१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बक्सिङका आशा

राजु घिसिङ

काठमाडौँ — मार्तडी नगरपालिका, बाजुराकी पुनम रावल फरासिली छिन् । उनी हक्की छिन्, धक नमानी बोल्छिन् । सालु देउराली, रामेछापकी विमला श्रेष्ठ भने कमै बोल्छिन् । २४ वर्षीया उनी प्राय: चुपचाप रहन्छिन् । यी दुवै त्रिभुवन आर्मी क्लबका बक्सर हुन् । दुवैको समान उपलब्धिका रूपमा दिल्लीमा एक महिनाअघि भएको इन्डिया ओपन बक्सिङमा कांस्य पदक जित्नु रह्यो ।

बक्सिङका आशा

विमलाको नेपाली सेनाकै अमृत डंगोलसँग तीन वर्षअघि विवाह भयो । त्यसको एक वर्षअघिमात्र उनले बक्सिङ खेल्न थालेकी थिइन् । २०७१ साल भदौमा सेनापति ट्रफीमा बक्सिङ पनि प्रतिस्पर्धा हुन्छ भन्ने जानकारी पाएपछि उनले ग्लोभ्सतर्फ नजर लगाएकी थिइन् । उनी एक महिनामात्र प्रशिक्षण गरेर रिङमा उत्रिइन् । अनुभवीजस्तै प्रदर्शन गर्दै उनी तीन खेल जितेर फाइनलमै पुगिन् । तर उनी रजत पदकमै रोकिएकी थिइन् ।


‘सुरुमा त मेडल जित्छु भन्ने लागेकै थिएन तर पहिलो फाइट जितेपछि आत्मविश्वास बढ्यो,’ उनले सुनाइन् । कालीबक्स गणकी उनले पहिला कुनै खेल नखेलेको बताइन् । ‘बक्सिङ पनि आफै रिङमा उत्रिनुअघि फिल्ममा मात्रै बक्सिङ हेरेकी थिएँ,’ उनले भनिन् । सेनापति ट्रफीमा राम्रो खेलेपछि उनलाई त्रिभुवन आर्मी क्लबमा बोलाइयो । त्यसपछि नियमित प्रशिक्षण गर्न थालिन् । त्यसैको परिणाम मान्नुपर्छ, २०७२, ०७३ र ०७४ को सेनापति ट्रफीमा जितेको स्वर्ण ।


आर्मीबाहिरको पहिलो प्रतियोगिताको रूपमा विमलाले २०७१ मंसिरमा गणेशमान स्मृति बक्सिङमा प्रतिस्पर्धा गरेकी थिइन् । पहिलो प्रयासमै उनले कांस्यपदक हात पारिन् । एक पाइला अगाडि बढ्दै उनले २०७३ मा भएको लक्ष्मण स्मृति बक्सिङमा रजत पदक हात पारिन् । त्यही वर्ष सातदोबाटोमा भएको चौथो खुला बक्सिङमा एपीएफकी अनुभवी बक्सर सञ्जु लामालाई हराएर उनले करिअरकै पहिलो स्वर्ण जितेकी थिइन् । त्यसयता निरन्तर सफल रहेकी उनले सातौं राष्ट्रिय खेलकुद, गणेशमान स्मृति र राखेप च्याम्पियनसिपमा स्वर्ण कब्जा गरेकी छन् ।


राजदल गणकी पुनम २१ वर्षमा छिन् तर उनी बक्सिङमा भने विमलाभन्दा पुराना हुन् । उनले १४ वर्षको छँदा नै बाजुरामा योगेन्द्र थापासँग बक्सिङ प्रशिक्षण गरेको बताइन् । ‘त्यसबेला प्रतियोगिता आउनुअघि १०–१२ दिनअघि प्रशिक्षण गरिन्थ्यो,’ उनले भनिन् । उनले १५ वर्षको छँदै झापामा खुला बक्सिङमा प्रतिस्पर्धा गरेकी थिइन् । त्यसबेला उनको स्पर्धामा चार खेलाडीमात्र थियो र कुनै पनि बाउट नजित्दै उनले कांस्य पदक हासिल गरेकी थिइन् ।


पुनम २०६९ सालमा राजधानीको लैनचौरमा भएको खुला बक्सिङमा दुई बाउट जितेर फाइनल पुगेकी थिइन् । तर, स्वर्णको प्रतिस्पर्धामा उनी सरस्वती रानासँग पराजित भइन् । २०६९ सालमै सेनामा भर्ती भएकी उनी लुम्बिनी च्याम्पियनसिप २०७१ मा कांस्य जितेपछि क्लबमा मौका पाएकी थिइन् । उनले लक्ष्मण शम्सेर स्मृतिमा कांस्य, खुला बक्सिङ (सातदोबाटो) मा रजत हात पारेकी थिइन् । उनले सातौं राष्ट्रिय खेलकुदको फाइनलमा एपीएफकी विनिता थापामगरलाई हराएर करिअरको पहिलो स्वर्ण चुमेकी थिइन् । त्यसयता उनले दोस्रो गणेशमान स्मृति र राखेप च्याम्पियनसिपमा पनि स्वर्णलाई निरन्तरता दिइन् ।


दिल्लीमा जितेको कांस्य घरेलु प्रतियोगितामा पुनमको पदक ३–१–३ छ भने विमलाको ४–१–१ । घरेलुमा निरन्तर राम्रो गरेपछि दुवैले राष्ट्रिय टिममा स्थान बनाए । दुवैको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो, एसियन वुमेन्स बक्सिङ च्याम्पियनसिप २०१७ । भियतनाममा भएको च्याम्पियनसिपमा दुवैको चुनौती पहिलो चरणमै सकियो । दोस्रो यात्रा रह्यो, इन्डिया ओपन २०१८ ।


इन्डिया ओपनमा विमला ५४ केजी र पुनम ६४ केजीमा सहभागी थिए । साथीहरू पहिलो चरणमै पराजित भइरहँदा विमलाले ताजिकिस्तानकी सामिएभा फार्डियालाई पराजित गरेर सेमिफाइनल तय गरिन् । पुनम पनि ताजकिस्तानकी खोलोभा इदिमोखलाई पराजित गर्दै अघि बढिन् । सेमिफाइनलमा भारतीय बक्सरले दुवैले हार बेहोरेपछि कांस्यमा समेटिए । दर्जन नेपाली बक्सरको टिममा यी दुईले मात्र पदक जितेका थिए ।


‘पदक झुण्ड्याएरर राखेको छु । कहिलेकाहीं हेर्छु । एकदमै खुसी लाग्छ,’ ५ फिट ५ इन्च अग्ली विमलाले भनिन्, ‘राम्रोसँग ट्रेनिङ गर्‍यो भने अरु पदक पनि जित्न सक्छौं भन्ने लाग्यो ।’ विमलको ‘स्ट्रेट पन्च’ शक्तिशाली छ । ५ फिट २ इन्चकी पुनमको ‘राइट हुक’ पनि सटिक हुन्छ । ‘इन्डिया ओपनमा पदक जितेपछि सम्मान पाएँ । यसले अझ धेरै जित्ने जोश–जाँगर बढाएको छ,’ पुनमले भनिन् ।


पुनमलाई माइक टाइसनको खेल खुबै मनपर्छ । विमलालाई भने जे हेरे पनि त्यस्तै राम्रो खेल्न मनलाग्छ । क्षेत्रीय स्तरमा स्कुलबाट भलिबल खेलेकी पुनम गाउँका सिनियर दाइहरू पछयाउँदै बक्सिङमा लागेकी थिइन् । त्यसबेला उनीसँगै सात किशोरी बक्सिङ खेल्थे । ‘चारजना काठमाडौंमा आएर प्रतियोगिता पनि खेले तर बिहे गरेपछि सबैले छाडे,’ पुनमले सुनाइन्, ‘बिहे गर्दैमा नखेल्ने वा खेल खस्किने होइन । म्यारी कोमजस्तै खेलिन्छ ।’

प्रकाशित : फाल्गुन १८, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?