सन्दीपको सम्झौतामा वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले क्रिकेटर सन्दीप लामिछानेसँगको प्रायोजन सम्झौतामा दोब्बर वृद्धि गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि र नेपाल विश्वकप छनोट क्रिकेटमा पुगेपछि सन्दीपको व्यावसायिक महत्त्व पनि चुलिएको हो । 

सन्दीपको सम्झौतामा वृद्धि

सन् २०१६ को फेब्रुअरीमा बंगलादेशमा सम्पन्न आईसीसी यू–१९ विश्वकप खेलेर आएपछि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) मार्फत सन्दीपसँग सानिमा बैंकले प्रतिमहिना २० हजार दिने गरी सम्झौता गरेको थियो । त्यसलाई बिहीबार आयोजित कार्यक्रममा दोब्बर बनाइएको सानिमाले जनाएको हो । दुईवर्षे नयाँ सम्झौतापछि सन्दीपले त्यसवापत् ९ लाख ६० हजार पाउने छन् । यू–१९ विश्वकपमा सन्दीपले आयरल्यान्डसँग ह्याट्रिक गर्दै कुल १४ विकेट लिएका थिए । सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले विगत सम्झौता स्मरण गर्दै भने, ‘हाम्रोमा अभिभावकले सहयोग गरेसम्म मात्र खेल्ने वातावरण छ । तर सन्दीपको ध्यान पूर्ण रूपमा खेलमा जाओस् र राम्रो खेल्ने वातावरण होस् भनेर हामी जोडिएका थियौं, अहिले पनि हाम्रो भनाइ त्यही नै हो ।’

दुई वर्षअघि सानिमाको सम्झौताले आफू उत्साही भएको बताउँदै सन्दीपले यो सहयोग आफ्नो मनमा रहिरहने बताए । सन्दीपसहित राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सानिमा सदभावदूत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मायाको चिनो प्रदान गरे । आचार्यले भने, ‘कलाकारलाई भाषाका हिसाबमा नेपालीले मात्र चिन्छ तर खेलाडीलाई विश्वले चिन्छ किनभने खेलको एउटै भाषा हुन्छ ।’

सीप्यानका अध्यक्ष पवन अग्रवालले लगानीविना खेलाडीबाट सधैं राम्रो प्रदर्शनको आस गर्नु बेकार हुने बताए । राष्ट्रिय कप्तान पारसले राम्रो वातावरण भए ८ वर्षभित्र नेपालले टेस्ट खेल्न सक्ने दाबी गरे ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?