प्याडल नेपाल च्याम्पियन

सुबास हुमागाईं

फिस्लिङ, धादिङ — स्थानीय टोली फिस्लिङ ‘बी’ लाई १८ अंकको झिनो अग्रताले पछाडि पार्दै प्याडल नेपाल ‘ए’ ले दोस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ । 

प्याडल नेपाल च्याम्पियन

फिस्लिङस्थित त्रिशूली नदीमा भएको प्रतियोगिताको अन्तिम दिन मंगलबार डाउन रिभर इभेन्टमा प्रथम भएपछि टोलीको जित पक्का भएको थियो । कुल ९ सय १३ अंक जोडेको प्याडल नेपाल ‘ए’ ले अघिल्लो दिन स्प्रिन्ट विधामा पनि पहिलो स्थान हासिल गरेको थियो । उपविजेता फिस्लिङ ‘बी’ ले भने हेड टु हेड विधामा प्रथम स्थानसहित कुल ८ सय ९५ अंक जोड्यो ।

विजयी टोलीका कप्तान जीवन गुरुङले मिहिनेतका कारण सफलता प्राप्त भएको बताए । ‘हामीले एक महिनायता यस प्रतियोगिताका लागि तयारी गरेका थियौं । सबै स्पर्धामा हामीले अपेक्षित प्रदर्शन गरेकाले नतिजा राम्रो भयो । अब हामीले अन्तर्राष्ट्रिय प्रतियोगितालाई छिट्टै तयारी थाल्नेछौं,’ कप्तान गुरुङले भने । विजेता टोली प्याडल नेपाल ‘ए’ ले अर्जेन्टिनामा हुने विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

च्याम्पियन प्याडल नेपाल ‘ए’ ले स्प्रिन्टमा प्रथम (१००), हेड टु हेडमा दोस्रो (१७६), स्लालममा तेस्रो (२३७) तथा डाउन रिभरमा पहिलो (४००) गर्दै कुल ९ सय १३ अंक जोडेको थियो । फिस्लिङ ‘बी’ भने स्प्रिन्टमा तेस्रो (७९), हेड टु हेडमा पहिलो (२००), स्लालममा दोस्रो (२६४) तथा डाउन रिभरमा (३५२) गर्दै कुल ८ सय ९५ अंक जोड्न सफल रह्यो । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपाल कायाक क्लब ‘ए’ कुल ७ सय ८६ अंकसाथ तेस्रो स्थानमा समेटियो ।

कुल १२ टोलीको सहभागिता रहेको तीनदिने प्रतियोगितामा प्रत्येक टोलीमा ५ खेलाडी थिए ।

प्रकाशित : फाल्गुन १६, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?