आर्मीलाई सातौं उपाधि

राजु घिसिङ, पर्वत पोर्तेल

बिर्तामोड — त्रिभुवन आर्मी क्लबले आयोजक झापा ११ को चुनौती सडनडेथमा समाप्त पार्दै रमपम तेस्रो झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । आर्मीको यो सिजनको सातौं उपाधि हो ।

आर्मीलाई सातौं उपाधि

निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेट १–१ को टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकर पनि ३–३ ले बराबरी भयो । सडनडेथको पाँचौं प्रहारमा झापाका किशोर गिरीलाई असफल पार्दै गोलकिपर विकेश कुथुले आर्मीलाई उपाधि नजिक पुर्‍याएका थिए । लगत्तै टंक बस्नेतले सटिक प्रहार गर्दै आर्मीलाई दोस्रोपल्ट झापा गोल्डकप च्याम्पियन बनाए ।

सडनडेथमा आर्मीका दीप लामा, विकास तामाङ, भरत खवास, सुमन अर्याल र टंक सफल रहे भने झापाका विश्वास श्रेष्ठ, पुजन उपरकोटी, विकास बुढाथोकी र दिलेन लोक्तामले गोल गरेका थिए । यसअघि टाइब्रेकरको पहिलो प्रहारमै झापाका कर्ण लिम्बू चुकेका थिए । सुमिन मैनालीले पनि बल बाहिर हाने पनि भूषण सुब्बा, योगेश गुरुङ र देवेन्द्र तामाङले गोल गर्दै झापाको सम्भावना कायमै राखेका थिए । आर्मीका जितेन्द्र कार्कीले पनि बल बाहिर प्रहार गरे भने सन्तोष तामाङलाई गोलकिपर किशोर गिरीले असफल पारिदिए । आर्मीका नवयुग श्रेष्ठ, दीपक गुरुङ र विकेश कुथुको प्रहार भने सटिक रह्यो ।


खेलको ३० औं मिनेटमा विश्वासको पासमा सिक्स यार्ड बक्सबाट कर्णले बल बाहिर प्रहार गर्दा झापा सुरुआती अग्रता लिन चुकेको थियो । उसलाई अग्रता लिन धेरैबेर भने लागेन । खमिर गिल्सन कन्दङ्वाको चलाखीपूर्ण पासमा कर्णले सेकेन्डबार च्याप्दै आकर्षक फिनिसिङ गरेपछि झापाले ४९ औं मिनेटमा अग्रता लिएको थियो । तर, ७० औं मिनेटमै आर्मीले बराबरी गर्‍यो । दिनेश हेम्जनको कर्नरमा झापाली डिफेन्सले बल क्लियर गर्न सकेन र त्यसैलाई आर्मीका कप्तान भरत खवासले हेडमार्फत् पोस्टको दिशा दिँदै खेल १–१ को बराबरीमा पुर्‍याए ।

सर्वोत्कृष्ट खेलाडी हुँदै जितेको मोटरसाइकलका साथ योगेश गुरुङ ।

दोस्रो हाफसँगै खेल आक्रामक बनेको थियो । झापाले बलमाथि पकड कायम गरे पनि गोलको अवसर भने आर्मीले सिर्जना गर्‍यो । तर नवयुग, टंक र भरतले सहज अवसरमा पनि गोल गर्न नसकेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको थियो । पहिलो हाफको अन्त्यतिर आर्मीका फरवार्ड नवयुग श्रेष्ठले दर्शकलाई दुव्र्यवहार गरेपछि तनाव सिर्जना हुँदा खेल ५ मिनेट अवरुद्ध भएको थियो ।

हरेक खेल गाह्रो

‘विपक्षीलाई निगरानी नगर्दा गोल खाएपछि दबाब परेको थियो,’ आर्मीका प्रशिक्षक चुनबहादुर थापाले भने, ‘दोस्रो हाफमा खेल सुधार भयो । गोलका अवसर पनि सिर्जना गर्‍यौं । तर उपाधि जित्न टाइब्रेकर नै कुर्नुपर्‍यो ।’

पाँच दिनभित्र तीन खेल खेल्दा हरेक प्रतिस्पर्धा गाह्रो भएको पनि उनले सुनाए । उनको टिम पुलिस र मनाङ मस्र्याङदीलाई हराएर फाइनल पुगेको थियो ।

आफ्नै गल्तीले गोल बेहोरेपछि उपाधि जित्न नसकेको झापाका प्रशिक्षक प्रवेश कटुवालले बताए । ‘प्राप्त अवसर पनि उपयोग भएन र आफैंले गल्ती गरेपछि मिहिनेत गरेर पनि उपाधि गुमाउनुपर्‍यो,’ उनले भने । सुदूरपश्चिम ११, सिक्किम युनाइटेड र थ्रीस्टारलाई पराजित गर्दै झापा लगातार तेस्रोपल्ट फाइनल पुगेको थियो ।

आर्मीले २०७२ सालमा भएको पहिलो संस्करणमा पनि झापालाई हराएर उपाधि जितेको थियो । आर्मी गत वर्ष भने मनाङ मस्र्याङदीविरुद्ध सेमिफाइनलमा हारेको थियो । मनाङले झापालाई हराएर दोस्रो संस्करणको उपाधि नै जितेको थियो । २०७३ सालमा काँकडभिट्टा गोल्डकप र माईभ्याली

गोल्डकपको उपाधि जितेयता झापाले ट्रफी चुम्न सकेको छैन ।

मोफसलमा आयोजित सबैभन्दा धेरै पुरस्कार राशिको प्रतियोगितामा च्याम्पियन आर्मीले १२ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । झापाले ६ लाखमा चित्त बुझाउनुपर्‍यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित झापाका कप्तान योगेश गुरुङले यामाहा मोटरसाइकल पाए । म्यान अफ द फाइनल विश्वास श्रेष्ठ (झापा) ले २५ हजार हात पारे । प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका कर्ण लिम्बू (झापा) ले ५१ हजार पाए ।

आर्मीका विकेश कुथु उत्कृष्ट गोलकिपर, सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर र चुनबहादुर थापा उत्कृष्ट प्रशिक्षक चुनिए भने झापाका देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर भए । सहारा क्लब फेयर प्ले टिम घोषित भए । उनीहरूले जनही ३१ हजार प्राप्त गरे ।


२०७४ सालमा आर्मीको उपाधि

विकास मेमोरियल गोल्डकप, वीरगन्ज

सताक्षी गोल्डकप, झापा

काँकडभिट्टा गोल्डकप, झापा

खप्तड गोल्डकप, धनगढी

सिमरा गोल्डकप, बारा

हेटौंडा गोल्डकप, मकवानपुर

झापा गोल्डकप, बिर्तामोड

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?