पुलिस र थ्रीस्टारको पर्खाइ

बुढासुब्बा गोल्डकप फाइनल आज
प्रदीप मेन्याङ्बो

काठमाडौँ — ढासुब्बा रेडबुल गोल्डकप फुटबलको उपाधि जित्न राष्ट्रिय स्तरका अनुभवी खेलाडीको टोली रुस्लान थ्रीस्टार क्लब र युवा जोसले भरिएको विभागीय टोली नेपाल पुलिस क्लब शनिबार धरान रंगशालामा उत्रँदै छन्।

बुढासुब्बा गोल्डकप फुटबल फाइनलको अघिल्लो दिन शुक्रबार ट्रफीसँग पुलिसका म्यानेजर ज्योतिकमल गुरुङ र कप्तान हेम तामाङ तथा थ्रीस्टारका कप्तान विक्रम लामा र सहायक प्रशिक्षक रवीन्द्र शिलाकार।

यो सिजन पुलिसले थ्रीस्टारलाई दुईपल्ट सामना गरेको छ। अब धरानको भेट अविस्मरणीय बनाउँदै पुलिस टोली छैटौंपल्ट बुढासुब्बा गोल्डकप उचाल्न व्यग्र छ। फाइनलबारे पुलिसका म्यानेजर ज्योतिकमल गुरुङ र कप्तान हेम तामाङले चिरप्रतिद्वन्द्वी थ्रीस्टारसँग खेल ‘टफ’ हुने बताए।

टिम म्यानेजर गुरुङले भने, ‘हामी भोलि (शनिबार) बुढासुब्बा गोल्डकप छैटौंपल्ट उचाल्ने गरी मैदानमा प्रदर्शन दिन्छौं।’ उनले आफ्ना खेलाडी सबै युवा र जोसिला रहेको उल्लेख गर्दै कोही पनि घाइते नभएकाले जित सुनिश्चित रहेको दाबी गरे। उता थ्रीस्टारका अधिकांस खेलाडी घाइते भएकाले मैदानमा को–को उत्रन्छन् निश्चित छैन। यो स्थितिमा पुलिसले अग्रपंक्तिमा रेजिन सुब्बा, सुमन लामा र रवि पासवान उतार्दै छ। मिडफिल्ड हेम तामाङ, युवराज राई, तेज तामाङले सम्हाल्दा रक्षापंक्तिको जिम्मा दिनेश राजवंशी, बुद्ध लामा, अजित भण्डारी र सन्तोष हेमरनको काँधमा रहनेछ।

कप्तान हेम तामाङले भने, ‘पोखराको फाइनलमा पनि उसलाई (थ्रीस्टार) हामीले १–० ले जितेका थियौं। अब यहाँ पनि अझ बढी गोलले जित्ने लक्ष्य छ।’ क्वाटरफाइनलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) लाई २–० ले हराउँदै सेमिफाइनल पुगेको पुलिसले सेमिफाइनलमा संकटामाथि २–१ को नतिजा निकाल्दै उपाधिमा दाबेदारी प्रस्तुत गरेको हो।

यसअघि चारपल्ट च्याम्पियन भइसकेको थ्रीस्टारले बुढासुब्बाको २० औं संस्करण आफ्नो पोल्टामा पार्दै पुलिससँग पोखराको बदला लिने रणनीति बनाएको छ। माघ पहिलो सातामात्र थ्रीस्टारले सर्वाधिक राशिको इटहरी गोल्डकप जितेको थियो। थ्रीस्टारलाई युवा स्टार विमल घर्तीमगरको अभाव भने खट्किएको छ। उनी अहिले आई लिगमा खेलिरहेका छन्। विमलको स्थान लिने खेलाडी अभावले थ्रीस्टारले आफ्नो रणनीति गोप्य नै राखेको सहायक प्रशिक्षक रवीन्द्र शिलाकार र कप्तान विक्रम लामाले बताए।

पुलिसले आफूसँग युवा र जोसिला खेलाडीले गोल स्कोर गर्ने बताइरहँदा थ्रीस्टारका प्रशिक्षक शिलाकरले भने, ‘हामीसँग अनुभवी खेलाडी छन्। विक्रम लामा, रेजिन लामा, एलेन न्यौपाने, अनन्त तामाङ, सुनील बल जस्ता राष्ट्रिय खेलाडी छन्। चार विदेशी पनि छन्। यसर्थ हामी उपाधि उचाल्ने छौं।’
सुदूरपश्चिमाञ्चललाई ४–० ले क्वाटरफाइनलमा हराउँदै सेमिफाइनल पुगेको थ्रीस्टारले दुर्गापुर स्टील फुटबल क्लब कोलकाताविरुद्ध १–० को नतिजा निकालेको थियो। थ्रीस्टारले यसअघिका गल्ती सच्याउँदै पुलिसविरुद्ध गोल स्कोर गर्ने शिलाकरले बताए। उनले चार विदेशीसहित अनुभवी खेलाडी हुँदाहँुदै पनि धेरै घाइते भएको र लगातार खेल्नुपरेकाले विश्राम नपाएको बताए। घाइते खेलाडीलाई मैदानमा उतार्न फिजियोले शुक्रबार बेलुकासम्म कस्तो सल्लाह दिन्छन् सोहीअनुसार टिम सेट गर्ने तयारी रहेको कप्तान विक्रमले बताए।उनले भने, ‘यसअघि हामीले स्कोरिङ र फिनिसिङ लाइनमा समस्या भएकाले राम्रा अवसर पनि सदुपयोग गर्न सकेका थिएनौं। पुलिससँगको भिडन्तमा ती कमजोरी सुधारेर उपाधि हत्याउने छौं।’

विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्ने छन्। सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्दा विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित : माघ २७, २०७४ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

प्रशिक्षकको प्रतिनिधि छनोटमा विवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अधिवेशनका लागि प्रशिक्षक संघको प्रतिनिधि छनोटमा विवाद आएको छ।

अध्यक्ष विनोद लामाले आफू मताधिकारसहित तथा उपाध्यक्ष सुमन श्रेष्ठ र सदस्य विजयलाल श्रेष्ठलाई प्रतिनिधिका रूपमा एन्फामा बुधबार दर्ता गराएका थिए। सोही दिन बसेको संघको बैठकले भने उपाध्यक्ष बालगोपाल महर्जनलाई मताधिकारसहित तथा अरुणा गुरुङ र राजेन्द्र तामाङलाई प्रतिनिधि पठाउने निर्णय गरेको थियो।

एन्फाको विधानअनुसार कार्यसमिति निर्णयले मताधिकारवालासहित तीन प्रतिनिधि पठाउने निर्णय गर्नुपर्छ। तर प्रशिक्षक संघका अध्यक्ष लामाले एकलौटी रूपमा प्रतिनिधि दर्ता गरेको आरोप छ। ‘कार्यसमिति बैठक अध्यक्षले भनेको समयमै बोलायौं तर उनी एन्फामा प्रतिनिधि दर्ता गराएर मात्र बैठकमा आए,’ संघका उपाध्यक्ष बालगोपाल महर्जनले भने, ‘प्रतिनिधि तोक्ने जिम्मेवारी आफ्नो भएको अध्यक्षले दाबी गरे। तर, त्यो विधान विपरीत हो। मताधिकार आफैंले लिनेदाबी गर्दै उनी बैठकबाट
बाहिरिएका थिए।’

अध्यक्ष लामा बाहिरिएपछि उपाध्यक्ष महर्जनको अध्यक्षतामा बसेको बैठकले महर्जन, गुरुङ र तामाङलाई प्रतिनिधि पठाउने निर्णय गरेको थियो। उक्त निर्णयको माइन्युट संघले एन्फा सचिवालयमा बिहीबार बुझायो। ‘अध्यक्षको एकलौटी चल्ने भए संघमा कार्यसमिति किन चाहियो,’ उपाध्यक्ष महर्जनले प्रश्न गरे। प्रतिक्रिया लिने प्रयास गरे पनि अध्यक्ष लामा भने सम्पर्कमा आएनन्।

यसैबीच अध्यक्ष लामाले प्रतिनिधि तोकेका उपाध्यक्ष सुमन श्रेष्ठले विज्ञप्ति जारी गर्दै त्यसप्रति असहमति जनाएका छन्। ‘मेरो जानकारी र सहमतिबिना नै प्रतिनिधिका रूपमा मेरो नाम राखियो। यस किसिमको कार्यप्रति पूर्ण असहमति छ। अध्यक्षको यस्ता मनोमानी र निर्णयको भत्र्सना गर्दछु,’ उनको विज्ञप्तिमा
भनिएको छ।

रेफ्रीमा पनि विवाद
रेफ्री संघको निर्वाचनलाई लिएर निर्देशिका सच्याउन संघका पूर्वमहासचिव किरण गिरीले दर्ता गरेको रिटमाथि उच्चअदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गर्दै ‘संघका पदाधिकारीलाई सपथ ग्रहण र पदीय जिम्मेवारी बहन नगर्नू/नगराउनू’ भनेको छ। नवनिर्वाचित अध्यक्ष बुद्धि गुरुङसहित पदाधिकारीले चुनावलगत्तै शपथग्रहण गरेका थिए। त्यसको एक दिनपछि अदालतको अन्तरिम आदेश आएको हो।
पूर्वसहायक फिफा सहायक रेफ्रीसमेत रहेका गिरीले निर्वाचन निर्देशिका सच्याउन अदालत गुहारे पनि उनले बिहीबार एन्फा सचिवालयमा निर्देशिकाअनुसार रेफ्री संघको निर्वाचन नभएको दाबी गर्दै उक्त चुनावलाई बदर गर्न निवेदन दिएका छन्।एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन चैत १४ मा हुँदै छ। त्यसका लागि जिल्ला, क्लब र समितिहरूलाई प्रतिनिधि पठाउने अन्तिम समयसीमा बुधबार तोकिएको थियो।

प्रकाशित : माघ २७, २०७४ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्