करणलाई एक लाख
लेखनाथ — राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीलाई प्रदेश ४ सरकारले एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले बुधबार करणलाई प्रोत्साहनस्वरुप उक्त रकम दिने घोषणा गरे ।
करणको सम्मानमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको कार्यक्रममा मन्त्री बस्नेतले रकम प्रदान गर्ने घोषणा गरेका हुन् । उनले नामिबियामा क्यानडाविरुद्ध खेलमा करणको प्रदर्शनप्रति प्रशंसा गरे । आउँदा दिनमा पनि खेलप्रति समर्पित खेलाडीलाई यसरी नै प्रोत्साहनस्वरुप सम्मान गरिने बस्नेतले बताए । ‘प्रदेशमा एक बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न हाम्रो पहल हुनेछ,’ उनले भने, ‘आगामी प्रदेशसभा बैठकबाट बजेट विनियोजन गरी खेलकुद पूर्वाधार विकास अगाडि बढाउँछौं ।’ करणले जित–हार जे हुँदा पनि क्रिकेटलाई माया गर्न आग्रह गरे ।
क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले स्रोतसाधनको अभावमा खेलेर अन्तर्राष्ट्रियजगतमा देशको नाम चम्काउनु अदम्य साहस भएको बताए ।
प्रकाशित : फाल्गुन १०, २०७४ ०७:२३