‘ओपनिङमै प्रमाणित गर्न चाहन्छु’

मेरै प्रदर्शनका कारण नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्न सकेन जस्तो लाग्छ, यसमा म दु:खी छु ।

काठमाडौँ — प्राविधिक हिसाबमा नेपालका सबैभन्दा निपुण ब्याट्सम्यान मानिएका ज्ञानेन्द्र मल्लका लागि पछिल्लो एक महिनामा भएको विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोट बिर्सनलायक बन्यो । आफ्नो प्रदर्शनका हिसाबमै उनी यसलाई सम्झन चाहँदैनन् ।

‘ओपनिङमै प्रमाणित गर्न चाहन्छु’

नेपालबाट प्रमुख आस गरिएका यी ओपनिङ ब्याट्सम्यानले डिभिजन २ र विश्वकप छनोटका १२ खेलमा उनले १ सय ४२ रनमात्र बनाउन सके । आफूले प्रदर्शन दिन नसकेकामा उनलाई ग्लानि छ । यही मौकामा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पायो । नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्रसँग यसै सेरोफेरोमा कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानी :

नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँदा टिममा लामो समय योगदान दिँदै आउनुभएका तपाईले यसलाई कसरी लिनुभएको छ ?
मुख्य लक्ष्य कसरी टेस्ट मान्यता पाउने भन्ने थियो । त्यहाँसम्म पुग्ने वान–डे अन्तर्राष्ट्रिय मान्यता आधार हो । आफैंले खेलिरहेको अवस्थामा नेपालको प्रतिनिधित्व गर्दै यो मान्यता पाउनु मेरा लागि गौरवको विषय पनि हो । जतिखेर हामी क्रिकेट खेल्थ्यौं त्यतिखेर यो किसिमको चहल–पहल नै थिएन । खेल्दै जाँदा ट्वान्टी–२० विश्वकप नै खेल्यौं । त्यस्तै वान–डे अन्तर्राष्ट्रिय मान्यता पनि अर्को चरणको सपना थियो । क्रिकेट खेल्दा यो सम्भव पनि थिएन र सोचेका पनि थिएनौं । विश्व क्रिकेट लिग डिभिजन ५ मा हुँदा यो सम्भावनै थिएन । आफ्नो सानोतिनो योगदानमा नेपाल यो स्थितिमा आइपुग्दा सन्तुष्ट लागेको छ ।

हिजोका दिनमा नेपालको ब्याटिङ पारस, शरद र तपाईमा मात्र भरपर्दै आउँदा कुनै दिन यहाँ पुगिन्छ भनेर सोच्नुभएको थियो ?
हामी तीन जना मात्र चलेर यो स्थितिमा आएको भन्ने हुँदैन । हाम्रो क्रिकेट संस्कार अझै विकसित भइसकेको छैन । हामी अझै स्कोरकार्ड हेरेर मूल्यांकन गर्छौ । त्यसबाट बाहिर आउन जरूरी छ । टिममा सबैको आ–आफ्नो भूमिका हुन्छ । सामान्य उदाहरण के हो भने पारसले १ रन लिँदा नन स्ट्राइक एन्डमा रन नजोड्नेको पनि उत्तिकै भूमिका हुन्छ । ब्याट्सम्यानले जति रन बनाए पनि बलिङ र फिल्डिङले केही गर्न सकेन भने खेल जित्दा पनि जितिँदैन । हुनसक्छ हिजोका दिनमा हाम्रो योगदान बढी थियो, तर अरुलाई नकार्न मिल्दैन । हामीले बनाएको ४०–५० सय रन भन्दा उनीहरूले बनाएको १० रनको पनि त्योभन्दा बढी महत्त्व हुनसक्थ्यो ।

वान–डे मान्यता पाउँदाको माहोल कस्तो थियो, सिनियर खेलाडी भएकाले त्यसलाई कसरी लिनुभयो ?
वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएको हो कि होइन भनेर ढुक्क हुनसकेका थिएनौं । यति मेहनत गरेर आइसक्यौं यो भन्दा तल झर्नु हुँदैन भन्ने थियो । एउटा खेल जित्यो भने वान–डे अन्तर्राष्ट्रिय दिए पनि नदिए पनि कम्तीमा हामी माथिल्लो स्तरमा पुग्थ्यौं । आयरल्यान्ड र अफगानिस्तान पनि टेस्ट राष्ट्र बनिसकेको अवस्थामा हामी एसोसिएटको शीर्ष चार राष्ट्रभित्र पथ्र्यौ । वान–डे अन्तर्राष्ट्रिय मान्यता अन्योल भए पनि अन्तरमहादेशीय कप र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने निश्चित हुन्छ फेरि डिभिजन २ फर्कनुपर्दैन भनेर बसेका थियौं । हामीले पपुवा न्युगिनीलाई हराइसकेको र नेदरल्यान्ड्सले हङकङसँग विजय हात पारिसकेको थियो । हामी टीभीमा वेस्ट इन्डिज र अफगानिस्तानको खेल प्रत्यक्ष हेरिरहँदा कमेन्टेटरले बीच–बीचमा नेदरल्यान्ड्सले जितेपछि नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पायो भनेपछि मात्र हामी ढुक्क भयौं । पछि आईसीसीबाट यससम्बन्धी समाचार आयो । हाम्रो लक्ष्य नै भएकाले भाइबर ग्रुप ‘मिसन ओडीआई स्ट्याटस’ भनेर बनाएका थियौं । त्यसलाई ओडीआई स्ट्याटस बनाएर वान–डे अन्तर्राष्ट्रिय मान्यताको खुसी मनायौं । नयाँ खेलाडीको भविष्य देखेर खुसी लाग्यो । युवा खेलाडी भएकाले उनीहरू अझ जोसिला थिए, यसले छुट्टै सन्तुष्टि दिएको थियो । क्रिकेट अब नयाँ आउने पिँढीले पनि खेल्न पाउने भयो । त्यो पनि माथिल्लो स्तरमा भन्दा खुसी पनि थियो । मनमा चिसो पनि पस्यो । पाउन त पायो क्रिकेट संघ नै निलम्बनमा छ, ट्वान्टी–२० अन्तर्राष्ट्रिय पनि पाएको थियो तर त्यसको खासै प्रयोग गर्न सकेका थिएनौं । अब के हुन्छ भनेर मनमा बिझिरहेको थियो ।

नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यतामा तपाईले कस्तो किसिमको योगदान गर्न सक्नुहुन्छ भन्ने लागेको छ ?
मैले दिने योगदान भनेको जहिले पनि देशका लागि केही गर्ने हो । त्यो भनेको आफूले भ्याए र शरीरले साथ दिएसम्म हो । योगदान भनेको खाली रन बनाउनमात्र होइन । मैले मैदानमा खेल्दा मात्र हुन्छ भन्ने पनि होइन । मैदानबाहिर पनि मैले क्रिकेटलाई कसरी एउटा एम्बासडरको रूपमा अगाडि लैजान सक्छु, क्रिकेटलाई कसरी संस्थागत गर्न सक्छु त्यो भूमिका बढी हुन्छ । क्रिकेट एउटा स्तरमा पुगिसकेको छ यसलाई निरन्तरता दिन खेलाडीको मात्र नभएर, प्रशंसक, एम्बासडर भएर मैदानभित्र र बाहिर अझै धेरै योगदान मैले गर्नुपर्छ जस्तो लाग्छ ।

नेपाल क्रिकेट संघ निलम्बनको अवस्थामा यो उपलब्धि जोगाउन त गाह्रो होला नि ?
मेरो विचारमा संघ हुँदा र नहँुदाको फरक भनेको समन्वय गर्न गाह्रो र विकासको कुरामा असर परेको हो । संघ निलम्बन हुँदा हामी खेलिरहेका छौं । तर यसमा अलिकति असर परेको त छ । त्यसको मतलब वान–डे अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न संघ नै चाहिन्छ भन्ने होइन । क्रिकेटमा जो–जो सरोकारवाला हुनुहुन्छ उहाँले आफ्नो सानो दायित्व लिनुभयो भने पनि यो मान्यतासँगै नेपाली क्रिकेट अगाडि बढ्न सक्छ । संघ भनेको क्रिकेटको सर्वोच्च निकाय हो त्यो नहुँदा काम गर्न केही अप्ठयारो त पर्छ नै ।

नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय मान्यता खेल को सँग होस् जस्तो लागेको छ ?
जो सँग खेले पनि आफूले खेल्न पाउनु ठूलो हो । त्यो नै आफ्नो खेलजीवनको हाइलाइट्स हुनेछ । भारतसँग खेल्न पाए म सबैभन्दा खुसी हुनेछु । पहिलेदेखि क्रिकेट हेरेको भनेको भारतकै हो । सचिन तेन्दुलकरबाट प्रभावित हुने भइहालियो । केही तीतो अनुभवहरू पनि छ । भारतमा खेल्न जाँदा नेपालमा पनि क्रिकेट खेल्छ र भन्ने प्रश्न गर्थे । भारतसँग वान–डे अन्तर्राष्ट्रिय खेल्न भारतमै गइयो भने अव जवाफ दिइरहनुपर्दैन ।

नेपाली टोलीमा आरिफ शेख, सन्दीप लामिछाने, रोहित पौडेल, ललितनारायण राजवंशी जस्ता युवा खेलाडीको भूमिकालाई कसरी लिनुहुन्छ ?
क्रिकेटमा जोस र खेलप्रतिको लगाव कति छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ । त्यो जोसलाई सही ढंगले प्रयोग गर्न सक्यो भने नतिजा राम्रो आउँछ । डेढ वर्ष जस्तो अगाडि पनि मैले सोपमाल कामी, करण केसीलाई हेर्दा त्यस्तो अनुभव गरेको थिइनँ, तर उनीहरू अहिले सही बाटोमा देखिएका छन् । अहिले आउँदा भनेको कुराहरू बुझ्ने गरेजस्तो देखिन्छ । योजनाहरू बुझ्छन्, क्रिकेट ज्ञान बढाउँदै गएका छन् । रोहित र सन्दीप त अझै नयाँ नै छन् । उनीहरूको बुझाइ अझै तेज देखिन्छ । अर्को एक–डेढ वर्ष यही स्तरमा उनीहरूले खेलिरहेमा हाम्रो क्रिकेट सही दिशामा गइरहेको छ भनेर भन्नुपर्छ । प्रतिभा भएकै हिसाबले उनीहरूले त्यो अनुरुपको प्रदर्शन दिइरहेका छन् । एक्सपोजर कम भएकाले अझ पनि उनीहरूको खेल खुल्न पाएको छैन ।

धेरै जिम्मेवारी लिँदा खेलमा कत्तिको असर पर्छ ?
पहिला पनि एउटा ब्याट्सम्यान, उपकप्तानको जिम्मेवारी लिएर खेलेकै हुँ । डिभिजन २ मा मेरो प्रदर्शन राम्रो भइरहेको थिएन । दिमागमा मैले राम्रो गर्नुपर्छ भनेर खेलिरहेको थियो । राम्रो स्कोर बनाउन नसके पनि अर्को एन्डबाट टिमलाई सहयोग गर्नुपर्छ भन्ने थियो । सुरुआत पनि राम्रै भएको थियो नभएको होइन । जिम्बावेसँग खेल्दा मेरो भूमिका पनि त्यही थियो एउटा एन्ड सम्हालेर खेल्नुपर्ने । ३२ रन बनाए पनि लय नभेटिरहेको जस्तो अनुभव भएको थियो । त्यसमा विश्वकप छनोटजस्तो प्रतियोगितामा टिमले हार्दा र आफ्नै ब्याटिङ नचलेर हार्दा अलिकति मानसिक तनाव भयो । त्यो दबाब भयो भन्दैमा राम्रो प्रदर्शन गर्न नसकेको भने होइन । विश्वकप छनोट भएकाले अलिकति छुट्टै दबाब थियो । आफूले प्रदर्शन गर्न नसकेकै कारण टिमले हार्दा नरमाइलो लाग्यो ।

जिम्बावेसँगको त्यो इनिङ्सपछि त दबाब अलिक कम हुनुपर्ने होइन ?
टिम योजनाअनुसार मैले कम्तीमा १०–१२ ओभर टिकेर खेल्नुपर्ने थियो । कति बल खेल्यो भन्ने महत्त्वपूर्ण हँुदैन्थ्यो । मैले त्यहीअनुसार खेले पनि लय भेटाउन सकिनँ । स्कटल्यान्डसँग हाम्रो ब्याटिङ पतन नै भयो । मैले आफ्नो कमजोरी लुकाउन खोजेको त होइन, तर म त्यो खेलमा इनसाइड एज लागेर एलबीडब्लू आउट हुनपुगे । जिम्बावे र अफगानिस्तानलाई टक्कर दिने तथा स्कटल्यान्ड र हङकङलाई जितेर सुपर सिक्समा पुग्ने टिमको लक्ष्य थियो । तर पहिलो दुई खेल हारेपछि मनोबल झरेजस्तो भयो ।

इभेन्ट म्यानेजमेन्टतिर बढी ध्यान गएर तपाईको प्रदर्शन खस्केको भन्ने पनि छन् नि ?
मैदानभित्र हुँदा पक्कै पनि मैले इभेन्ट सोचिरहेको हुन्न । मेरो जिम्मेवारी खेल्दा कसरी क्रिकेट राम्रो खेल्ने र मैदानबाहिर क्रिकेटलाई कसरी राम्रो गर्ने भन्ने हो । सबैको आ–आफ्नो बुझाइ र हेर्ने तरिका हुन्छ । मेरो सानो प्रयासले क्रिकेट भइरहेको छ, अगाडि बढ्छ भने किन नगर्ने । त्यसमा म खेलेको होस् वा नखेलेको होस् । विराट कोहली, महेन्द्रसिंह धोनीले खेल्दा खेल्दै फुटबलमा लगानी गरेका छन् । त्यसको मतलब उनीहरू पूरा व्यापारमै लागेको भन्ने होइन नि । नराम्रो चलिरहँदा मेरोबारेमा यस्तो आएको होला । तर मलाई त्यसले मेरो प्रदर्शन बिगारेको जस्तो लाग्दैन ।

तपाईको ढाड मुभमेन्ट भएन, निहुरिन सक्नुभएन भनेर विदशी मिडियामा आइरहेको छ, के हो कुरा । कतै तपाई चोट लिएरै खेल्नुभएको त होइन ?
मेरो ढाडमा त्यस्तो केही समस्या छैन । खुट्टामा अलिकति सानो समस्या थियो, खेल्नै नसक्ने भने होइन । कसरी त्यस्तो आयो मलाई थाहा छैन । पूर्ण फिट भएरै खेलेको हुँ ।

तपाईको ब्याटिङमा पूरा टिमले भरोसा लिएको हुन्छ । पारस खड्का र मध्यक्रम चलेको अवस्थामा तपाईको ब्याटिङ अलिकति चलेको भए नेपाल सुपर सिक्समा पुग्न सक्थ्यो होला जस्तो लागेन ?
एकदम लागेको थियो । स्कटल्यान्डसँगको खेलमा २ सय २० रनभन्दा माथि बनाएर स्पिनरले दबाब दिने भन्ने थियो । तर ब्याटिङ नै क्लिक हुन सकेन । १०–१२ ओभर म टिकेको भए पनि अरु ब्याट्सम्यानलाई कम दबाब पथ्र्यो । मेरै कारणले त्यो हुन नसकेको हो, त्यसको जिम्मेवारी म आफैं पनि लिन्छु ।

यसले आरिफ र रोहितजस्ता युवा ब्याट्सम्यानलाई कस्तो दबाब पाथ्र्यो ?
दबाब त परिहाल्थ्यो । मैले उनीहरूलाई सबैभन्दा ठूलो अवसर तिमीहरूलाई छ तर तिमीहरू उल्टो सोचिरहेका हुन्छौं त्यस्तो सोच्नुहुँदैन भनेर भन्थँे । युवा खेलाडी छौं हारेर गुमाउनु केही छैनौं भन्थेँ । पुराना खेलाडीलाई दबाब भए पनि तिमीहरूलाई अवसर हो भनेर सम्झाउने गर्थेँ । १० रन हाने पनि त्यो भन्दा बढी रन हाने पनि त्यसले भोलिको दिनमा आत्मविश्वास दिलाउने हो भनेर भन्थँे । राष्ट्रको प्रतिनिधित्व गरिसकेपछि जुनियर खेलाडीले पनि खेल जिताउन सक्छन् नि ।

तपाईको ब्याटिङ नचल्दा टिमले कतिको हौसला दिन्थ्यो ? प्रशिक्षक, कप्तान, ब्याटिङ परामर्शदाताले के भन्थे ?
टिमले कहिले पनि आउट अफ फर्म भयो खेल्न सकेनौं भनेर भनेन । मलाई स्पेस दिइरहेको थियो । कहिलेकाहिँ खराब फर्म हुन्छ भनेर भन्यो । ब्याटिङ परामर्शदाता उमेश पटुवालसँग मैले विगतमा प्रशिक्षण लिएको थिएँ । खेल्ने शैलीमा केही फरक छैन, खाली अहिले रन नलागेको मात्र हो । आत्मविश्वास देखिरहेको मात्र छैन । खेल्ने शटहरू ब्लक भएको हुनसक्छ । धेरै सोचेर हुनसक्छ । रन नहान्दा मनमा धेरै कुरा आउन सक्छ, त्यसमा ध्यान दिनु हुँदैन भन्नुहुन्थ्यो ।

भन्नाले तपाईलाई ओपनिङमा खेल्न गाह्रो भएको हो ?
यो मलाई लाग्दैन । धेरैले मलाई किन ओपनिङमा ब्याटिङ गरेको फस्ट डन वा मध्यक्रममै ठीक थियो भनेर सुझाव दिन्छन् । अहिले मैले टिमले दिएको जिम्मेवारी पूरा गर्न नसकेको हो । २ वर्षदेखि ओपनिङ गरिरहेको थिएँ । त्यति बेला सबै ठीक थियो किन ओपनिङ गरेको भनेर कसैले भनेनन् । खेल्न नसक्दा धेरै प्रश्न आउँछन्, यसले खुसी पनि बनायो किनभने मलाई लिएर ध्यानाकर्षण हुँदोरहेछ । म अझै पनि ओपनरकै भूमिका प्रमाणित गर्न चाहन्छु ।

प्रकाशित : चैत्र ७, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?