१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फुटबललाई अर्को जापानी सहयोग

सुबास हुमागार्इं

काठमाडौँ — नेपाली फुटबलको विकासमा विगत केही वर्षयता जापानी सहयोग कोसेढुंगा साबित हुँदै आएको छ । दुई वर्षअघि एन्फाको टेक्निकल डाइरेक्टर चियाकी ताकेदाको नियुक्तिबाट सुरु भएको जापानसँग नेपालको सहकार्यले बुधबार नयाँ आयाम लिएको छ । जापानी राजदूतावासले एन्फा मुख्यालयको स्तरोन्नतिका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

फुटबललाई अर्को जापानी सहयोग

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हाल १७ सय दर्शक क्षमताको एस्ट्रो टर्फ मैदान छ । उक्त मैदानमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रूम, दर्शकका लागि व्यवस्थित शौचालयलगायतका सुविधा नहुँदा एन्फालाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न समस्या भएको थियो । जापानी दूतावासको सहयोगसँगै एन्फाले ती लगायत अन्य संरचना निर्माण गर्ने एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।


‘जापानले धेरै क्षेत्रबाट नेपाललाई सहयोग गरिरहेको छ । अब मैदानको स्तरोन्नतिले हामीलाई फुटबल आयोजनामा निकै सहज हुनेछ । निरन्तर सहयोगका लागि हामी जापानप्रति आभारी छौं,’ श्रेष्ठले भने । उनले प्राप्त सहयोग रकम सदुपयोग गर्दै एन्फाले प्राविधिक समितिको कार्यकक्ष तथा मिडिया बक्स पनि निर्माण गर्ने जानकारी गराए ।


नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपाली फुटबल विकासमा भूमिका खेल्न पाउँदा खुसी व्यक्त गरे । ‘दुई वर्षदेखि नेपाली फुटबलमा जापानले पुर्‍याएको भूमिकाको नतिजा मैदानमा देखिएको छ । नेपाली फुटबलको प्रदर्शन दिनानुदिन सुध्रिँदै गएकामा हामी खुसी छौं । फुटबलले राष्ट्रका जनतालाई एकताबद्ध बनाउन सहयोग गर्नेछ । यस्तो सुखद कार्यमा सहयोग गर्न पाउँदा हामी प्रोत्साहित भएका छौं,’ उनले थपे ।


यसअघि जापानिज फुटबल संघ (जेएफए) को सहयोगमा नेपालमा विशेष गोलरक्षक–प्रशिक्षक कोर्स तथा नेपाली यू–१५ टोलीले श्रीलंकामा जापानकै यू–१५ राष्ट्रिय टोलीसम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । जापान सरकारकै सहयोगमा नेपाली राष्ट्रिय टोली एसियन कप छनोट तयारी गर्न १० दिने मैत्रीपूर्ण खेल तथा प्रशिक्षण क्याम्पमा जापान पुगेको थियो । यसबाहेक राष्ट्रिय टोली तथा उमेर समूहको टोलीको प्रशिक्षणमा जेएफएले खेल सामग्री सहयोग गर्दै आएको छ ।


दुई सम्झौता नवीकरण

राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीले एन्फासँगको आफ्नो करार एक वर्ष लम्ब्याउने भएका छन् । सन् २०१६ को मार्चदेखि राष्ट्रिय टोलीको प्रशिक्षण जिम्मेवारी सम्हालेका कोजीले गत वर्ष करार थप गरेका थिए । एसियन छनोटमा नेपालको नतिजा सुखद नरहे पनि एन्फाले उनलाई निरन्तरता दिने निर्णय लिएको हो । कोजीले सन् २०१५ नोभेम्बर महिनामा नेपाललाई पहिलोपल्ट एसियाली फुटबलको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि दिलाएका थिए ।


कोजीले राष्ट्रिय टोलीसँग सहकार्य बढाएसँगै मुख्य लक्ष्य साफ च्याम्पियनसिप रहेको बताए । ‘हामीले सोलिडारिटी कपको उपाधि जितेर एसियन कपको छनोट खेल्ने अवसर पायौं । नतिजा सुखद नरहे पनि यसले प्रदर्शनमा भने सुधार ल्याएको छ । हाम्रो मुख्य लक्ष्य सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप हो । यसका लागि हामीले समयमै तयारी थाल्ने छौं,’ उनले भने । प्रशिक्षक कोजीले अर्को महिना हुने एसियन कप छनोटअन्तर्गत यमनसँग अन्तिम लिग खेलका लागि ३–४ दिनमै तयारी थालिने बताए ।


कोजीसँगै एन्फाका टेक्निकल डाइरेक्टर रहेका चियाकी ताकेदाले पनि नयाँ सम्झौता गरेका छन् । यद्यपि यसपालि उनले जाइकासँग अनुबन्धित रहेर नेपाली फुटबललाई सहयोग गर्नेछन् । उनले एन्फाको प्राविधिक विशेषज्ञका रूपमा काम गर्ने नयाँ सम्झौतामा उल्लेख छ । जाइकाले कुनै पनि देशमा खेलकुदसँग सम्बन्धित व्यक्तित्वलाई नियुक्ति दिएको पहिलो अवसर हो ।


दुई वर्षयता नेपाली फुटबललाई नजिकबाट नियालेका ताकेदाले आउने वर्षमा विकास कार्यक्रम अझै भव्यकासाथ हुने बताए । ‘हामीले फुटबल विकासका लागि विभिन्न कार्यक्रम गरिरहेका छौं । अब आउने साल अझै त्यसलाई परिस्कृत गर्दै लैजाने हाम्रो योजना छ । प्राविधिक रूपमा फुटबल विकास गर्न प्रशिक्षकको स्तरोन्नतिका कार्यक्रमलाई प्राथमिकतामा राखिने छ,’ उनले सुनाए ।

प्रकाशित : फाल्गुन १७, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?