कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

च्याम्पियन्स लिग क्वाटरफाइनल: यस्तो छ लेखाजोखा

काठमाडौँ — हालको बार्सिलोना टोली सन् २००९–११ जस्तो छैन, सन् २०१५ को वरपर पनि आउँदैन । तर बार्सिलोना अपराजित रहेर खुसी हुने टोली पक्कै हो ।

च्याम्पियन्स लिग क्वाटरफाइनल: यस्तो छ लेखाजोखा

सिजन सुरुआतमा रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दुवै खेलमा नराम्रो पराजय भोगेको बार्सिलोनाले त्यसयता सिजनभर एक खेलमात्र हारेको छ । स्पान्योलसँग कोपा डेल रेको पहिलो लेगमा हार बेहोरे पनि समग्रमा बार्सिलोना विजयी रह्यो । चेल्सीविरुद्धको प्रदर्शन हेर्दा भने बार्सिलोनाले घरेलु मैदानमा ६ गोल मात्र खाएको तथ्य पत्याउन गाह्रो पर्छ । इभान राकाटिच र खुट्टाको चोटले सताएका सर्जियो बुस्केट्सको मिडफिल्ड जोडी केही सुस्त हुनुले टोलीको नयाँ संरचनालाई असर भने परेको छ । विलियनको पहिलो लेगको प्रदर्शनले टोलीको कमजोर पाटो पनि छ भन्ने प्रस्ट देखिन्छ ।

लियोनल मेसीले जारी सिजन लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रोमाको खेल्ने शैली हेर्दा आक्रामक खेलभन्दा रक्षात्मक रणनीति फापेको देखिन्छ । घरेलु मैदानबाहिर टोलीले ८ गोल मात्र खानुले पनि यसलाई सिद्ध पार्छ । उक्त फर्मलाई नोउ क्याम्पमा कायम गर्नु प्रशिक्षक युजेबियो डे फ्रान्सेस्कोलाई चुनौतीपूर्ण हुनेछ ।
सम्भावित विजेता– बार्सिलोना


युप हाइङ्कसले लगातार ११ च्याम्पियन्स लिग खेल जित्दै कीर्तिमान कायम गरेका छन् । उनले पछिल्ला तीन सिजन बायर्न म्युनिख प्रशिक्षकका रूपमा प्रत्येकपल्ट फाइनल पुगेको इतिहास छ । जेरेमी बोटेङ र म्याट्स हमल्सको सदाबहार जोडीका रूपमा उनीसँग सम्भवत: प्रतियोगिताको उत्कृष्ट डिफेन्स पनि साथ छ । लिगमा २० अंकले अघि रहेको स्थितिले गर्दा भने टोली ठूलो चुनौती सामना गर्न कति तयार छ भन्ने प्रश्न भने खडा भएको छ । समूह चरणको अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–१ ले पराजित गर्दै टोलीले हप्तैपिच्छे सन्तुलित खेल प्रदर्शन गर्न सक्ने क्षमता रहेको देखायो ।

सेभिल्लाविरुद्ध बायर्नले आक्रामक फुटबल खेल्नुपर्ने देखिन्छ । भिन्सेन्जो मोन्टेलाको नेतृत्वमा खेलेका १२ खेलमा सेभियाले तीनपल्ट ५ गोल खाएको छ । सेभिया रक्षात्मक रूपमा बलियो नभए पनि म्यानचेस्टर युनाइटेडविरुद्धको खेलले टोली आक्रामक पक्षमा सक्षम रहेको देखाएको छ । प्रतियोगिताका दोस्रो उच्च गोलकर्ता फरवार्ड विसाम बेन येड्डरको साथ हुनुले पनि बायर्न चनाखो हुनुपर्ने देखिन्छ ।
सम्भावित विजेता – बायर्न म्युनिख


गत सिजन च्याम्पियन्स लिगको फाइनल भिडेका यी दुई टोली यसपटक क्वाटरफाइनलमै आमने–सामने भएका छन् । तर दुवै टोलीमा यसपल्ट छुट्टै माहोल हुनेछ । टोटेनहमसँग अन्तिम १६ को खेलमा युभेन्ट्सले नतिजा आफ्नो पक्षमा पारेपनि अधिकांश समय प्रिमियर लिगको टोली इटालियन टोलीमाथि हाबी रह्यो । म्याड्रिडले दबाब दिएर नखेल्ने कारण युभेलाई पुरानो चिन्ताले भने सताउने छैन । सिजनपिच्छे मैदानमा रोनाल्डोको प्रभाव कम देखिए पनि गोलमा भने रोनाल्डो सदाबहार छन् । उनले लगातार गोल गरे पनि त्यसले टोलीको संरचनामा असर भने पक्कै पारेको छ ।

रियलको हकमा यो सिजन प्रदर्शन असाधारण छ । लिगको तेस्रो स्थानमा रहेको रियल च्याम्पियन्स लिगको समूहमा उपविजेता बन्दै अगाडि बढेको थियो । परिचय बनेको ४–२–३–१ लाई छाडेर ४–४–२ को संरचना अपनाएको रियलले क्यासेमिरो र कोभाचिचलाई मध्यभागमा खेलाउँदै भविष्यबारे सोच्न थालिसकेको छ । मार्को एसेन्सियो र लुकास भाज्केजले विंग्स सम्हाल्नुले त्यसमा उर्जा थपेको छ । तर हाल लुका मोड्रिच र टोनी क्रुसको उपस्थितिबिना म्याड्रिडको मिडफिल्ड कल्पनाबाहिरको विषय बनिसकेको छ ।
सम्भावित विजेता – रियल म्याड्रिड


म्यानचेस्टर सिटीलाई प्रिमियर लिगमा हराउने एकमात्र टोली हो लिभरपुल । यसबाहेक सिटीले एफए कपमा विगानसँग भोगेको हारबाहेक अन्य खेलमा हारको मुख देखेको छैन । जनवरीमा एनफिल्डमा भएको सिटी र लिभरपुलको खेलले दुवै टोलीको बलियो र कमजोर पक्ष उदांगियो । तत्कालीन समयमा घरेलु मैदानमा सबभन्दा कम गोल खाएको र अवे मैदान सबभन्दा कम गोल खाएको खेल ४–३ मा सकिँदा कमै आश्चर्यचकित भए । लिभरपुलले त्यसअघि ५–० ले सिटीलाई नतिजा सुम्पिए पनि आक्रामक खेल प्रदर्शन गरेको थियो । १–० को स्थितिमा साडियो मानेले खाए पनि लिभरपुलले निरन्तर दबाब दिँदै खेलमा आक्रमण गरेको थियो । उक्त खेलले पनि दुवै पक्ष निरन्तर आक्रमण हुँदा दबाबमा पर्ने प्रस्ट पारेको थियो ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले सिटीविरुद्ध रक्षात्मक खेलेर नतिजा आस गर्नुलाई चिठ्ठा जित्नुसँग दाँजेका छन् । उनको पृथक प्रस्तुतिकै कारण पेप ग्वार्डिओलाविरुद्ध सर्वाधिक सफल प्रशिक्षकका रूपमा क्लोप दरिएका छन् । दुई प्रशिक्षकबीचको १२ भिडन्तमा क्लोपले ६ जित र १ बराबरी आफ्नो पक्षमा पारेका छन् ।
सम्भावित जित – म्यानचेस्टर सिटी

प्रकाशित : चैत्र ३, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?