१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गृहजिल्ला पुगे सन्दीप

रमेशकुमार पौडेल

चितवन — विश्व क्रिकेट लिगको डिभिजन २ खेलेर स्वदेश फर्केका सन्दीप लामिछाने सोमबार गृहजिल्ला चितवन आइपुगेका छन् । प्रतियोगिताबाट नेपालले विश्वकपका लागि छनोट खेल खेल्ने अवसर बनाएको थियो । डिभिजन २ को फाइनल खेल्दै उपविजेता बनेको नेपालका लागि सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । 

गृहजिल्ला पुगे सन्दीप

इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली डेयरडेभिल्सका सदस्य बनेका सन्दीप डिभिजन २ मा सर्वाधिक १७ विकेट लिँदै म्यान अफ द सिरिज भएका थिए । ‘मेरो मनमा कुनै दिन आईपीएल खेल्छु भन्ने त थियो तर यति चाँडै खेल्छु भन्ने लागेको थिएन । सायद गर्नुपर्ने भन्दा पनि बढी संघर्ष गरेका कारण चाँडै सफल भएँ कि †,’ भरतपुर विमानस्थलमा पत्रकारसँग सन्दीपले भने ।


आईपीएल मैदानमा खेल्ने अवसर पाइन्छ भन्नेमा कतिको आशा छ भन्ने प्रश्नमा सन्दीपले भने, ‘अब म टिममा छु । टिमले जित्नुपर्छ भन्ने भावना राख्नुपर्छ । जो खेल्दा टिमले जित्छ त्यसैले अवसर पाउने हो । मैले अवसर पाएँ भने टिमलाई जिताउने प्रयासमा हुन्छु । मैले अहिले यति नै सोचेको छु ।’


जिम्बाबेमा हुने विश्वकप छनोटमा नेपाली टोली शीर्ष दुई स्थानभित्र परे विश्वकपमा पुग्नेछ । ‘हाम्रो टिमले विश्वकप खेल्छ भन्नेमा म आशावादी छु । हामीले त्यो सम्भावना देखेका छौं,’ सन्दीपले भने । नेपालमा टी–२० खेल धेरै हुने हुन्छ । तर, अब ५० ओभरका खेलहरू पनि प्रशस्तै हुनुपर्ने उनको भनाइ छ । ‘अगाडि बढ्न पक्कै पनि धेरै गर्नु बाँकी छ । सबै मिलेर क्रिकेटलाई उकास्ने काम गरे यो गाह्रो पनि छैन,’ उनले भने । आफ्नो सबैभन्दा ठूलो सपना नेपाली क्रिकेट टोलीलाई टेस्ट मान्यता दिलाउनु रहेको उनले सुनाए ।


पुख्र्यौली थलो स्याङ्जा भएका सन्दीप बुवाको रोजगारीका कारण भारत पनि बसे । उनले धेरै समय नवलपुरको रजहरस्थित दिदीको घरमा बिताए । अहिले सन्दीपको घर चितवनकै रत्ननगरमा छ । ‘घर कहाँ छ ठूलो कुरा भएन । राष्ट्रिय टिममा परेर खेल्नु भनेको देशका लागि खेल्नु हो,’ सन्दिपको भनाइ थियो ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?