कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापा गोल्डकप : घरेलु भूमिमा झापाको सनसनी

पर्वत पोर्तेल

बिर्तामोड — आयोजक रमपम झापा ११ टाइब्रेकरमा जित निकाल्दै झापा गोल्डकप फुटबलको फाइनल पुगेको छ । बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई ४–३ ले हराउँदै झापा उपाधि दाबेदार बनेको छ । 

झापा गोल्डकप : घरेलु भूमिमा झापाको सनसनी

घरेलु दर्शकको भरपूर समर्थनमा थ्रीस्टारलाई पराजित झापाले मनाङ र त्रिभुवन आर्मीबीचको विजेतासँग सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुनेछ ।


निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरवाट निर्णय लिइएको थियो । झापाका कर्ण लिम्बू, भुषण सुब्बा, योगेश गुरुङ र देवेन्द्र तामाङले गोल गरे । विश्वास श्रेष्ठको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए । थ्रीस्टारबाट रजिन धिमाल, नीराजन खडा र विजय धिमालले गोल गर्दा बुद्ध चेम्जोङ र सुनील बलको प्रहार बारमा लागेर बाहिरिए ।

पहिलो हाफको ११ औं मिनेटमा थ्रीस्टारका अजायी मार्टिनको प्रहार पोस्टमा ठोक्किएर बाहिरियो । ३० आंै मिनेटमा झापाका विशाल राईको कडा प्रहार गोलकिपर एलनले उत्कृष्ट ढंगले बचाए । विशालको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा ६० औं मिनेटमा झापा चुक्काएको थियो । ६५ औं मिनेटमा थ्रीस्टारका दीपक राईको प्रहार गोलरक्षक किशोर गिरीले विफल तुल्याए ।


गोलकिपर बिट भइसक्दा ६७ औं मिनेटमा थ्रीस्टारका बुद्ध चेम्जोङको प्रहार डिफेन्डर दिलेन लोक्तामले गोललाइनबाट बचाएका थिए । ७५ औं मिनेटमा पेनाल्टी बक्स नजिकै पाएको फ्रि–किकमा थ्रीस्टारका सुनील बल गोल गर्न चुके ।


डोमालाल रंगशालामा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे । तर दुवै टोलीका खेलाडीले राम्रा अवसर गुमाए । झापाका विश्वास श्रेष्ठले पाएका अवसर पटक–पटक खेर फाले । थ्रीस्टारका अजायी मार्टिनले पनि केही अवसर सदुपयोग गर्न सकेनन् । थ्रीस्टारका नीराजन खडा, दीपक राई, विजय धिमाल, सुनील वललगायतको प्रदर्शन औसत रह्यो । थ्रीस्टारले तीन विदेशी खेलाडी उतारेको थियो । झापाका योगेश गुरुङ, कर्ण लिम्बू, विशाल राईजस्ता स्टार खेलाडीको प्रदर्शन सन्तोषजनक थिएन । म्यान अफ द म्याच झापाका डिफेन्डर देवेन्द्र तामाङ भए । उनले २५ हजार रुपैयाँ पाए ।


झापाका प्रशिक्षक प्रवेश कटुवालले सिंगो टिमको कडा मिहिनेतका कारण जित हासिल गरिएको बताए । उनले भने, ‘नेपालकै नम्बर एक टिमलाई हराउनु चानचुने होइन ।’


थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले टिमको तयारी अभाव रहेको बताउँदै उत्कृष्ट प्रदर्शनका बाबजुद पनि पराजित हुनुपरेको बताए । उनले भने, ‘टाइब्रेकरमा भाग्यले साथ दिएन ।’


प्रकाशित : फाल्गुन २५, २०७४ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?