बास्केटबल लिग आजबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बास्केटबल इतिहासमै सर्वाधिक पुरस्कार राशिको क्विक्स बास्केटबल लिग शनिबार सुरु हुँदै छ । गैरसरकारी संस्था प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन) को आयोजनामा हुने प्रतियोगितालाई चौधरी ग्रुपको दुई उत्पादनले प्रायोजन गरेको छ । आठ टोलीको सहभागिता रहने प्रतियोगिता होम एन्ड अवे प्रणालीमा कुल ६० खेल खेलिनेछ ।

बास्केटबल लिग आजबाट

त्रिभुवन आर्मी क्लबसँग आबद्ध रहेका राष्ट्रिय टोलीका कप्तान सदीश प्रधानले यो प्रतियोगिताले नेपाली बास्केटबललाई नयाँ गति दिने बताए । ‘हामीले आजसम्म छोटो अवधिको प्रतियोगितामात्र खेल पाएका थियौं । विरलै हुने त्यस किसिमको प्रतियोगितामा भन्दा यस्तो लिगमा स्तरीय खेल प्रदर्शन गर्न सकिन्छ । यसले नेपाली बास्केटबललाई व्यावसायिकतातर्फ धकल्ने आस गरेको छु,’ उनले भने ।


महिला राष्ट्रिय टोलीकी कप्तान सदिना श्रेष्ठले पुरुषबाट सुरु भएको यस उत्साहजनक कार्यक्रमले आउने वर्षमा महिलाका लागि पनि केही सोच्ने आशा राखेको बताइन् ।

प्रतियोगितामा नेपाली बास्केटबलका परिचित आठ टोलीले डेढ महिनाभित्र १४–१४ लिग खेल खेल्नेछन् । विभागीय टोली आर्मीसँगै साउथ साइडर्स बास्केटबल क्लब, बूढानीलकण्ठ नगरपालिका, हिमालयन हाउन्ड्स, गोल्डेनगेट कलेज, जेभियर कलेज, कीर्तिपुर बास्केटबल टिम र विशाल मिलन केन्द्रले सहभागिता जनाउने छन् । लिग चरणका शीर्ष चार टोलीले प्लेअफ हुँदै उपाधि भिडन्त तय गर्नेछन् । प्लेअफमा लिगको पहिलो स्थान हासिल गर्ने टोलीले चौथो तथा दोस्रो हुनेले तेस्रोको सामना गर्नेछन् ।


आयोजक पीडीसीएनका अध्यक्ष अरुण कार्कीले घरेलु बास्केटबलको प्रवद्र्धनका लागि यस प्रतियोगिताले सहयोग पुग्ने बताए । ‘हामीले नेपाली बास्केटबलको विकासमा सहयोग पुर्‍याउने हेतुले यो कार्यक्रम ल्याएका हौं । आउने दिनमा यसलाई अझै परिस्कृत गर्दै लैजाने योजना छ,’ उनले थपे । प्रायोजक चौधरी ग्रुपका सहायक महाप्रबन्धक लालबाबु प्रसादले नेपाली बास्केटबलका लागि आफ्नो संस्थाले दीर्घकालिन सोच बनाएको बताए । उनले आउने दिनमा पनि बास्केटबलको स्तर उकास्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले संघको प्राविधिक सहयोग रहेको यस प्रतियोगिताले भविष्यमा अन्य कार्यक्रम ल्याउन सहयोगी हुने बताए ।


विजेता टोलीले २ लाख र उपविजेताले १ लाख तथा तेस्रो स्थान हासिल गर्नेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीले १० हजारबराबरको उपहार पाउने छन् ।

व्यक्तिगत विधातर्फ मोस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक स्कोरर, उत्कृष्ट डिफेन्स, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक पुरस्कृत हुने छन् । २८ खेलका म्यान अफ द म्याचले ५ हजार बराबरको उपहार प्राप्त गर्नेछन् । पहिलो खेल शनिबार राखेप कभर्डहलमा आर्मी र विशाल मिलन केन्द्रबीच हुनेछ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?