कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेसीको सय गोल

एएफपी

बार्सिलोना — लियोनल मेसीले चेल्सीको गल्ती उपयोग गर्दै च्याम्पियन्स लिग फुटबलमा एक सय गोल गरेसँगै बुधबार बार्सिलोनाले क्वाटरफाइनल यात्रा पक्का गरेको छ ।

मेसीको सय गोल

मेसीको दुई गोल सहयोगमा बार्सिलोनाले नोउ क्याम्पमा भएको अन्तिम १६ को दोस्रो लेगमा ३–० ले नतिजा आफ्नो पक्षमा पार्‍यो । टोली समग्रमा ४–१ को जितसहित अगाडि बढ्यो ।

चेल्सीविरुद्ध मेसीले १ सय २९ सकेन्डमै गोलको खाता खोलेका थिए । त्यति बेलासम्म चेल्सीले पास खेल्न पनि पाएको थिएन । उनले करिअरकै सबभन्दा छिटो गोल गरेका हुन् । उनले ओसिमन डेम्बेलेका लागि पनि आकर्षक रूपमा गोल अवसर सिर्जना गरिदिए । त्यसपछि मेसीले च्याम्पियन्स लिगमा गोलको शतक पूरा गरे ।

युरोपकै सबभन्दा माथिल्लो प्रतियोगिता च्याम्पियन्स लिगमा सय गोल गर्ने मेसी दोस्रो खेलाडी हुन् । उनले १ सय ५२ खेलमा १ सय १७ गोल गरेका रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पछयाइरहेका छन् ।

स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेग १–१ मा टुंगिएको थियो । नोउ क्याम्पमा खेल सकिएपछि चेल्सीका व्यवस्थापक एन्टोनियो कोन्टेले मेसीलाई बधाई दिएका थिए । कोन्टेको टिमले विशेष गरी पहिलो हाफमा अवसर पाएको थियो तर खेलमा बार्सिलोना नै हाबी भयो ।

म्यानचेस्टर युनाइटेडलाई सेभियाले हरायो । टोटेनहमविरुद्ध युभेन्टस्ले जित निकाल्यो । चेल्सी पनि हारेपछि प्रिमियर लिग प्रतिनिधिका रूपमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लिभरपुल र म्यानचेस्टर सिटीमात्र रहे । स्पेनबाट बार्सिलोनासँगै रियल म्याड्रिड र सेभिया छन् भने जर्मन महारथी बायर्न म्युनिख पनि निरन्तर अन्तिम आठमा पुग्यो ।

बायर्न टर्कीमा भएको दोस्रो लेगमा बेसिक्टासलाई ३–१ ले पन्छाउँदै लगातार सातौंपल्ट क्वाटरफाइनल प्रवेश गर्‍यो । पहिलो लेग ५–० ले जितेको उसले समग्रमा ८–१ को सफलता हात पार्‍यो ।

च्याम्पियन्स लिग क्वाटरफाइनल पुग्ने टोली
बार्सिलोना (स्पेन)
बायर्न म्युनिख (जर्मनी)
युभेन्ट्स (इटाली)
लिभरपुल (इंग्ल्यान्ड)
म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
रियल म्याड्रिड (स्पेन)
एएस रोमा (इटाली)
सेभिया (स्पेन)

प्रकाशित : चैत्र २, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?