कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कर्माछिरिङ र मणि भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को १४ चैतमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ ।

कर्माछिरिङ र मणि भिड्ने

उम्मेदवारी दर्ताको अन्तिम दिन शुक्रबारसम्म अध्यक्षमा कर्माछिरिङ र मणिले उम्मेदवारी दर्ता गराएका हुन् । कुँवर गत वर्ष एन्फाको उपाध्यक्षमा एक वर्षका लागि निर्वाचित भएका थिए । भ्रष्टाचारको अभियोगमा फिफाद्वारा प्रतिबन्धित गणेश थापाका सालो रहेका उनलाई पछि कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष बनाएको थियो ।


कर्माछिरिङ दुई दशकयता एन्फा कार्यसमितिमा निरन्तर छन् । पछिल्लोपल्ट उपाध्यक्ष रहेका उनले थापाले एकलौटी रूपमा एन्फा सञ्चालन गरेको भन्दै चार वर्षअघि शुद्धीकरण अभियान थालेका थिए । उनी गत वर्ष सम्पन्न अध्यक्षको निर्वाचनमा नरेन्द्रलाल श्रेष्ठसँग ५ मतले पराजित भएका थिए ।


चार उपाध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरा । कर्माछिरिङ निकट रहेका पंकजविक्रम नेम्वाङ, किशोर राई, कृष्ण थापा, उपेन्द्रमान सिंह, वीरबहादुर खड्का र राजेन्द्र नेउपानेले उपाध्यक्षमा उम्मेदवारी दिए । अन्य प्रत्याशीहरू विराटजंग शाही, मोहमद समिउल्लाह, सुनील राणा, अरुणमान जोशी र गणेश चन्द संस्थापन पक्षका हुन् ।

उम्मेदवारी घोषणापछि वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठका साथ कुँवर ।तस्बिर : अंगद ढकाल/कान्तिपुर

त्यस्तै, सदस्यमा ११ पदका लागि ३५ जनाले उम्मेदारी दर्ता गरे । यसमा स्वतन्त्र उम्मेदवार पनि छन् । महिला सदस्यको एक पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसमा पूर्व रेफ्री एवं महिला समितिकी महासचिव पेमा डोल्मा लामा र महिला समितिकी उपाध्यक्ष रमा भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । दर्ता गरिएको नाममा छानबिन गरी १४ फागुनमा उम्मेदारको नामावली प्रकासित गर्ने एन्फाले जनाएको छ ।


एन्फाले अधिवेशनमा सहभागी हुने मतदाता र अन्य प्रतिनिधिको नामावली पनि शुक्रबार प्रकासित गर्‍यो । यसमा ७७ मतदाता छन् । निर्वाचन नभएका भक्तपुर जिल्ला फुटबल संघ र खेलाडी संघ तथा एन्फाले मान्यता नदिएको मकवानपुर जिल्ला फुटबल संघलाई प्रतिनिधि सूचीमा राखे पनि मतदाता र अन्य प्रतिनिधिका नाम भने खाली राखिएको छ । कार्यसमितिको निर्णय अर्कै भए पनि प्रशिक्षक संघको प्रतिनिधिका रूपमा अध्यक्ष विनोद लामाले दर्ता गरेको नामलाई नै सदर गरिएको छ । नामावलीमा दावी–विरोधका लागि शनिबार ३ बजेसम्म समय तोकिएको छ ।

अदृश्य शक्ति एन्फाका पूर्व सीईओ इन्द्रमान तुलाधरले ‘अदृश्य शक्ति’ले नेपाली फुटबलको सर्वोच्च संस्थामा काम गर्न नदिएको दाबी गरेका थिए । यसबारे वरिष्ठ उपाध्यक्ष कुँवरले भने, ‘अदृश्य शक्ति पक्कै थियो । फुटबल त्यसैले चलाउँथ्यो । त्यसको अन्त्य हुनुपर्छ ।’

अदृश्य शक्तिबारे एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि बोले, ‘जुन साथीले उठाउनुभयो, उसैसँग मैले दुई वर्ष काम गरें । आफ्नो कामको जिम्मेवारी आफैं लिनुपर्छ । अदृश्य शक्तिको आभाष गरेका थिएनौं । आफ्नो असफलता वा चाहेको भएन भनेर कसैले उम्कन मिल्दैन ।’

पारिवारिक कारण फुटबलको उच्च पदमा उम्मेदारी नदिने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘म पलायन हुने व्यक्ति होइन । मलाई पदको लोभ छैन, उहाँ (मणि) सँग निरन्तर रहने छु ।’ अध्यक्षमा कुँवरलाई समर्थन गरेका उनले भने, ‘त्यो समूह (इन्द्रमान) ले अहिले किन साथ छोड्नुपर्‍यो कुनै सही कारण छैन । त्यसैले हामी शतप्रतिशत जित्छौं ।’ उनले कर्माछिरिङ समूहको परिवर्तनको नारा आफूले नबुझेको बताए । एन्फालाई राजनीतिकरण हुन नदिने उनको दाबी थियो ।


कुँवरको उम्मेदवारी घोषणामा अध्यक्ष श्रेष्ठ, एन्फाका कोषाध्यक्ष विराटजंग शाही, सदस्य रमेश रायमाझी, गणेश चन्द, पूर्वउपाध्यक्ष महेश विष्ट, मानार्थ उपाध्यक्ष हरि श्रेष्ठ उपस्थित थिए । त्यस्तै, सिन्धुली, सिराहा, पाल्पा, नवलपरासी, ललितपुर, काठमाडौं, पर्सा, महोत्तरी, संखुवासभा, ताप्लेजुङ, कञ्चनपुर, बारा, रौतहट, कैलाली, चितवन, दोलखा, रेफ्री संघ तथा क्लबहरू सानो गौचरण, खालीबारी, समाज कल्याणका प्रतिनिधि पनि सहभागी थिए ।


‘पारदर्शी र सुशासन’

एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै एन्फामा पारदर्शी र सुशासन बसाल्ने बताएका छन् । ‘धेरै ठूलो सपना बाँड्न चाहन्न,’ कुँवरले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘पारदर्शी र सुशासन एन्फामा बसाल्न चाहन्छु ।’ उनले योजना पनि सुनाए, ‘साफ २०१८ (महिला र पुरुष) जित्ने तयारी गर्ने, ग्रासरुट फुटबल जिल्लाहरूमा पनि सञ्चालन गर्ने, पाँचवर्षे कार्यक्रम लागू गर्ने र एन्फाको अन्तराष्ट्रिय, मार्केटिङ र फाइनान्स विभागलाई चुस्त बनाउने छु ।’


२०५१ सालमा ब्वाइज युनियन क्लबको सदस्य भएयता फुटबलमा नियमित सक्रिय भएको उल्लेख गर्दै कुँवरले एन्फाको पछिल्लो वर्ष गरेको कार्यक्रमको फेहरिस्त सुनाए । कर्माछिरिङ शेर्पाले आफ्नो उम्मेदारी घोषणामा ‘परिवर्तनका लागि आफ्नो नेतृत्व’ दाबी गरेका थिए । त्यसबारे कुँवरले भने, ‘विकास, शुद्धीकरण र परिवर्तनको नाममा के भइरहेको छ छर्लंगै छ । राजनीतिक रङमा गतिविधि भइरहेको छ । यसबाट चिन्तित छु । व्यक्तिगत लोभ, लालच, इच्छाभन्दा माथि उठेर फुटबलका लागि सोच्ने बेला हो यो । चार वर्षभित्र हाम्रो एन्फा, हाम्रो फुटबल भन्ने बनाउन चाहन्छु ।’


एन्फालाई अनुभूति गर्ने र देखिने एन्फा बनाउन चाहेको पनि उनले बताए । भ्रष्टाचारको अभियोगमा प्रतिबन्धित एन्फाका पूर्वअध्यक्ष गणेश थापा खुलेरै कुँवरको पक्षमा ‘लबिङ’ गरिरहेका छन् । यसबारे कुँवरले भने, ‘नातेदार हो उहाँसँग भेट हुन्छ तर के भइरहेको छ भन्नेमा उहाँले चासो दिनु ठूलो कुरा होइन । ४० वर्षदेखि फुटबलमा लागेको व्यक्तिले यसैमा सोच्नु गलत होइन ।’

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?