एपीएफ च्याम्पियन

काठमाडौँ — आयोजक नेपाल एपीएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुला महिला भलिबलको उपाधि जितेको छ ।

एपीएफ च्याम्पियन

शुक्रबार हल्चोकस्थित आफ्नै कोर्टमा भएको फाइनलमा एपीएफले चिरप्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई २५–१९, २५–१८, २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । यसै वर्ष यी दुईबीच आठपल्ट फाइनल भिडन्त भएको छ । त्यसमा एपीएफले न्यु डायमन्डलाई सातपल्ट हराएको छ । न्यु डायमन्डको एकमात्र सफलता क्लब आफैंले आयोजना गरेको शिवम् न्यु डायमन्ड कपको उपाधि जित थियो ।

नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३, २५–१३ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्‍यो ।

विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

सर्वोत्कृष्ट खेलाडी एपीएफकी विनिता बुढाथोकी भइन् । उनले पुरस्कारस्वरुप स्कुटर हात पारेकी छन् । एपीएफकी नेबिका चौधरी उत्कष्ट स्पाइकर, न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, एपीएफकै मनीषा तामाङ उत्कृष्ट डिफेन्स, एपीएफकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र एपीएफका ज्ञानेन्द्रबहादुर विष्ट उत्कृष्ट प्रशिक्षक भएका छन् । उत्कृष्टले जनही ५ हजार पुरस्कार पाए ।

रत्नजित च्याम्पियन
त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नङसलदेवी तामाङले चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला व्याडमिन्टनमा च्याम्पियन भएका छन् ।

रत्नजितले पुरुष एकलतर्फ फाइनलमा आयोजक एपीएफका दीपेश धामीलाई २२–२०, २१–११ को सोझो सेटमा हराउँदै उपाधि जिते । रत्नजितले ६० हजार र दीपेशले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

महिला एकलतर्फ बिहीबार राति भएको फाइनलमा रत्नजितकै दिदी नङसलदेवीले रसिला महर्जनलाई २१–१९, १९–२१, २१–१९ ले हराएर उपाधि जितेकी थिइन् । नङसलले ५० हजार र रसिलाले २५ हजार पुरस्कार पाए ।

प्रकाशित : चैत्र ३, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?