हेटौंडा — साबिक विजेता त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल सुरक्षित गरेको छ । आर्मीले फाइनल पुग्नका लागि मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ ।
निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा आर्मीले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा आर्मीका नवयुग श्रेष्ठ, भरत खवास, दीप लामा, विवेक बस्नेत र विकेश कुथुले गोल गरे । सुदूरपश्चिमबाट नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र चेतन थारुमात्र गोल गर्न सफल भए । सुदूरका राकेश हमालको प्रहारबारे विवाद भयो । रेफ्रीले गोल नभएको बताएपछि सुदूरपश्चिमले विरोध जनाएको छ ।
दोस्रो हाफमा आर्मीको तर्फबाट स्ट्राइकर नवयुगले ६९ औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भयो । अन्तिम तीन मिनेट बाँकी रहँदा सुदूरपश्चिमका विनोद केसीले गोल फर्काएका थिए । आधा दर्जन प्रहार बचाएका आर्मीका विकास कुथु म्यान अफ द म्याच घोषित भए ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेल अवधिभर सुदूरपश्चिमले दबाब सिर्जना गरेको बताए । प्रशिक्षक सुरेश हमालले रेफ्रीबाट आफूहरू गलत निर्णयको सिकार भएको बताए । मंगलबार थ्रीस्टार क्लब र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४१