कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रशिक्षणमै अन्योल

एसियन कप छनोट

काठमाडौँ — नेपालले एएफसी एसियन कप छनोट फुटबलअन्तर्गत आउँदो मंगलबार यमनको सामना गर्दै छ । प्रशिक्षक ग्योतोकु कोजीले दुई साताअघि एक कार्यक्रममा फागुन २० बाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुने बताएका थिए ।

प्रशिक्षणमै अन्योल

भनेकै दिनमा प्रशिक्षण सुरु भयो । तर पहिलो दिन आर्मीका आठ खेलाडीसहित सुरु प्रशिक्षण कार्यक्रम दोस्रो दिनबाटै रोकियो । प्रशिक्षणमा आफ्ना मात्र खेलाडी सहभागी भएपछि आर्मी क्लबले झापा गोल्डकपलाई भनेर सबै खेलाडी फिर्ता बोलायो अनि प्रशिक्षण रोकियो ।


लगातार आयोजना भइरहेको मोफसलका प्रतियोगितामा व्यस्त भएका कारण ए डिभिजन क्लबहरूले खेलाडी छाड्न मानेनन् । अनुबन्धित खेलाडीलाई नियमित तलब दिएका कारण राष्ट्रिय टोलीका लागि खेल हुनुभन्दा केही समयअघि मात्र खेलाडी छाड्ने क्लबहरूको तर्क छ । अखिल नेपाल फुटबल संघले सबै क्लबहरूलाई फागुन २० बाट प्रशिक्षण सुरु हुने र खेलाडी उपलब्ध गराइदिन पत्र काटेको थियो । तर पछि व्यवस्थापनसँगको मौखिक साझेदारीअनुसार झापा गोल्डकपपछि सबै टोलीले खेलाडी पठाउने सहमति गर्‍यो ।


प्रशिक्षक कोजीले आइतबार र सोमबार पुलिसका तीन तथा एपीएफका एकसहित चार खेलाडीलाई प्रशिक्षण दिए । अन्य क्लबका खेलाडी उपस्थित नभएपछि पुलिसले आफ्नो खेलाडीलाई पनि बुटवलमा जारी तिलोत्तमा गोल्डकप खेल्न बोलायो । मंगलबार फेरि प्रशिक्षण रोकियो र बुधबार पनि खेलाडी उपस्थित भएनन् । एन्फा प्रतिनिधिका अनुसार बुधबारदेखि सबै क्लबका खेलाडीसम्मिलित गरी प्रशिक्षण सुरु हुने कार्यक्रम तय थियो । तर क्लबहरू भने तिलोत्तमा गोल्डकप समाप्त नहुन्जेल खेलाडी छाड्न नसक्ने जनाइरहेका छन् ।


एसियन कप छनोटको समूह चरणका ५ खेलमध्ये २ बराबरी र ३ हारसँगै नेपालको छनोट हुने सम्भावना समाप्त भइसकेको छ । सन् २०१५ मार्चमा भारतसँग दुई लेगमा २–० को पराजय भोग्दै नेपालको विश्वकप छनोट र एसियन कप छनोटमा पूर्णविराम लागेको थियो । त्यसै वर्ष एएफसी सोलिडारिटी कप जितेपछि उपहारस्वरुप नेपालले एसियन कप छनोटमा स्थान पाएको हो ।


तुलनात्मक रूपमा कठिन समूहमा परेको नेपालले पहिलो खेलमा फिलिपिन्समा ४–१ ले पराजित हुँदै खराब सुरुआत गर्‍यो । उक्त खेलमा विक्रम लामाले रातो कार्ड पाउनु र रविन श्रेष्ठ घाइते भएपछि नेपालको हार थप पीडादायी भयो । त्यसपछि घरेलु मैदानमा यमनलाई गोलरहित बराबरीमा रोके पनि ताजकिस्तानविरुद्ध लगातार दुई हारले नेपाल समूहको पुछारमै रह्यो । गत नोभेम्बरमा फिलिपिन्सलाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको नेपाली टोली अब छनोट चरणलाई सुखद अन्त्य दिने लक्ष्यमा हुनेछ ।


नेपालले यमनसँगको खेल कतारमा खेल्दैछ । भारतमा व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक किरण चेम्जोङ राष्ट्रिय टोलीका लागि मंगलबार नेपाल आइपुगेका छन् भने फरवार्ड विमल घर्तीमगर बुधबार फर्किसके । रोहित चन्द भने इन्डोनेसियाको घरेलु लिगमा व्यस्त रहेका कारण सिधै कतार जाने सम्भावना प्रबल छ ।


फिटनेसले टोली बनाउनमै समस्या हुने सम्भावना पनि उत्तिकै छ । मिडफिल्डर विक्रम लामा चोटका कारण ६ महिना मैदानबाहिर रहनेछन् । डिफेन्डर देवेन्द्र तामाङ, कमल श्रेष्ठ, रविन श्रेष्ठलगायतका खेलाडी पनि चोटबाट भर्खर मैदान फर्किएका हुन् । यसबाहेक भरत खवास दोहोरो पहेँलो कार्डका कारण निलम्बनमा छन् ।


यमनविरुद्धको खेलसँगै सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपलाई नेपालको तयारी सुरु हुने प्रशिक्षक कोजीको बुझाइ छ । तर यमनसँगको तयारी नै कमजोर भएपछि साफको लक्ष्य झनै धुमिल हुने सम्भावना बढ्दो छ । कोजीले यसै महिना आफ्नो अनुबन्धन लम्ब्याएपछि साफ च्याम्पियनसिप मुख्य लक्ष्य रहेको बताएका थिए । सुरुआत नै खल्लो भएपछि राष्ट्रिय टोलीबाट राम्रो नतिजाको अपेक्षा पनि कमजोर बन्दै जाने देखिएको छ ।


टोलीमा नयाँ खेलाडी
प्रशिक्षक ग्योतोकु कोजीले दुई नयाँ खेलाडीलाई पहिलोपल्ट राष्ट्रिय टोलीमा बोलाएका छन् । पुलिसका मिडफिल्डर नीरकुमार राईसँगै आर्मीका डिफेन्डर सुमन अर्याल करिअरमै पहिलोपल्ट राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका हुन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सुमनले एक वर्षयता आर्मीको पहिलो रोजाइमा खेल्दै आएका छन् । नीरकुमार भने लामो समयदेखि पुलिसको मिडफिल्डमा खेल्छन् । उनीहरूसँगै मिडफिल्डर टंक बस्नेत र डिफेन्डर रविन श्रेष्ठले पनि टोलीमा पुनरागमन गरेका छन् । टंक सन् २०१५ पछि राष्ट्रिय टोलीमा फर्केका हुन् भने रविन एक वर्षपछि अटाए ।

प्रकाशित : चैत्र १, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?