए। भुवनकुमार रोक्का, सूर्यप्रसाद शर्मा, कुमार कामी र बलभद्र कुँवर सबैले ८ ओभर २ सय १६ स्कोर लेखाएका थिए।


प्रतियोगितामा शीर्ष २१ स्थान हासिल गर्ने व्यावसायिक गल्फरले नगद पुरस्कार पाए। बिहीबार ‘होल इन वन’ गरेकी एकमात्र महिला गल्फर प्रतिमा शेर्पालाई गल्फ प्रशंसक विजय अवालेले १० हजार बराबरको गल्फ सामग्री प्रदान गरे। ३१ व्यावसायिक र १३ एमेच्योर गल्फरको सहभागिता रहेको प्रतियोगिताको पहिलो दुई दिनको खेल रोयल नेपाल गल्फ क्लबमा खेलिएको थियो। प्रतियोगिताको सम्पूर्ण प्रायोजन पाइलट गल्फर रवीन्द्रपुरुष ढकाल, दीपक थपलिया र विजयप्रताप सिंहले गरेका थिए। शनिबार २३ व्यावसायिक र ६९ एमेच्योर गल्फरले प्रो–एम इभेन्टमा सहभागिता जनाउने छन्।

प्रकाशित : माघ २७, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?