कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सलाहको चार गोल

एएफपी

लन्डन — मोहमद सलाहले उत्कृष्ट लयलाई जारी राख्दै डेब्यु सिजनमै लिभरपुलको क्लब रेकर्ड तोडेका छन् ।

सलाहको चार गोल

शनिबार लिभरपुलले वाटफोर्डलाई ५–० ले पराजित गर्दा एक्लै चार गोल गरेका सलाहले जारी सिजन ३६ गोल गरिसकेका छन् । यो संख्या लिभरपुलका लागि कुनै पनि खेलाडीले पहिलो सिजनमा गरेको सर्वाधिक गोलसंख्या हो । यसअघि स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसले सन् २००७–०८ सिजनमा ३३ गोल गरेका थिए ।

अघिल्लो साता म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित लिभरपुलले पछिल्लो पाँच खेलमा चौथो जित दर्ता गर्ने क्रममा चौथो मिनेटमै अग्रता लियो । सलाहले दिलाएको सुरुआती अग्रता ४३ औं मिनेटमा उनैले दोब्बर पारे । ४९ औं मिनेटमा रोबर्टो फिर्मिनोलाई तेस्रो गोलका लागि पास उपलब्ध गराएका सलाहले ७७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनी प्रिमियर लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बने । सलाहले ८५ औं मिनेटमा गोल गर्दै ५–० को जित पक्का गरे ।

लगातार चार हारको क्रम तोड्दै क्रिस्टल प्यालेसले हडर्सफिल्ड टाउनको मैदानमा २–० को जित हात पार्‍यो । जेम्स टम्किन्सले २३ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अगाडि बढाए । लुका मिलिभोजेभिचले ६८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे । अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रुमले बर्नमाउथसँग २–१ पराजय बेहोर्‍यो । जे रोड्रिग्वेजको ४९ औं मिनेटको गोलमा वेस्ट बु्रमले अग्रता लिए पनि जोर्डन आइब र जुनियर स्टानिस्लासले अन्तिम १५ मिनेटमा गोल गर्दै बर्नमाउथको जित पक्का गरे । यो वेस्ट ब्रुमको लगातार सातौं पराजय थियो ।

जनवरी ट्रान्सफर विन्डोमा आएका स्ट्राइकर चेन्क टोसुनको दुई गोलसँगै एभरटनले स्टक सिटीलाई २–१ ले हरायो । चार्ली एडमले ३० औं मिनेटमा रातो कार्ड खाएपछि स्टक १० खेलाडीमा सीमित भएको थियो । पछिल्लो पाँच लिग खेलमा पराजित एभरटनले ६९ औं मिनेटमा अग्रता लियो । ७७ औं मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङले बराबरी गोल फर्काए । तर ६ मिनेट बाँकी छँदा टोसुनले विजयी गोल गर्दै हारको सिलसिला तोडे ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?