कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डे-नाईट विराट गोल्डकपमा १० टिमको सहभागिता

विनोद भण्डारी

विराटनगर — डे–नाईट विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करणकाे उपाधिकालागि १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

डे-नाईट विराट गोल्डकपमा १० टिमको सहभागिता

आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गर्दै चैत १७ देखि सुरु हुने डे–नाईट म्याचकालागि स्वदेशी सात र विदेशी तिन टिमको सहभागिता रहने जानकारी दिएको हो ।

प्रतियोगिताका हरेक खेल साँझ ६ बजेदेखि ८ बजे सम्म खेलाइने छ । त्यसकालागि आवश्यक लाइटको व्यवस्था भइसकेको आयोजकले बताएको छ ।


आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार प्रतियोगितामा मनाङ मस्र्याङदी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी, थ्रिस्टार, रमपम झापा ११ र रिजालको मोरङ ११ सहित थिम्पु फुटबल क्लब, बंगलादेश स्पोर्टिङ क्लबको सहभागिता रहने निश्चित भएको छ । त्यसैगरी भारतको सिक्किम यूनाइटेड र मोहमडन स्पोर्टिङ क्लबमध्ये एकको सहभागिता रहने छ ।


प्रतियोगिता सञ्चालन गर्न विभिन्न २६ उपसमिति गठन गरिएको उल्लेख गर्दै अध्यक्ष रिजालले भने, 'प्रतियोगितामा कुल २८ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार वितरण गरिने छ । त्यसमध्ये विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।'


त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार, म्यान अफ द टुर्नामेन्टलाई मोटरसाइकल प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेन्स, बढी गोलकर्ता, उत्कृष्ट व्यवस्थापक, प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको रिजालले बताए ।


२०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६७ सालमा विराट गोल्डकपमा रुपान्तरित भएर २०६९ सालदेखि सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको चौथो संस्करणको उपाधि नेपाल पुलिसले जितेको थियो । चौथो संस्करणको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैया पुरस्कार पाएको थियो ।

प्रकाशित : चैत्र ४, २०७४ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?