२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

त्रिविमा स्पोर्ट्स साइन्स पढाइने

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातकोत्तर तहमा स्पोर्ट्स साइन्स विषयको पठनपाठन सुरु गर्ने भएको छ । त्रिविले पहिलोपल्ट यो विषयको शैक्षिक तथा प्राज्ञिक कार्यक्रम ल्याएको हो ।

त्रिविमा स्पोर्ट्स साइन्स पढाइने

‘पहिलो पटक स्पोर्ट्स साइन्स विषयको कार्यक्रम एमएमा लागू गर्दैछौं,’ त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख गंगाबहादुर मगरले भने, ‘यही चैतमा प्रवेश परीक्षा लिने तयारी छ । यसपालि ३० विद्यार्थीले पढ्न पाउने छन् ।’

जुनसुकै विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीले स्पोर्ट्स साइन्स पढ्न पाउने छन् । यो विषयको पढाइ कीर्तिपुरमै हुनेछ । सेमेस्टर सिस्टम (चार सेमेस्टर) मा हुने कोर्स दुईवर्षे रहेको छ । विद्यार्थीले ६० प्रतिशत अंक भारको प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक कक्षा लिनुपर्नेछ ।


पहिलो सेमेस्टरमा स्पोर्टस साइन्सको परिचय, खेल मनोविज्ञान, खेल समाजशास्त्र, स्पोर्टस् इन्जुरी र फिजियोथेरापी पढाइने छ । त्यसैगरी दोस्रो सेमेस्टरमा बायोमेकानिक्स र खेलको वैज्ञानिक सिद्धान्त, स्पोर्टस ट्रेनिङ, कोचिङ साइन्स एण्ड अफिसियटिङ पढाइने छ । त्यस्तै, स्पोर्टस् मेडिसिन, एक्सरसाइज फिजिओलोजी, स्पोर्टस म्यानेजमेन्ट, स्पोर्टस् पेडागोजी, हेल्थ एण्ड फिजिकल फिटनेस, बल गेम्स पढाइने छ ।


तेस्रो सेमेस्टरमा रिसर्च मेथडलोजी, स्पेसलाइजेसन स्पोर्टस मेडिसिन, एक्सरसाइज फिजिओलोजी, स्पोर्टस म्यानेजमेन्ट, स्पोर्टस् पेडागोजी पढाइनेछ । फिल्ड गेम्सअन्तर्गत क्रिकेट, तेक्वानडो, कराते रहेका छन् भने टेस्ट, मेजरमेन्ट र किनाथ्रोपोमेट्री इन गेम्स एन्ड स्पोर्टस् र रेकेट गेम्समा टेबल टेनिस र ब्याडमिन्टन रहेका छन् ।


चौथो तथा अन्तिम सेमेस्टरमा विद्यार्थी शोधपत्र (थेसिस) बुझाउनु पर्नेछ । कोचिङ क्याम्प, खेल प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलविज्ञानको अनुसन्धान तथा सहभागिता, खेल विशेषज्ञता वा खेलकुद पत्रकारिता गर्नुपर्नेछ ।


मानविकी संकायअन्तर्गत यसै वर्ष सञ्चालनमा ल्याइएको नयाँ विषयमा स्पोर्ट्स साइन्स र ‘टुरिजम एन्ड हस्पिटालिटी’ रहेको निर्देशनालय प्रमुख मगरले बताएका छन् । त्रिविका निम्ति खेलकुद विषय नितान्त नौलो हो । यसबारेमा औपचारिक पठनपाठनले प्राज्ञिक जनशक्ति उत्पादन हुनेछ ।

प्रकाशित : चैत्र ७, २०७४ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?