२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अक्सनमा विराटनगर बलियो

काठमाडौँ — वसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेखमाथि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको अक्सनमा सर्वाधिक भाउ लागेको छ । डीपीएल चैत १७ देखि धनगढीमा हुँदै छ । 

अक्सनमा विराटनगर बलियो

त्यसमध्ये वसन्त रेग्मीलाई भित्र्याएको पारस खड्कासम्मिलित विराटनगर किंग्स बुधबार राजधानीमा सम्पन्न अक्सनबाट निकै बलियो टोली बनेको छ । रूपन्देही च्यालेन्जर्सबाहेक अन्य सबै टोलीले भेट्रान देव्रेहाते स्पिनर वसन्तमाथि अधिकतम १ लाख ५० हजार रुपैयाँ भाउ लगाएको थियो । गोलाप्रथामा विराटनगरले वसन्तलाई पाएको हो ।

वसन्तसँगै ‘ए’ श्रेणीमा रहेका करण, सागर र आरिफमा पुन: पूरा १ लाख ५० हजार भाउ लागेको थियो । ‘ए’ का खेलाडीको भाउ ७५ हजारबाट सुरु भएको थियो । करणमाथि सबै फ्रेन्चाइज टोलीले भाउ लगाए । गोलाबाट महेन्द्रनगर युनाइटेडले करणलाई पाएको हो । टोलीले आरिफलाई लिन पनि अधिकतम भाउ लागेपछि गोलाप्रथाकै भर पर्नुपरेको थियो । यही बाटोबाट सागर रूपन्देही पुगेका थिए ।


‘गोलाप्रथाको खेल’ मा अरु धेरैपल्ट भाग्य विराटनगरको पक्षमा पर्‍यो । विराटनगरले श्रेणी ‘बी’ का सौरभ खनाल, पवन सर्राफ, रामनरेश गिरी, दिलीप नाथ, अनिलकुमार शाहलाई अधिकतम १ लाख भाउ लगाई गोलाप्रथाबाट आफ्नो टिममा ल्याउन सफल भयो । श्रेणी ‘सी’ का पूरन बिक र अविनाश बोहरा पनि अन्य टोलीले अधिकतम ५० हजार भाउ लगाए विराटनगरले गोलाप्रथामा बाजी मारेको थियो ।

स्थानीय खेलाडीमा नेपालबाट यू–१६ को प्रतिनिधित्व गरिसकेका सुबोध ऐरलाई २५ हजारमा लिएको विराटनगरले भाउ नलागेका खेलाडीमा मञ्जित श्रेष्ठलाई ७५ हजार र फिर्दोश अन्सारीलाई २५ हजारमा लिएको थियो । १२ खेलाडीका लागि तोकिएको ११ लाखमध्ये ९ लाख ९५ हजार खर्च गरेपछि विराटनगर अक्सनबाट उपाधि दाबेदारमा देखिएको छ । धेरैले यसलाई ‘ड्रिम टिम’ पनि भनेका छन् । प्रत्येक टोलीले दुई विदेशी खेलाडी राख्न पाउँछन् । सबै टोलीमा विदेशी खेलाडीको टुंगो हुन बाँकी छ ।

‘हाम्रो टिम राम्रो छ, तर ड्रिम टिम नै भनेर नभनौं किनभने अरु टिममा पनि राम्रा खेलाडी छन् । लक्की ड्रमा हामीले राम्रा खेलाडी पायौं, जुन चाहेका पनि थियौं,’ विराटनगरका रणनीतिक खेलाडी पारसले भने, ‘कागजमा मात्र टिम राम्रो भएर हुँदैन, मैदानमा पनि राम्रो प्रदर्शन दिन सक्नुपर्छ । पहिला पनि कति टिम राम्रा भएर खेल्न नसकेका पनि छन् । तोकिएको पैसा हुँदा अक्सनमा त्यहीअनुरुप आक्रामक भएर जानु जरुरी थियो ।’

डीपीएलभन्दा पनि राष्ट्रिय टोलीका खेलाडी विश्वकप छनोटमा केन्द्रित रहेको र जिम्बावेको प्रतियोगिता सकिएपछि धनगढीतर्फ ध्यान दिइने पारसले बताए । विश्वकप छनोटका लागि नेपाली टोली शनिबार जिम्बावे जाँदै छ । नेपाली टोलीमा पारससँगै विराटनगरका वसन्त, दिलीप र अनिल छन् । आफूले चाहेको खेलाडीमा ८० प्रतिशत अक्सनमा लिन सकेको जनाउँदै पारसले अक्सनबाट आरिफ र रोहित पौडेललाई लिन नसकेको बताए ।

करण र आरिफसँगै महेन्द्रनगरको टोलीमा रोहित पनि छन् । राष्ट्रिय टोलीका नयाँ उदाउँदा खेलाडी रोहितलाई पनि सबै टोलीले अधिकतम १ लाख भाउ लगाएको थियो । गोलाप्रथाबाट उनी महेन्द्रनगरको भागमा परे । १ लाख भाउ लाग्नेमा भुवन कार्की पनि थिए । विनोद भण्डारी रणनीतिक खेलाडी रहेको महेन्द्रनगरका अन्य खेलाडीमा हरिशंकर शाह (९५ हजार), अविनाश कर्ण (८० हजार), प्रनित थापामगर (६५ हजार), आशिफ शेख (५५ हजार), अरुण ऐरी (४५ हजार) छन् ।

गत वर्षको विजेता टिम चौराह धनगढीमा राजु रिजालमात्र पूर्व खेलाडीका रूपमा छन् । अक्सनमा भाउ नलागेका खेलाडीमा राजु ५० हजारमा धनगढीको टिममा आएका हुन् । धनगढीले सुनील धमला, ललितसिंह भण्डारी, सोनु तामाङ र योगेन्द्रसिंह कार्कीलाई १ लाख अधिकतम मूल्य लगाए पनि गोलाप्रथाबाट पाएको थियो । टोलीका अन्य खेलाडीमा राजेश पुलामी, शंकर राना, शम्साद शेखलगायतका खेलाडी छन् । टोलीको रणनीतिक खेलाडीमा सोमपाल कामी छन् । प्रत्येक टोलीमा रहने एक रणनीतिक खेलाडीको छनोट अक्सनपूर्व नै भएको थियो र उनीहरूले न्युनतम २ लाख पाउने छन् ।

गत वर्ष पारसको कप्तानीमा धनगढीले विराटनगरलाई पराजित गर्दै उपाधि जितेको थियो । विराटनगरलाई उपविजेता बनाएका कप्तान शरद भेषावकर पारिवारिक कारण यसपल्ट डीपीएलमा हुनेछन् । गत वर्ष विराटनगरबाटै खेलेका सन्दीप लामिछाने इन्डियन प्रिमियर लिगका लागि दिल्ली डेयरडेभिल्स जाने छन् । म्यान अफ द सिरिजमा चुनिएका सुशील कँडेल चोटका कारण यसपल्ट धनगढी जाने छैनन् ।

राष्ट्रिय टोलीमा विकेटकिपर रहिसकेका सुवास खकुरेलले डीपीएलमार्फत् घरेलु क्रिकेटमा पुनरागमन गर्नेछन् । चोटका कारण लामो समय बाहिर रहेका सुवासलाई सीवाईसी अत्तरियाले ८० हजारमा लिएको हो । दीपेन्द्रसिंह ऐरी रणनीतिक खेलाडी रहेको अत्तरियाले कुशल भुर्तेल, कृष्ण कार्कीलाई समान १ लाख र सन्दीप जोरालाई ९० हजारमा लिएको छ । शुभांकर उराँवले ८५ हजार भाउ पाएका छन् ।

रमेश सिलवालको स्वामित्वमा रहेको काठमाडौं गोल्डेन्सले नरेश बुढाएरलाई १ लाख २० हजार, ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो र शाहब आलमलाई १ लाख भाउ लगाएर लिएको हो । त्यस्तै सन्तोष भट्टले ९५ हजार तथा रशिद खान र पुष्प थापाले समान ५५ हजार भाउ पाए ।

अमरसिंह राउटेला सबै टोलीले अधिकतम भाउ लगाउने अर्का खेलाडी थिए । उनलाई ५० हजार तिर्दै रूपन्देहीले गोलाप्रथाबाट लिएको थियो । सागरले पनि पूरा १ लाख ५० हजार भाउ पाए । शक्ति गौचन रणनीतिक खेलाडी रहने रूपन्देहीमा विक्रमकुमार भुसाल, सुसन भारी र सिद्धान्त लोहनीले १ लाख भाउ पाए पनि गोलाप्रथाबाट छानिएका थिए । तीव्र बलरमा रूपन्देहीले जितेन्द्र मुखियालाई ९० हजार र दिपेश श्रेष्ठलाई भाउ नलागेपछि अन्तमा ५० हजारमा लिएको थियो ।

अक्सनमा ५० लाख ९० हजार कुल ७२ खेलाडीका लागि भाउ लगाइएको थियो । विराटनगरले सबैभन्दा बढी १० लाख खर्च गर्दा अत्तरियाले ७ लाख २० हजारमात्र खर्च गरेको थियो । महबुब आलम, सञ्जम रेग्मी, चन्द्र साउद, राहुल बिक, राजवीर सिंहजस्ता परिचित खेलाडीमा अक्सनबाट कुनै भाउ लागेन ।



सुरज उप्रेती

मालिक, रूपन्देही

हामीले जे आशा गरेका थियौं त्यो अक्सनबाट पाएका छौं । हामीले चाहेका दुई खेलाडी लिन सकेनौं । हामीले ड्रिम टिम भनेर जुन बनाएका थियौं, त्यसमा ८० प्रतिशत त्यही खेलाडी लिन सफल भयौं । बजेट तथा खेलाडीलाई नियाल्दै हामी आक्रामकभन्दा पनि आफ्नै हिसाबमा अक्सन खेलेका हौं । विदेशी खेलाडीमा हामीसँग ५–६ विकल्प छ, एक साताभित्र कप्तानसँग बसेर त्यसको टुंगो लगाउँछौं ।



पारस लुनिया

मालिक, विराटनगर

अक्सन मेरो पहिलो अनुभव हो, सबै हेर्दा यो निकै राम्रो रह्यो । मैले पहिलो अन्य देशको लिगको अक्सन हेरेको थिएँ, त्योअनुरुप यो धेरै राम्रो भयो । टीभीमा प्रत्यक्ष प्रसारण देखाउँदा अर्को पटकलाई झन राम्रो गर्ने मौका हुन्छ । यसपल्ट सभ्य र सही हिसाबमा अक्सन भयो । हामी सन्तुलित टोली बनाउने हिसाबमा अक्सनमा गएका थियौं । जसरी रणनीति बनाएका थियौं, त्यहीअनुसार खेलाडी पनि पायौं ।



विराटनगर किग्ंस

रणनीतिक खेलाडी– पारस खड्का

वसन्त रेग्मी– १ लाख ५० हजार, पृथु बाँस्कोटा– १ लाख २० हजार, पवन सर्राफ– १ लाख, रामनरेश गिरी– १ लाख, सौरभ खनाल– १ लाख, दिलीप नाथ– १ लाख, अनिल साह– १ लाख, पुरन बिक– ५० हजार, अविनाश बोहोरा– ५० हजार, मञ्जित श्रेष्ठ– ५० हजार, फिर्दोश अन्सारी– २५ हजार, सुबोध ऐर– २५ हजार ।

कुल खर्च– ९ लाख ९५ हजार



सीवाईसी अत्तरिया

रणनीतिक खेलाडी– दीपेन्द्रसिंह ऐरी

कृष्ण कार्की– १ लाख, कुशल भुर्तेल– १ लाख, सन्दीप जोरा– ९० हजार, सुवर्णकार उराँव– ८५ हजार, सुवास खकुरेल– ८० हजार, प्रेम तामाङ– ५५ हजार, कमलसिंह ऐरी– ५५ हजार, विनोद लामा– ५५ हजार, भुवन केसी–२५ हजार, सागर भण्डारी– २५ हजार, आकाश थापा– २५ हजार, रोमन बम– २५ हजार ।

कुल खर्च – ७ लाख २० हजार



काठमाडौं गोल्डेन्स

रणनीतिक खेलाडी– ज्ञानेन्द्र मल्ल

नरेश बुढाएर– १ लाख २० हजार, ललित राजवंशी– १ लाख, अमित श्रेष्ठ– १ लाख, शाहब आलम– १ लाख, किशोर महतो– १ लाख, सन्तोष भट्ट– ९५ हजार, रशिद खान– ५५ हजार, पुष्प थापा– ५५ हजार, सञ्जय श्रेष्ठ– ३० हजार, भूपेन्द्र थापा– ३० हजार, विक्रम ठगुन्ना– २५ हजार, सञ्जय बस्नेत– २५ हजार ।

कुल खर्च– ८ लाख ३५ हजार



महेन्द्रनगर युनाइटेड

रणनीतिक खेलाडी– विनोद भण्डारी करण केसी– १ लाख ५० हजार, आरिफ शेख– १ लाख ५० हजार, भुवन कार्की– १ लाख, रोहितकुमार पौडेल– १ लाख, हरिशंकर साह– ९५ हजार, अभिनाश कर्ण– ८० हजार, प्रनित थापा मगर– ६५ हजार, आशिफ शेख– ५५ हजार, अरुण ऐरी– ४५ हजार, नारायण जोशी– २५ हजार, रोबिन क्षेत्री– २५ हजार, दीपेन्द्र चन्द– २५ हजार ।

कुल खर्च– ९ लाख १५ हजार



रुपन्देही च्यालेन्जर्स

रणनीतिक खेलाडी–शक्ति गौचन

सागर पुन– १ लाख ५० हजार, सुशन भारी– १ लाख, सिद्धान्त लोहनी– १ लाख, विक्रमकुमार भुसाल– १ लाख, जितेन्द्र मुखिया– ९० हजार, प्रदीप ऐरी– ८० हजार, कुशल मल्ल– ५५ हजार, मोहमद सोनु अन्सारी– ५० हजार, अमरसिंह राउटेला– ५० हजार, दिपेश श्रेष्ठ– ५० हजार, विपिन खत्री– ३० हजार, प्रकाश जैसी– १५ हजार ।

कुल खर्च– ८ लाख ७० हजार



टिम चौराह धनगढी

रणनीतिक खेलाडी–सोमपाल कामी

सुनील धमला– १ लाख, योगेन्द्रसिंह कार्की– १ लाख, ललितसिंह भण्डारी– १ लाख, सोनु तामाङ – १ लाख, राजेश पुलामी मगर– ८० हजार, विजय राना– १० हजार, शंकर राना– ५५ हजार, रवीन्द्रजंग शाही– ५५ हजार, शम्साद शेख– ५० हजार, राजु रिजाल– ५० हजार, आशु कन्दोई– ३० हजार, महेश अधिकारी– २५ हजार ।

कुल खर्च– ७ लाख ५५ हजार

प्रकाशित : फाल्गुन १०, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?