उपाधि जित्ने दुवैको दाबी

हेटौंडा गोल्डकप
नगेन्द्र अधिकारी

हेटौंडा — सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा फाइनल पुगेका दुवै टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।

फाइनलको अघिल्लो दिन हेटौंडामा आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै विभागीय टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नेमा आफू ढुक्क रहेको दाबी गरे । यो सिजनमा ५ उपाधि जितेको आर्मी र प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित फाइनलमा पुगेको पुलिस सशक्त दाबेदार हुन् ।


साबिक विजेता आर्मीले यो सिजनको छैटौं उपाधि जित्ने दाबी गरेको छ । प्रशिक्षक नवीन न्यौपानेले ‘जित्नकै लागि आएकोले’ जितिने दाबी गरे । ‘उपाधि रक्षा गर्न हामी सक्षम छाैं, पुलिस पनि सशक्त भएको कारण कडा प्रतिस्पर्धा हुनेछ,’ न्यौपानेले भने, ‘मौकामा जसले क्लिक गर्छ खेल उसैले जित्ने हो ।’


डिफेन्डिङ च्याम्पियन आर्मी पुरानै लयमा फर्कने क्रममा छ । इटहरीको मदन भण्डारी स्मृति गोल्डकप र पोखराको आहा–रारा गोल्डकपमा सेमिफाइनल पुग्न असफल भएको आर्मी गतसाता रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै पुन: लयमा फर्केको हो । वर्षको सर्वाधिक सफल टोली

आर्मीले यो सिजन पाँच उपाधि जितिसकेको छ ।


हेटौंडा गोल्डकप टोलीको १० औं प्रतियोगिता हो । वीरगन्जमा विशाल स्मृति जित्दै अघि बढेको आर्मीले पुसमा सताक्षी गोल्डकप र मेची नेत्रालय गोल्डकप तथा खप्तड गोल्डकप र सिमरा गोल्डकप

जितेको थियो ।


पुलिस पनि उपाधि जित्नेमा आशावादी देखिन्छ । ‘राम्रो टिमवर्क भएका कारण हामी जित्छौँ,’ पुलिसका प्रशिक्षक अनन्तराज थापाले भने, ‘हामीले पोजिसनका आधारमा जिम्मेवारी दिएकोले खेलाडीहरूले राम्रो प्रदर्शन गर्छन् ।’ यस वर्ष पुलिसले आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ । फाइनलमा दुई टिमको प्रतिस्पर्धा भने यो नै पहिलो हो । आर्मी यस वर्ष मोफसलको आठवटा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ भने पुलिसले चार प्रतियोगिताको फाइनल खेलेको छ ।


आर्मीले पहिलो खेलमा सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा हराएको थियो भने सेमिफाइनलमा मनाङ–मस्र्याङ्दीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । पुलिसले हेटौंडाको विजय युथलाई ३–० र संकटालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । हालसम्म आर्मीले निर्धारित समयमा दुई गोल गर्दै एक गोल खाएको छ । पुलिसले भने कुनै गोल नखाई पाँच गोल गरेको छ ।


सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाखसहित सिल्ड र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक विशाल घोषले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?