कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपालको ओमानसँग हार

विश्व क्रिकेट लिग डिभिजन २

काठमाडौँ — नेपाल विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो दिन शुक्रबार ओमानसँग सजिलै ६ विकेटले पराजित भएको छ। नामिबिया भइरहेको प्रतियोगितामा शुक्रबारको हारले विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनाएको छ। 

विन्डहकस्थित एफिज पार्कमा टस हारेर ब्याटिङ गरेको नेपाली टोली ४६ ओभरमा १ सय ३८ रनमै अलआउट भयो। नेपालले अघिल्लो दिन यही मैदानमा १ विकेटको विजय हात पार्दा नामिबियालाई सोही स्कोरमा अलआउट गरेको थियो। पहिलो खेलमा यूएईसँग लज्जास्पद हार बेहोरेको ओमानले ३५.१ ओभरमा लक्ष्य पूरा गर्‍यो।


क्यानाडाले लगातार दोस्रो विजय हात पार्दा शुक्रबार दाबेदार मानिएको यूएईविरुद्ध २३ रनले नतिजा निकालेको छ। यूएई, ओमान र नेपालको १–१ जित छ। अफ्रिकी मुलुक नामिबिया र केन्याले कुनै खेल जित्न सकेका छैनन्। यी दुईबीचको शुक्रबारको खेल वर्षाका कारण एक बल पनि नफालेर स्थगित भएको थियो। उक्त खेल शनिबार पुन: खेलाइने छ।


सन् २०१९ को विश्वकपको छनोटको आधार रहेको डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन्। पुछारमा रहने दुई टोली रेलिगेसनमा झर्नेछ। नेपालले आइतबार यूएईसँग तेस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ।


कमजोर ब्याटिङले एउटा अर्को खेलमा निरन्तरता पायो। नेपालको हारको कारण त्यही बन्यो। शरद भेषावकरले सर्वाधिक २२ रन बनाए। उनी क्रिजमा पुग्दा नेपालले ५३ रन जोडा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७, दिलीप नाथ १९ र आरिफ शेखलाई ६ रनमा गुमाइसकेको थियो। कप्तान पारस खड्का पनि १७ रनमा आउट हुँदा नेपाल ५६–४ को स्थितिमा पुग्यो। दिलीपले ४९ र पारसले ४२ बल खेलेका थिए।

शरदले दीपेन्द्रसँग मिलेर नेपाली इनिङ्स उकास्ने प्रयास गरेका थिए। दीपेन्द्र २७ बलमा ३ चौका प्रहार गरी २० रनमा आउट भएपछि नेपाल फेरि दबाबमा परेको थियो। अघिल्लो दिनका हिरो वसन्त रेग्मी पनि १ रनमा आउट भएपछि ओमान खेलमा हाबी हुन पुग्यो। शरद सातौं खेलाडीका रूपमा आउट हँुदा नेपालको स्कोर १ सय ११ रन थियो। ३९ बल खेलेका उनले २ चौका प्रहार गरे।


तल्लोक्रममा रोहित पौडेलले १४ रन बनाए भने सोमपाल कामी १७ रनमा नटआउट रहे। करण केसी ४ रनमा रनआउट भए। अन्तिम ब्याट्सम्यान सन्दीप लामिछाने ४ बल खेल्दै शून्यमा बोल्ड भए। ओमानका कलिमउल्लाहले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर ४ र बिलाल खानले ९ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए।


सोमपालले तेस्रो ओभरमै स्वप्निल खादयेलाई १ रनमा एलबीडब्लू आउट गरी नेपाललाई आस देखाएका थिए। जतिन्दर सिंह र अकिब इल्यासले ओमानको स्कोर अगाडि बढाए। सन्दीपले जतिन्दरलाई २२

रनमा बोल्ड गरे। इल्यासले ४६ रन बनाएपछि नेपालको सम्भावना पातलिएको थियो। ५३ बल खेलेका उनले ५ चौका प्रहार गरे।


इल्यासलाई वसन्तले बोल्ड गरे। सन्दीपले खावर अलीलाई ११ रनमा बोल्ड गरे पनि वैभव वाटेगाओनकरले ७१ बलमा नटआउट ३७ र सुल्तान अहमदले २५ बलमा १६ रन बनाउँदै ओमानलाई जिताए। सन्दीपले १० ओभरमा २९ रन दिएका थिए।

प्रकाशित : माघ २७, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?