आर्मीको जित

क्वीक्स बास्केटबल लिग
कान्तिपुर संवाददाता

काठमाडौँ — विनोद महर्जनले उत्कृष्ट खेल पस्कँदै ट्रिपल–डबलको प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लबले क्वीक्स बास्केटबल लिगको शनिबार उद्घाटन खेलमा जित पाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आर्मीले विशाल मिलन केन्द्र (बीएमके) लाई ८७–७३ स्कोरले हराउँदै ३ अंक जोड्यो ।

आर्मीको जित

आर्मीको जितमा विनोदले २४ अंक, ११ असिस्ट र १५ रिबाउन्डसहित पहिलो खेलमै ट्रिपल–डबलको प्रदर्शन गरे । उनलाई रविन खत्री (१४ अंक, १३ असिस्ट) तथा कप्तान सदीश प्रधान (१६ अंक, ५ असिस्ट) ले राम्रो साथ दिए । बीएमकेका विकास गुरुङले २२ अंक जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

खेलको सुरुमा केही मिहिनेत गर्नुपरे पनि आर्मीले पहिलो क्वाटर २४–११ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो क्वाटरमा १९–१७ ले पछाडि परेको बीएमकेले तेस्रो क्वाटर २५–१६ ले आफ्नो पक्षमा पार्दै समग्रमा अग्रता ६ अंकमा घटायो । आर्मीले अन्तिम क्वाटर २८–२० ले जित्दै प्रतियोगितामा सुखद सुरुआत गर्न सफल रह्यो ।


डेढ महिना चल्ने होम एन्ड अवे प्रणालीको लिगमा आठ टोली सहभागी छन् । आइतबार एकमात्र खेलमा हिमालयन हाउन्ड्सले कीर्तिपुर बास्केटबलसँग खेल्नेछ ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?