राति खेलाइने तयारी

पाँचौं विराट गोल्डकप

विराटनगर — चैत १७ देखि हुने पाँचौं विराट गोल्डकप फुटबल यसपालि रात्रिकालीन समयमा खेलाइने तयारी आयोजक समितिले गरेको छ ।

चैतको हावाहुरी र गर्मीले दिउँसो खेलाउने सम्भावना टर्दै गएपछि आयोजकले फ्लडलाइटमा म्याच खेलाएर भए पनि प्रतियोगितालाई निरन्तरता दिन आवश्यक तयारी सुरु गरेको छ । यो प्रतियोगिता गत वर्ष मैदान अभावले आयोजना हुनसकेन । यसपालि पनि चैतको समयमा एकातिर हावाहुरी र गर्मीको चिन्ता छँदै छ । आयोजक समितिका अध्यक्ष नवीन रिजालले भने हावाहुरी र गर्मी छल्दै यसपालि सबै खेल राति खेलाउने तयारी गरेको बताए ।

यसका लागि सहिद मैदानमा आवश्यक लाइट जोड्ने काम सुरु भएको छ । अध्यष रिजालले भने, ‘करिब २५ लाखको लगानीमा सहिद मैदानवरपर ६ वटा ठूला बत्ती जडान गर्दा राति फुटबल खेलाउन सकिने प्राविधिकले सुझाएका छन् । त्यसैअनुसारको तयारी थालिएको छ । सबै खेल साँझ ६ देखि ८ बजेसम्म बत्ती बालेर खेलाइने योजना छ ।’

विगतमा दिउँसो म्याच हुँदा दर्शक उपस्थिति कम हुने विराटनगरमा नौलो होइन । रिजालले भने, ‘यसपालि ठूलो लगानी गरेर राति म्याच खेलाउँदा दिनभर रोजगारी गरेर साँझ फुर्सद पाउने फुटबलप्रेमी दर्शकबाट साथ पाइने आस छ ।’

आयोजकले प्रतियोगिताको पुरस्कार राशि पनि मोफसलकै सर्वाधिक बनाएको छ । आयोजक समितिका अध्यक्ष रिजालका अनुसार विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ पाउने छन् । चौथो संस्करण विजेताले ५ लाख र उपविजेताले ३ लाख पाएका थिए ।
भर्खरै सम्पन्न झापा गोल्डकप विजेता आर्मीले १२ लाख ५१ हजार र उपविजेता झापाले ६ लाख रुपैयाँ पाएका थिए । त्यसअघि सर्वाधिक पुरस्कारको रूपमा इटहरी गोल्डकप विजेता थ्रीस्टारले १२ लाख र उपविजेता मनाङ मस्र्याङदीले ५ लाख रुपैयाँ थापेका थिए । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले इटहरी गोल्डकपको अर्को सस्करण विजेताको पुरस्कार राशि २५ लाख हुने घोषणा गरिसकेका छन् ।

विराट गोल्डकपमा नेपालसहित भारत, बंगलादेश र भुटानका एक–एक गरी १० टोलीको सहभागिता रहने अध्यक्ष रिजालले बताए । यसपालि प्रतियोगितामा सहभागी हुने हरेक टिम खाली हात नफर्कने गरी प्रोत्साहन पुरस्कार व्यवस्था गरिने जनाइएको छ । चौथो संस्करणमा पनि सहभागी सबै टिमले म्याच मनी पाएका थिए । पहिलो म्याचमा हार्नेले ५० हजार, क्वाटरफाइनल हार्नेले ७५ हजार र सेमिफाइनल हार्ने टिमले एक लाख रुपैयाँ पाएका थिए । यसपालि पनि त्यसलाई निरन्तरता दिइने आयोजकको तयारी छ ।

तेस्रो र चौथो संस्करण आयोजक समिति अध्यक्षमा उद्योगी राजेन्द्र राउत थिए । यसपालि आयोजकमा पनि विराट गोल्डकप ट्रस्टले उद्योगी रिजाललाई सर्वसम्मत् चुनेको हो । अध्यक्ष रिजालले प्रतियोगिता गर्न करिब सवा करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उक्त रकममध्ये ७५ प्रतिशत प्रायोजक र बाँकी रकम टिकट बिक्रीबाट संकलन हुने अपेक्षा छ ।

प्रकाशित : चैत्र ३, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?