त्रिवि र डीएभी भिड्ने
काठमाडौँ — युनिभर्सिटी क्रिकेट कप २०१८ को उपाधि भिडन्तमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र डीएभी कलेज भिड्ने भएका छन् ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा त्रिविले कसमस कलेजलाई सुपर ओभरमा हराउँदा डीएभीले गोल्डेनगेटमाथि ११ रनको जित पायो ।
ब्याटिङको निम्तो पाएको कसमसले ओपनर अमित श्रेष्ठको ६० (४४) तथा सन्दीप जोराको नटआउट ५७ (३०) रन मदतले ६ विकेट गुमाई १ सय ७० रन जोड्यो । प्रशन्न शाक्यले ११ बलमा २ चौका र २ छक्कासहित २५ रन प्रहार गरेपछि कसमसले ठूलो स्कोर खडा गऱ्यो । जवाफमा त्रिविले पनि ८ विकेट गुमाउँदै २० ओभरमा १ सय ७० रनमात्र जोड्यो । २६ रनको स्थितिमा दुवै ओपनर गुमाएको त्रिविलाई मध्यक्रममा सुवास खकुरेलले ७६ रन जोड्दै उकासे । सुवास र ३० रन जोडेका पृथु बाँस्कोटाले तेस्रो विकेटमा ६७ रन जोडेका थिए ।
सुपर ओभरमा कसमसका दीपेश श्रेष्ठको ओभरमा सोनु तामाङ र सुवासले १–१ छक्का प्रहर गर्दै १८ रन जोडे । त्यसपछि त्रिविका इशान पाण्डेको बलिङमा कुशल भुर्तेल र सन्दीपको जोडीले १० रनमात्र जोड्दा बाउन्ड्री प्रहार सकेनन् ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको डीएभी २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रनमा समेटियो । ओपनर आदिल खान (२७) र सुमित महर्जन (२२) बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । गोल्डेन गेटका सन्तोष भट्टले ३ विकेट लिएका थिए । सामान्य लक्ष्य पछ्याएको गोल्डेनगेटले अपेक्षाकृत ब्याटिङ गर्न सकेन ।
कप्तान नरेश बुढाएर (३७) र भूपेन्द्र थापा (२७) बाहेकका ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । गोल्डेनगेटको मध्यक्रम नचल्दा टोलीले ८ विकेट गुमाई १ सय ९ रनमात्र जोड्न सक्यो । डीएभीका आदिल खानले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए भने नन्दन यादव, शंकर पौडेल र सुमित झाले १–१ विकेट हात पारे । फाइनल शनिबार हुनेछ ।
प्रकाशित : चैत्र ३, २०७४ ०९:३२