१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

तिलोत्तमा गोल्डकप : थ्रीस्टार पहिलोपल्ट च्याम्पियन

बुटवल — युवा खेलाडीले भरिएको पुलिसले राम्रो खेल पस्कियो । सुस्त गतिमा सुरु भएको फाइनलमा पूरा खेलभर उसैको पकड बल थियो । गोलका थुप्रै अवसर पनि सिर्जना गर्‍यो । तर, २० औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भने रुस्लान थ्रीस्टार क्लबले जित्यो । थ्रीस्टार शनिबार पुलिसलाई २–० ले हराएर पहिलोपल्ट तिलोत्तमा गोल्डकपमा च्याम्पियन भएको हो ।

तिलोत्तमा गोल्डकप : थ्रीस्टार पहिलोपल्ट च्याम्पियन

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर भएको फाइनलमा पुलिसले ५१ औं मिनेटमा गोलको खाता खोल्ने मौका पाएको थियो । गोलकिपर पनि अगाडि बढिसकेको अवस्थामा रवि पासवानले खाली पोस्टतर्फ प्रहार गरेको बल नजिकबाट बाहिरियो ।


घुँडाको शल्यक्रियापछि यसै प्रतियोगिताबाट मैदान फर्किएका पुलिसका कप्तान रविन श्रेष्ठको आत्मघाती गोलसँगै थ्रीस्टारले ६६ औं मिनेटमा अग्रता लिएको हो । थ्रीस्टारका फरवार्ड विमल घर्तीमगरको क्रस रविनले छातीले रोक्दै गोलकिपर रोशन खडालाई क्लियर गर्न दिएका थिए । तर उनले बल दिँदा रोशन अर्कोतर्फ लागिसकेका थिए । त्यसैले थ्रीस्टार अगाडि बढ्यो । खेलको ‘टर्निङ प्वाइन्ट’ नै त्यही गोल हुनपुग्यो ।


सर्वाधिक चारपल्टको तिलोत्तमा गोल्डकप च्याम्पियन पुलिस पछाडि परेपछि अझ आक्रामक बन्यो । उसले ७६ औं मिनेटमा बराबरी गर्ने राम्रो अवसर पनि पायो । तर पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ तेज तामाङ र रवि पासवानले बललाई पोस्टको दिशा दिन नसक्दा पुलिसले खेलमा फर्किने अवसर गुमायो । कप्तान नीराजन खडाले ८० औं मिनेटमा हेड गोल गर्दै थ्रीस्टारको जित पक्का गरिदिए । उनले सुनील बलको कर्नरमा गोल गरेका थिए । उनी सर्वोत्कृष्ट खेलाडी हुँदै स्कुटर पुरस्कार जित्न सफल भए ।


‘युवा खेलाडी भए पनि पुलिसले निकै राम्रो खेल्यो,’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘निरन्तर प्रतियोगितामा सहभागी हुँदा खेलाडीहरू निकै थाकेका छन् । त्यसैले पनि फाइनलमा हामीले राम्रो खेल्न नसकेको हुनसक्छ । तर अनुभवी खेलाडी भएकाले हामीले उपाधि जित्यौं ।’ उनको टिमले तीन महिनायता खेलेका आठ प्रतियोगितामा ६ फाइनल खेल्दै तेस्रो उपाधि जितेको हो । यसअघि उसले मदन भण्डारी स्मृति इटहरी गोल्डकप र २० औं बुढासुब्बा गोल्डकप जितेको थियो ।


पुलिसका प्रशिक्षक अनन्तराज थापाले हारको कारणबारे भने, ‘हामीले योजनाअनुसार राम्रो खेल्यौं । थ्रीस्टारलाई खुलेर खेल्ने मौका दिएनौं । थुप्रै अवसर पनि बनाएका हौं । तर गोल गर्न सकेनौं ।’ उनको टोली १९ वर्षयता पहिलोपल्ट तिलोत्तमाको फाइनल पुगे पनि उपाधि हात असफल भयो । आहा–रारा गोल्डकप र राखेप च्याम्पियनसिपको विजेता पुलिसले यो सिजन ६ प्रतियोगितामा सहभागी हुँदै पाचौंपल्ट फाइनल खेलेको हो ।


थ्रीस्टारले धरानमा पुलिसलाई १–० ले हराएर कीर्तिमान पाँचौंपल्ट बुढासुब्बा गोल्डकप जितेको थियो । त्यसअघि पोखरामा १६ औं आहा–रारा गोल्डकपमा भने थ्रीस्टारलाई १–० ले पन्छाउँदै पुलिसले कीर्तिमान पाँचौंपल्ट ट्रफी चुमेको थियो । बुटवलमा आएर भएको सिजनको तेस्रो भेटमा भने बाजी मार्दै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार हत्यायो । उपविजेता पुलिसको भागमा ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पर्‍यो । विधागत उत्कृष्ट खेलाडीले जनही २२ हजार २ सय २२ रुपैयाँ पाए ।


विधागत उत्कृष्ट

गोलकिपर : एलन न्यौपाने (थ्रीस्टार)

डिफेन्डर : पूर्णबहादुर श्रेष्ठ (रूपन्देही ११)

मिडफिल्डर : भोला सिलवाल (पुलिस)

फरवार्ड : रेजिन सुब्बा (पुलिस)

प्रशिक्षक: मेघराज केसी (थ्रीस्टार)

सर्वोत्कृष्ट खेलाडी : नीराजन खडा (थ्रीस्टार)


प्रकाशित : चैत्र ३, २०७४ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?