२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जयराम र अजित अगाडि

पोखरा — व्यावसायिक गल्फर जयराम श्रेष्ठ र एमेच्योर अजित बिकले सूर्य नेपाल गल्फ टुर २०१७/१८ अन्तर्गत वेस्टर्न ओपनको पहिलो दिन शीर्षस्थान ओगटेका छन् । बुधबार हिमालयन गल्फ कोर्समा दुवै खेलाडीले समान १ ओभर ७१ को स्कोर बनाए ।

जयराम र अजित अगाडि

जयरामले पाँचौ होलमा बोगी खेप्दै फ्रन्ट नाइनमा १ ओभर ३५ को स्कोर जोडे । ब्याक नाइनको दसौं होलमा बोगीबाट सुरुआत गरेका उनले ११ औंमा बर्डी खेल्दै स्कोर १ ओभरमै ल्याए ।


त्यसपछि १२ र १८ औं होलमा बोगी खेपेका जयरामले १६ औं होलमा बर्डीसँगै कुल स्कोर १ ओभर ७१ लेखाउन सफल रहे । स्थानीय एमेच्योर अजितले दोस्रो होलमा बोगी खेपे पनि छैटौं र आठौं होलमा बर्डी लेखाउँदै फ्रन्ट नाइनमा १ अन्डर ३४ को स्कोर बनाए । ब्याक नाइनको ११ औं होलमा डबल बोगी खेपेपछि ओभर लेखाएका अजितले अन्तिम तीन होलमा दुई बोगी र एक बर्डी खेलेपछि १ ओभर ७१ स्कोर जोडे ।


नेपालकै सबैभन्दा कठिन मानिने ७० पार कोर्समा दोस्रो स्थानका भूबहादुर गुरुङले अन्तिम होलमा डबल बोगी खेपेपछि २ ओभर ७२ को स्कोर जोड्दै शीर्षस्थानमा बस्ने मौका गुमाए । बोगीबाट खेल सुरु गरेका उनले दोस्रो, १५ र १७ औं होलमा बर्डी लेखाए पनि ११ र १२ औं होलमा बोगी खेप्दा स्कोर बढेको हो । उनीसँगै धनबहादुर थापाले पनि २ ओभर ७२ कै स्कोर जोडेका छन् । फ्रन्ट नाइनको अन्तिम होलमा डबल बोगी खेपेका धनबहादुरले १२ औंमा बोगी तथा १५ औंमा बर्डी लेखाउँदै दोस्रो स्थानमा रहे ।


सूर्यप्रसाद शर्मा ३ ओभर ७३ को स्कोरसहित पाँचौं स्थानमा रहँदा भुवन नगरकोटी र सन्जिवबहादुर नेपाली ४ ओभर ७४ को स्कोर जोड्दै छैटौं स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठका लागि भने दिन सुखद रहेन । पाँच पारको छैटौं होलमा डबल बोगी खेपेपछि लय गुमाएका शिवरामले कुल ५ ओभर ७५ को स्कोर बनाए । उनी समान स्कोर जोडेका कमल तामाङसँगै आठौं स्थानमा छन् ।


एमेच्योरतर्फ दोस्रो स्थानका युवराज भुजेल ६ ओभर ७६ स्कोर जोडेका छन् । उनलाई ११ ओभर ८१ स्कोरसहित जीवन राईले पछयाइरहेका छन् । २६ व्यावसायिक र १७ एमेच्योरसहित कुल ४३ गल्फरको सहभागी छन् ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?