कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कस्तो परिवर्तन ? किन परिवर्तन ?

शुद्धीकरण अभियान थालेका नै  परिवर्तन पक्षधरतर्फ अल्पमतमा पर्ने अवस्था देखिएको छ ।
पूर्वसीईओ इन्द्रमान तुलाधरसहित किशोर राई, वीरबहादुर खड्का, रत्नकुमार श्रेष्ठ, राजेन्द्र नेउपाने, उपेन्द्रमान सिंहले संस्थापनबाट अधिकतम फाइदा लिएका थिए, उनीहरू नै अहिले शेर्पा समूहका ‘मुख्य खेलाडी’ भएका छन् ।
राजु घिसिङ

काठमाडौँ — परिवर्तनका लागि सामूहिक एकता, पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता–कर्माछिरिङ शेर्पा (समूह)
हाम्रो ऐक्यबद्धता: स्वयं परिवर्तनसहित सामूहिक नेतृत्वमा प्रतिबद्धता –मणि कुँवर (समूह)

कस्तो परिवर्तन ? किन परिवर्तन ?

यी नारा अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने दुई समूहका हुन् । नारामा विश्वास गर्ने हो भने १४ चैतपछि नेपाली फुटबलमा क्रान्तिकारी परिवर्तन आउने पक्का छ । तर दुई समूहका पात्रहरू केलाउने हो भने ‘आशा गर भरोसा नगर’ भन्ने अवस्था छ ।

एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले मणि कुँवरको उम्मेदवारी घोषणामा भनेका थिए, ‘के परिवर्तन ? कस्तो परिवर्तन ? परिवर्तनको नारा दिइएका ६–७ बुँदा फुटबलमा जसले आए पनि गर्ने कुरा हो । परिवर्तन भनेको के हो बुझिएन ।’ उनको प्रश्न शेर्पा समूहलाई थियो । त्यसबेला उनले परिवर्तनबारे अर्को वास्तविकता भने प्रस्ट्याएनन् र त्यो हो– मणि कुँवरको स्वयं परिवर्तनको नारा ।

एन्फाका वरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवर आफैंले पनि स्वयं परिवर्तन भनेको के हो भनी प्रस्ट पारेनन् । बरु श्रेष्ठसँगै उनी पूर्वसीईओ इन्द्रमान तुलाधरविरुद्ध खनिएका थिए । शेर्पाको उम्मेदवारी घोषणामा तुलाधरले ‘अदृश्य शक्तिले एन्फा चलाइरहेको’ आरोप लगाएका थिए । उनको निसाना अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा भ्रष्टाचारको अभियोगमा प्रतिबन्धित गणेश थापातर्फ लक्षित थियो । थापाले २२ वर्ष एन्फाको नेतृत्व गरेका थिए र अहिलेको नेतृत्व पनि उनकै विश्वासपात्र हुन् । त्यसैले तुलाधरको आरोप गलत भन्ने आधार छैन ।

गणेश थापाको कार्यकालको अधिकांश समय उनकै साथमा थिए, तुलाधर । ‘कति दास भएर बस्ने ? अब त फुटबलमा केही गरौं,’ उनले भने । उनीमात्र होइनन्, कुनै बेला थापाकै वरिपरि रहेकाहरू नै अहिलेका परिवर्तन पक्षधर हुन् । दुई दशकयता एन्फामा रहेका कर्माछिरिङ आफैं पनि लामो समय थापाकै विश्वास पात्र थिए । पछिल्लोपल्ट उपाध्यक्ष रहेका उनी पाँच वर्षअघि शुद्धीकरण अभियान थालेपछि शत्रु बनेका थिए । त्यसैले तुलाधर र परिवर्तन पक्षधरप्रति श्रेष्ठको प्रश्न पनि सान्दर्भिक छ ।

शेर्पासँगै विजयनारायण मानन्धर, पंकजविक्रम नेम्वाङ, दीपक खातीले एन्फामा पारदर्शिता र सामूहिक नेतृत्वको माग गर्दै शुद्धीकरण अभियान थालेका थिए । तर अहिले परिवर्तन पक्षधरमा उनीहरू नै अल्पमतमा पर्ने अवस्था देखिएको छ । लामो समय गणेश थापाको वरिपरि रहेकाहरूको वर्चस्व शेर्पा समूहमा बढेको छ । इन्द्रमानसहित किशोर राई, वीरबहादुर खडका, रत्नकुमार श्रेष्ठ, राजेन्द्र नेउपाने, उपेन्द्रमान सिंहले संस्थापनबाट अधिकतम फाइदा लिएका थिए, उनीहरू नै अहिले शेर्पा समूहका ‘मुख्य खेलाडी’ भएका छन् ।

संस्थापन समूहलाई छाडेर परिवर्तन पक्षधरमा बसाइँ सर्नेहरू बढिरहेका छन् । त्यसर्थ शेर्पा समूह १४ चैतमा हुने निर्वाचनमा बलियो देखिएको छ । जिल्लाहरूमा उसैको पकड छ । क्लबहरूमा पनि पकड जमाउनसके शेर्पा समूहले चुनाव जित्न सक्छ । तर एन्फा राजनीतिको वास्तविकता पृथक् छ । एन्फामा आबद्ध व्यक्तिहरू फिल्मी कलाकारजस्तै छन्, विश्वास गर्न लायक पात्र नेपाली फुटबलमा औंलामा गन्न पनि मुस्किल पर्छ ।

राजनीतिमा सबै किसिमको खेल हुन्छ । त्यसैको उदाहरण गत वर्ष कात्तिकमा भएको अध्यक्ष र उपाध्यक्षको निर्वाचन हो, जहाँ पैसाको राम्रै चलखेल भएको थियो । भोट पक्का गर्नका लागि कबोल गरिएको पैसा अहिलेसम्म नपाउनेहरू पनि छन् । त्यसले एन्फाको छेपारे रङको राजनीति प्रस्ट पार्दछ । चुनावको मुखमा आएर ‘क्याम्प’ परिवर्तन गर्नेहरू पनि त्यस्तै हुन्, जो कमजोर र बलियाको आकलन गरेर बसाइँ सर्ने गर्छन् ।

शुद्धीकरण अभियान थाल्दा दीपक खातीले भनेका थिए, ‘पाप पखाल्न अभियान थालेको हो ।’ अध्यक्षको उम्मेदवारी घोषणा गर्दै कर्माछिरिङ शेर्पाले पनि ‘दासले चाहे परिवर्तन हुन्छ र त्यसैका लागि लडिरहेको’ बताएका थिए । के परिवर्तन पक्षधर सबै सदस्य पाप पखाल्न र दास प्रथाबाट माथि उठ्नकै लागि तयार छन् ? छैनन्, भने उनीहरू चुनावमा पल्ला भारी भएको समूहमा लागेर फेरि सत्ताकै वरिपरि रहन खोज्ने भँवराहरू हुन्, जो काम गर्ने ‘सिस्टम’ स्थापित गर्दै फुटबलको विकास गर्न होइन, फाइदा चुस्न अग्रसर छन् ।

अध्यक्षका अर्का उम्मेदवार मणि कुँवरको पक्षमा पनि त्यस्तै व्यक्तिको वर्चस्व छ, जो दशकौंदेखि एन्फाबाट फाइदामात्रै लिइरहेका छन् । प्रकाश पंगेनीले नवलपरासी र भीमसेन कार्कीले पाल्पामा लिग खेल्ने तर आफूलाई समर्थन नगर्ने क्लबहरूलाई पन्छाएर गरिएको ‘कोठे चुनाव’ ले त्यसलाई पुष्टि गर्छ । मकवानपुरमा शेर्पा समूह हावी हुने देखिएपछि एन्फाले चुनाव नै रोकिदियो । खेलाडी संघको चुनाव अझै भएको छैन । केही जिल्ला र प्रशिक्षक संघमा कार्यसमितिले नभई अध्यक्षले एक्लौटी प्रतिनिधि दर्ता गर्दा पनि एन्फा सचिवालय र निर्वाचन समिति मूकदर्शक बनेका छन् ।

अध्यक्षका दुई उम्मेदवारकै कुरा गरौं । कर्माछिरिङ शेर्पाले १२ वर्षयता हिमालयन शेर्पा क्लब सञ्चालन गरिरहेका छन् र त्यो नै उनको मुख्य योगदान हो । २०५१ सालदेखि फुटबलमा लागेको दाबी गरेका मणि कुँवर गत वर्ष एन्फाको वरिष्ठ उपाध्यक्ष चुनिएका थिए । नाताले गणेश थापाका सालो रहेका उनले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा सभामा एन्फाकै नियमित कार्यको फेहरिस्त सुनाएका थिए । त्यसैले लाग्छ, एन्फाले गतिलो नेतृत्व पाउन अझै प्रतीक्षा गर्नुपर्ने अवस्था छ किनभने चैतको निर्वाचनमा ७७ मतदातासामु शेर्पा वा कुँवरलाई अध्यक्ष चयन गर्नुको विकल्प छैन ।

सिस्टमको कुरा

कुनै पनि संस्थाको कार्यसञ्चालन कर्मचारीले गर्छन् र उसका कर्मचारीकै योग्यतामा संस्थाको हैसियत देखिन्छ । पदाधिकारीको काम नीतिगत निर्णय गर्ने मात्रै हुन्छ । तर एन्फा यस्तो संस्था हो, जहाँ पदाधिकारी आफैंले काम गर्छन्, कर्मचारीलाई निश्चित जिम्मेवारी तोकिँदैन ।


फुटबलमा कार्यकारी प्रमुखको रूपमा महासचिव रहने गर्छ । एन्फाको महासचिव हुनलाई के–कस्तो योग्यता चाहिने भन्ने कहींकतै तोकिएको छैन । वास्तवमा आर्थिक, प्रशासनिक, प्राविधिक र प्रतियोगिता सञ्चालनमा योग्य कर्मचारीलाई खटाउने हो भने एन्फा राम्रोसँग सञ्चालन हुन सक्छ । योग्य कर्मचारी नराख्ने र सिस्टम बसाल्न नचाहने पदाधिकारी नै हुन्, जो अहिले पनि चुनाव लड्न तम्सिएका छन् ।

शेर्पाले आफू अध्यक्ष भएपछि क्लबहरूलाई प्रायोजकको व्यवस्था एन्फाले गरिदिने बताएका थिए । तर उनको भनाइ व्यावसायिक फुटबलका लागि सुहाउँदो छैन । प्रायोजक क्लब आफैंले खोज्नुपर्छ, एन्फाले व्यावसायिक लिग सञ्चालन गर्नेमात्रै हो । नेपाली फुटबलमा दक्ष जनशक्तिको अभाव छ । एन्फा जसले सम्हाले पनि उसको प्राथमिकता दक्ष जनशक्ति उत्पादनमा हुनुपर्छ, अनिमात्रै फुटबललाई व्यवस्थित र व्यावसायिक गर्न सकिन्छ ।

अर्कोतर्फ मणि कुँवरले भनेको ‘स्वयं परिवर्तन’ के हो ? गणेश थापाको छायाबाट एन्फा उम्किने हो वा नेपाली फुटबललाई लोकतन्त्रीकरण गर्दै व्यावसायिक रूप दिने ? प्रस्ट्याउनु आवश्यक छ र स्वयम् परिवर्तन चाहेको हो भने उनले आत्मालोचना गर्नैपर्छ । किनभने उनी पनि दुई दशक संस्थापन पक्षकै घेरामा रहेका व्यक्ति हुन् । एन्फालाई फेरिएको बोटल होइन, सुगन्धित र मीठो रस चाहिएको छ, जसले एन्फालाई गर्व गर्नलायक संस्था बनाउन सकोस् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?