क्रिकेट विश्वकप छनोट: हङकङविरुद्ध नेपाल (अपडेट)

काठमाडौँ — नेपालले सन् २०१९ मा हुने वान डे विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।

क्रिकेट विश्वकप छनोट: हङकङविरुद्ध नेपाल (अपडेट)

समूह 'बी' मा रहेको नेपालको लागि सुपर सिक्स र वान डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गर्न यस खेलमा ठुलो अन्तरमा जित हात पार्नुपर्ने समिकरण रहेको छ ।


खेलको प्रत्यक्ष अपडेट

जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो तीन खेल हारिसकेको छ । जिम्बावे र स्कटल्यान्डसँग पराजित हङकङले अफगानिस्तानलाई भने ३० रनले पराजित गरेको थियो । त्यही विजयले हङकङलाई सुपर सिक्समा पुग्ने सम्भावनालाई ब्युँत्याएको थियो । हङकङको टेस्ट मान्यता प्राप्त राष्ट्रसँग त्यो पहिलो जित थियो । नेपाल भने शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।


नेपाल हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पराजित भएको थियो । अक्टोबरमा हङकङमा भएको पहिलो खेलमा घरेलु टोली ११९–७ को स्थितिमा पुगिसकेको थियो । पछि १ सय ९४ रन बनाएको हङकङले नेपाललाई १ सय ११ रनमा अलआउट गर्दै खेल ८३ रनले जितेको थियो । २०१४ को विश्वकप छनोटमा नेपाललाई हङकङले १० विकेटले पराजित गरेको थियो, जुन नेपालको अहिलेसम्मकै लज्जास्पद पराजयमा पर्छ । पछिल्लो विश्वकप छनोट र च्याम्पियनसिपका बीचका एसीसी प्रिमियर लिग र इमर्जिङ टिम्स कपका दुई खेलमा नेपालले हङकङमाथि जित हात पारेको थियो । यसै प्रतियोगिताको विश्वकप छनोटमा नेपाल र हङकङबीचको अभ्यास खेल वर्षाले एक बल पनि नफाली रद्द भएको थियो ।


नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यताको सम्भावना

१. नेपालले हङकङलाई ठूलो अन्तरमा हराउने र अफगानिस्तानभन्दा माथि रहँदैसुपर सिक्समा जाने । यस्तोमा नेपालले पहिले ब्याटिङ गरेमा हङकङलाई २ सयभन्दा बढी रन अन्तरमा हराएमा मात्र सुपर सिक्समा जान सक्छ । सुपर सिक्समा पुगेमा नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यता निश्चित हुनेछ ।

२. नेपालले सोमबारको खेलमा जित हात पारेमा हङकङभन्दा माथि रहनेछ र अफगानिस्तान तेस्रो टोलीका रूपमा समूह ‘बी’ बाट सुपर सिक्समा पुग्नेछ । यस्तोमा नेपाल र हङकङ प्ले–अफमा झर्नेछन् । प्ले–अफमा हङकङ र पपुवा न्युगिनीभन्दा माथि रहेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँछ ।


३. हङकङसँग पराजित भएमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन र डिभिजन २ मा झर्नबाट रोकिन समूह ‘ए’ को नतिजा कुर्नुपर्छ । समूह ‘ए’ को सोमबार हुने अन्तिम दिनको खेलमा नेदरल्यान्ड्सले वेस्ट–इन्डिजलाई र आयरल्यान्डले यूएईलाई ठूलो अन्तरमा पराजित गरेमा यूएई पनि प्ले–अफमा झर्नेछ । प्ले–अफमा यूएई र पपुवा न्युगिनीभन्दा माथि रहेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।

प्रकाशित : फाल्गुन २८, २०७४ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?