भूमिराजलाई पोखरा म्याराथन

दीपक परियार

लेखनाथ — पुलिस क्लबका धावक भूमिराज राईले सफल पोखरा म्याराथनको १२ औं संस्करणमा उपाधि जितेका छन् । सोमबार भूमिराजले ४२.१९५ किलोमिटर दूरी २ घण्टा ३६ मिनेट ४२.२ सेकेन्डमा पार गरेका थिए । उनले ट्रफीसहित ७० हजार रुपैयाँ पुरस्कार पाए ।

भूमिराजलाई पोखरा म्याराथन

आर्मीका हरिकुमार रिमालले २ घण्टा ३८ मिनेट ४६.१ सेकेन्डबाट दोस्रो र लालबहादुर थापा तेस्रो भए । लालबहादुरले २ घण्टा ३९ मिनेट ३२.४ सेकेन्डमा दूरी पूरा गरे । एपीएफ क्लबका गणेश ठकुरी २ घण्टा ४५ मिनेट ४५.२ सेकेन्डबाट चौथो स्थानमा रहे । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश: ४५ हजार, ३५ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए ।


म्याराथनमा १ सय १३ सहभागी थिए । पोखरा रंगशालाबाट सुरु म्याराथन दौड सहरको विभिन्न भाग परिक्रमपछि पुन: रंगशालामै टुंगिएको थियो ।


१० किमि पुरुषको सबै उपाधिमा आर्मीले बाजी मारेको छ । रामजी बस्नेत, कल्याण बानियाँ र मिलन कार्की शीर्ष तीन स्थानमा विजयी भए । उनीहरूले क्रमश: १५, १० र ५ हजार पुरस्कार पाए । यस दौडमा ५ सय २१ जना सहभागी थिए । सोही दूरीको महिलातर्फ ६३ जनालाई उछिन्दै एपीएफकी वृन्दा श्रेष्ठ विजेता भइन् । आमीकी सरिता वासी दोस्रो र एपीएफकी स्वस्तिका श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमश: १५, १० र ५ हजार पुरस्कार पाए ।


छात्रतर्फ ५ किमी दौडमा जेसिस मावि भक्तपुरका सागर श्रेष्ठ विजेता भए । डाफोडिल मावि पोखराका मनीष कार्की दोस्रो र जनसेवा माविका मदन ओली तेस्रो भए । छात्रातर्फ लक्ष्मी माविकी ललिता लामिछाने पहिलो, सहिद स्मृति माविकी माधुरीदेवी नकर्मी दोस्रो र शिशु कल्याण माविकी कृति थापा तेस्रो भए । दुवैतर्फ शीर्ष तीन स्थानका विजेताले क्रमश: १०, ७ र ४ हजार पाए ।


प्रतियोगितामा ४ सय मिटर पुरुष हिलचियर दौडमा सुरेश गौली, भरत अधिकारी र बलबहादुर रोक्का तथा महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पुनम विक शीर्ष तीन स्थानमा विजयी हुँदै क्रमश: ५, ३ र २ हजार पाए । प्रतियोगितामा पहिलोपल्ट १ सय मिटर दृष्टिविहीन पुरुष तथा महिला दौड समावेश थियो । पुरुषतर्फ आशिष खड्गी पहिलो, दुर्गादत्त पौडेल दोस्रो र राजन चन्द तेस्रो भए । महिलातर्फ माया गौतम पहिलो, विपना खनाल दोस्रो र मुना अर्याल तेस्रो भए । उनीहरूले क्रमश: ५, ३ र २ हजार रुपैयाँ पाए ।

विजेतालाई प्रदेश ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पुरस्कृत गरे । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दौडिएर ‘रन फर फन’ इभेन्टको उद्घाटन गरेका थिए । खेलकुदमा विशेष योगदान गरेवापत राखेप प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाट र कास्की प्रहरी प्रमुख अशोक सिंहलाई सम्मान गरिएको थियो । भुतपूर्व खेलाडी मञ्चले हरेक वर्ष प्रजातन्त्र दिवसका दिन म्याराथन गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?