१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मध्यक्रमका आशा

'मेरो यहाँसम्मको यात्रा सफल हुनुमा मोन्टीसरको निर्देशन निकै महत्त्वपूर्ण रह्यो । उहाँको निर्देशनमा खेल्दा रणनीतिक हिसाबमा हामीले परिपक्व हुन सिक्यौं ।'
सुबास हुमागाईं

काठमाडौँ — उमेर समूहमा लगातार प्रभावशाली प्रदर्शन गर्दै राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन सफल युवा रोहितकुमार पौडेलका बितेको केही दिन सपनाभन्दा कम रहेन । राष्ट्रिय टोलीमा परेको पहिलो प्रतियोगितामै डेब्यू गरेका रोहित नेपालका नायक साबित भए ।

मध्यक्रमका आशा

नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उनको धैर्यपूर्ण ब्याटिङले नेपाल सन् २०१९ मा हुने विश्वकप क्रिकेटको छनोटमा स्थान बनाउन सफल भयो । शीर्षक्रमका अनुभवी ब्याट्सम्यान लगातार चुक्दा मध्यक्रममा विपक्षीसामु पर्खालझैं खडा भएका रोहितले आफूलाई विश्वसामु चिनाए ।


रोहित भने डिभिजन २ आफ्ना लागि मात्र नभएर समग्र नेपाली क्रिकेटकै लागि एतिहासिक मान्छन् । ‘यो साता साँच्चै हामी सबैका लागि खुसीले भरिपूर्ण थियो । हामीले प्रतियोगिताको सुरुआतमा चाहेजस्तो नतिजा निकाल्न सक्यौं र विश्वकप छनोटमा स्थान पक्का भयो,’ उनले भने । लामो समयदेखि कमजोर रहँदै आएको नेपाली ब्याटिङको मध्यक्रममा अवसर पाउदा रोहितले त्यसमा चौका हानेका हुन् । सानै उमेर र कम अन्तर्राष्ट्रिय अनुभवका बाबजुद परिपक्व ब्याटिङ गर्दै उक्त अवसर अनुशरण गरे । रोहित यसै फर्मलाई आउने विश्वकप छनोट प्रतियोगितामा पनि कायम राखेर टोलीको प्रदर्शनमा अझै सहयोग गर्न चाहन्छन् ।


प्रतियोगितामा २८ को औसतमा कुल १ सय ४० रन बनाउँदै रोहित नेपालका लागि कप्तान पारस खड्कापछि सर्वाधिक रन बटुल्ने खेलाडी थिए । नेपालले खेलेका सबै ६ खेलमा दोहोरो अंकमा रन जोड्ने उनी एक्लो ब्याट्सम्यान थिए । एक महिनाअघि सम्पन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उपविजेता बनेको भैरहवा ग्लाडियटर्सको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेलेका रोहितले यू–१९ उमेर समूहमा पनि उत्तिकै राम्रो प्रदर्शन गरेका थिए ।

रोहितको उमेर समूहको टोलीसम्मको यात्रा सहज भने थिएन । सन् २०१६ को डिसेम्बरमा श्रीलंकामा आयोजित यू–१९ एसिया कपको टयालेन्ट हन्टमा छनोटकर्ताको आँखामा परेका थिए ।


बालुवाटार क्रिकेट क्लबमा नियमित प्रशिक्षण गर्दै आएका रोहित त्यस समय ६ स्थानमा गरिएको टयालेन्ट हन्टमा भैरहवाबाट आएका थिए । यू–१९ टोलीका प्रशिक्षक विनोद दासका अनुसार उनको टेक्निक र खेलप्रतिको प्रवृत्तिले छनोटकर्ताको ध्यान खिचेको थियो ।


‘रोहितमा हामीले छनोट चरणदेखि नै ब्याट्सम्यानमा हुनुपर्ने टेक्निक देख्यौं । प्रशिक्षणमा आएपछि उनको क्षमता बुझ्दै गयौं र त्यसैअनुरुप उनलाई मध्यक्रममा ब्याट्सम्यानको भूमिका दियौं । एसिया कपमा भारतविरुद्ध बनाएको अर्धशतकले उनको स्तर प्रस्ट पारेको थियो,’ दासले भने । नवलपरासीमा जन्मेका रोहितले कलिलो उमेरमै पाएको अवसर भरपूर सदुपयोग गरे ।


प्रशिक्षक दासका अनुसार रोहितसँगै यू–१९ उमेर समूहका खेलाडी मानसिक रुपमा जुनसुकै स्तरमा खेल्न पनि तयार छन् । ‘हामीले उमेर समूहमै छँदा खेलाडीहरूलाई मानसिक रूपमा पनि बलियो बनाएका छौं । पुबुदु (दासानायके), मोन्टी लगायत सम्पूर्ण प्रशिक्षण टोलीका कारण यो सम्भव भएको हो ।


युवा अवस्थामै खेलप्रति उनीहरूको दृष्टिकोण सकारात्मक बनाउन सकेको कारण यो सम्भव भएको हो,’ प्रशिक्षक दासले भने । श्रीलंकामा उनले भारतविरुद्ध ६८ रनको उत्कृष्ट इनिङ्स खेल्दै क्रिकेटप्रेमीमाझ चर्चा बटुले । उक्त खेलमा उनले भारतका कमलेश नगरकोटीको अन्तिम ओभरमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । तिनै नगरकोटीले गत महिना भारतलाई यू–१९ विश्वकप उपाधि दिलाउँदा ६ खेलमा ९ विकेट लिएका थिए ।


मलेसियामा गत वर्ष सम्पन्न यू–१९ उमेर समूहमा खेल्दा नेपालका ब्याटिङ कन्सल्टेन्ट रहेका मोन्टी देशाईको मार्गदर्शन नै आफ्नो करिअरको ‘टर्निङ प्वाइन्ट’ मान्छन् रोहित । ‘हामीले यू–१९ एसिया कप खेल्नुअघि मोन्टीसरको साथ पायौं । उहाँकै निर्देशन पालन गरेर म यो स्थानमा आइपुगेको हुँ । मेरो यहाँसम्मको यात्रा सफल हुनुमा मोन्टीसरको निर्देशन निकै महत्त्वपूर्ण रह्यो,’ उनले थपे, ‘उहाँको निर्देशनमा खेल्दा रणनीतिक हिसाबमा हामीले परिपक्व हुन सिक्यौं, त्यसले सिनियर टोलीसम्म खेलको अवस्थाअनुसार खेल्न सहज भयो ।’


नेपालले सन् २०१५ मा ट्वान्टी–२० विश्वकप छनोट खेल्दा ब्याटिङ कन्सल्टेन्ट रहेका मोन्टीलाई नेपालकै आग्रहमा यू–१९ एसिया कपका लागि ल्याएको थियो । नेपाली क्रिकेटलाई नजिकबाट नियालेका मोन्टीलाई यसपटक पनि राष्ट्रिय टोलीले भित्र्याउने माग गरेको थियो । तर नेपालमा क्रिकेट संघ नहुँदा उक्त प्रयास सफल हुन सकेन । मोन्टीले प्रतियोगिता–केन्द्रित जिम्मेवारी नभएर दीर्घकालिन जिम्मेवारीको माग गरेपछि नेपालले अर्को विकल्प रोज्नुपरेको थियो । हाल मोन्टी अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीमा ब्याटिङ प्रशिक्षक छन् ।


मध्यक्रमको अन्तिम ब्याट्सम्यानको जिम्मेवारी वहन गर्नु निकै चुनौतीपूर्ण मानिन्छ । अझै रोहितको मुख्य भूमिका टोलीको अन्तिम विशेषज्ञ ब्याट्सम्यानको रूपमा टोलीका लागि रन बटुल्नु थियो । नेपालका लागि शीर्षक्रमका पारस र शरद भेषावकरले पार्टटाइम बलिङ गर्ने हुनाले रोहित पूर्णत: ब्याट्सम्यानका रूपमा टोलीमा थिए । डिभिजन–२ मा शीर्ष क्रमको ब्याटिङ नचल्दा रोहितलाई रन बटुल्नेसँगै विकेट बचाउने उत्तिकै दबाब थियो । तर उनले कुनै दबाब नखेपी प्रत्येक खेलमा उच्च प्रदर्शन दिए । लिग चरणमा सर्वाधिक बल खेलेका रोहितले नेपालले लगातार विकेट गुमाउँदा टोलीका लागि काँध थापेका थिए ।


लगातार प्रदर्शन गर्न सिनियर खेलाडीको पनि उत्तिकै साथ मिलेको रोहित स्वयं बताउँछन् । ‘मलाई सिनियर खेलाडीबाट पनि राम्रो साथ मिलिरहेको छ । दाइहरूले दिएको सल्लाह र सुझावले मलाई पिचमा निकै सहज भएको छ । प्रशिक्षणका क्रममा सिनियर खेलाडीको अनुभव सुन्दा आफूले भविष्यमा त्यसैलाई अनुशरण गर्न पनि सकिन्छ,’ रोहितले भने ।


लगातार उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै रोहितले राष्ट्रिय टोलीमा सुखद सुरुआत गरेका छन् । उमेर समूहको क्रिकेटमा आफूलाई सिद्ध पारेपछि घरेलु क्रिकेटमा उदाएका रोहितको प्रदर्शन नामिबियाको कठिन परिस्थितिमा अब्बल दर्जाको रह्यो ।


उनको विगत प्रदर्शनलाई हेर्ने हो भने उनमा मध्यक्रम सम्हाल्न चाहिने कौशल र क्षमता पर्याप्त रूपमा छ । कम्तिमा नामिबियामा देखाएको उनको प्रदर्शनले लामो समयदेखिको टाउको दुखाइ बनेको नेपालको मध्यक्रम ब्याटिङले दीर्घकालीन समाधान पाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?