२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आर्मी र थ्रीस्टारको होड

लक्ष्मी साह

बारा– — रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि ए डिभिजनका त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच शनिबार सिमरा रंगशालामा भिडन्त हुँदै छ । आर्मी पूर्व विजेता टोली हो भने रुस्लान थ्रीस्टार पहिलोपल्ट उपाधि भिडन्तमा पुगेको छ । 

आर्मी र थ्रीस्टारको होड

आर्मी २०७१ सालको छैटौं संस्करणमा विजेता बनेको थियो । गत वर्ष संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपविजेतामा चित्त बुझाएको थियो । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा ९ वर्षदेखि सिमरामा जारी गोल्डकपको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी हो । मनाङले दुई पटक उपाधि जितेको छ । तर, लगातार प्रतियोगिता खेल्दा खेलाडी घाइते भएको भन्दै मनाङले यसपालि भाग लिएन ।


आर्मी दोस्रो पटक उपाधि जित्ने प्रयासमा हुनेछ भने पहिलोपटक फाइनल पुगेको थ्रीस्टार विजेताको सूचीमा सामेल हुने दाउमा छ । एपीएफलाई ४–० ले हराउँदै सिमरा गोल्डकप यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा वीरगन्ज युनाइटेडलाई ३–० ले हराएको थियो । थ्रीस्टारले फाइनलसम्म यात्रा तय गर्ने क्रममा क्वाटरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकर र सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई ४–२ ले हराएको थियो ।


सिमरा गोल्डकपमा दुई खेल खेल्ने क्रममा गोल नखाएका आर्मीका गोलकिपर विकेश कुथुको नाममा क्लिनसिट छ । मोरङका कर्ण लिम्बू, थ्रीस्टारका सुनील बल तथा आर्मीका जर्ज प्रिन्स कार्की र दिनेश हेम्जन २–२ गोलसाथ गोलकर्ता सूचीमा अगाडि छन् ।


शुक्रबार आयोजित प्रि(म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिसाथ मैदानमा उत्रने दाबी गरे । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवास तथा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी र नीराजन खड्का कन्फ्रेन्समा सहभागी थिए ।

थ्रीस्टारका प्रशिक्षक केसीले आफ्नो टोलीले फाइनल जित्ने दाबी गरे । आर्मीका पूर्व प्रशिक्षक रहेका केसी दुवै क्लबको स्तर बराबर रहेको र जसले बढी मिहिनेत गर्न सक्यो उसले उपाधि जित्ने बताउँछन् । थ्रीस्टारका कप्तान नीराजनले पछिल्ला डेढ वर्ष थ्रीस्टारले नखेले पनि अन्य क्लबबाट आर्मीविरुद्ध खेलेको अनुभव सुनाउँदै विपक्षी उच्च फर्ममा भए पनि खेलाडीको प्रयासले उपाधि आफ्नो पक्षमा पार्ने दाबी गरे ।


आर्मीका प्रशिक्षक न्यौपानेले मौकाको सदुपयोग गरेर जित्ने दाबी गरे । लगातारको प्रतियोगिताले खेलाडीको शक्ति कम हुँदै गए पनि आफ्नो टिम अहिले राम्रो फर्ममा फर्किएको उनको भनाइ छ । आर्मी कप्तान भरतले पछिल्लो खेलहरू ठूलो स्कोरले जित्दा मनोबल उच्च रहेको बताए । आफूहरू नतिजाका लागि खेल्न तयार रहेको जनाउँदै उत्कृष्ट खेलकै आधारमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।


आर्मीले सिमरा गोल्डकप जिते टोलीका लागि यो वर्षको पाँचौं उपाधि हुनेछ । यता लगातार चौथो साता चौथो नकआउटको फाइनल खेलिरहेको थ्रीस्टारले जित्न सके तेस्रो उपाधि हुनेछ । थ्री स्टारले इटहरी र बुढासुब्बा गोल्डकप जितेको थियो । आर्मीले यस सिजन ८ प्रतियोगिता खेल्ने क्रममा ४ नकआउटको उपाधि जितेको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?