कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सन्दीपसामु अर्को चुनौती

सन्दीप लामिछाने आईपीएलका लागि केही दिनमै दिल्ली जाँदै
सुबास हुमागाईं

काठमाडौँ — सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको दुई वर्ष पनि पुगेको छैन । यसबीच उनी लिस्ट–ए मा नेपालका लागि सर्वाधिक विकेट लिने सूचीमा तेस्रो नम्बरमा पुगिसकेका छन् ।

सन्दीपसामु अर्को चुनौती

राष्ट्रिय टोलीका लागि खेलेका २१ खेलमा सन्दीपले ४२ विकेट हात पारिसके । यो सोमपाल कामी (३७ खेलमा ५२ विकेट ) र वसन्त रेग्मी (३५ खेलमा ४५ विकेट) पछि सर्वाधिक हो । पछिल्लो दुई प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । विश्व क्रिकट लिग डिभिजन २ बाट विश्वकप छनोट हुँदै नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँदा सन्दीप नायक रहे । डिभिजन–२ को ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित सन्दीपले विश्वकप छनोटका ६ खेलमा १३ विकेट हात पारे । जिम्बावेमा भएको विश्वकप छनोटमा उनले सबै खेलमा विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको निर्णायक खेलमा उनले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको थियो, जुन वान–डे मान्यता पाउन निर्णायक बन्यो ।

नेपालको उक्त सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका सन्दीप सामूहिक प्रयासका कारण यो सम्भव भएको बताउँछन् । ‘म टोलीका सदस्यमध्ये एक हुँ । सबै खेलाडीको आ–आफ्नो भूमिका र महत्त्व हुन्छ । जसरी मैले मेरो भूमिका निर्वाह गरें, अन्य खेलाडीले पनि कुशलतापूर्वक आफ्नो भूमिका खेलेकाले हामी सफल भएका हौं,’ सन्दीपले थपे, ‘मेरो व्यक्तिगत सफलता पनि टोलीकै सफलता मान्नुपर्छ । मैले बलिङ गर्दा फिल्डिङ गर्ने खेलाडी नहुने हो भने मैले विकेट लिन सक्ने थिइनँ । सबैको सामूहिक प्रयासले म यहाँसम्म आइपुगेको हुँ । ’

नेपालले यसअघि सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । वान–डे विश्वकपमा छनोट हुन नसकेपनि सन्दीप आगामी ट्वान्टी–२० विश्वकपमा भने नेपालको बलियो सम्भावना देख्छन् । ‘हामीले वान–डे विश्वकप छनोटमा ठूला टोलीसँग खेल्यौं । वान–डे विश्वकप अब अझै चार वर्षपछि छ । त्यसअघि ट्वान्टी–२० विश्वकप खेल्ने लक्ष्य छ । नेपालले त्यो स्तरमा पहिले पनि खेलेको थियो र अब त्यसलाई दोहोर्‍याउन आतुर छौं, उनले लक्ष्य सुनाए ।

अघिल्लो महिनामात्र इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनबाट दिल्ली डेयरडेभिल्समा अनुबन्धित सन्दीपले आईपीएलबाट आफू अझै निखारिने विश्वास लिएका छन् । ‘मैले आईपीएलमा छनोट हुनुलाई निकै ठूलो अवसरका रूपमा लिएको छु । यो अवसरको सक्दो सदुपयोग गर्नेछु । आईपीएलमा मैले व्यक्तिगत नभएर पूरै नेपालको प्रतिनिधित्व गर्नेछु भन्ने आभाष भएको छ । त्यसैले पनि मैले देशका लागि खेल्नुपर्छ भन्ने छ,’ सन्दीपले भने ।

गत सिजन अफगानिस्तानका रशिद खानले आईपीएलमार्फत् आफूलाई विश्व क्रिकेटको उदाउँदा स्टारका रूपमा उभ्याएका थिए । अहिले उनी सीमित ओभरको क्रिकेटमा विश्वकै उत्कृष्ट बलर सूचीमा अटाएका छन् । उनकै प्रदर्शनका कारण यस सिजन अफगानी मुजिब उर–रहमान जस्ता युवा खेलाडीले आईपीएलमा ठूलो अनुबन्धन पाए । सन्दीपले आईपीएलमा आफूलाई सिद्ध पारेको खण्डमा अन्य नेपाली खेलाडीको पनि विदेशी लिग खेल्ने सम्भावना बन्नेछ । सन्दीप आफैं पनि यो कुरा स्वीकार्छन् ।

आईपीएलसँगै सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा पनि परेका थिए । उनले सीपीएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल्दै छन् । लगातारको सफलता बाबजुद सन्दीप आफूमा अझै सुधार गर्ने धेरै पाटो रहेको बताउँछन् । ‘मैले अझै लामो यात्रा तय गर्नु छ । प्रत्येक दिन मैले आफूलाई सुधार गर्दै लैजाने छु । मेरा अगाडि हरेक दिन नयाँ चुनौती खडा हुन्छ र तिनलाई परास्त गर्नु मेरो लक्ष्य हो । लक्ष्य प्राप्तिका लागि मैले हरेक दिन कडा परिश्रम जरुरी छ र म त्यसमै पूर्ण समर्पित छु,’ उनले भने ।

सन्दीप केही दिनमै आईपीएलका लागि दिल्ली जाँदै छन् । उनले त्यहाँ पनि आफूले पाएको भूमिकामा सक्दो राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । ‘जसरी मैले अहिलेसम्म आफ्नो भूमिका निभाउन सकेको छु । त्यहाँ पनि म सोही लक्ष्यसाथ अगाडि बढ्नेछु । आईपीएल निकै ठूलो प्लेट फर्म हो । त्यहाँ मैले केही गर्न सकें भने मेरो करिअरमा निकै सहयोग पुग्नेछ । मैले आईपीएलको अनुभवले राष्ट्रिय टोलीमा अझै राम्रो प्रदर्शन गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु,’ सन्दीपले भने ।

आईपीएल ट्वान्टी–२० फम्र्याटको भए पनि यसले समग्र क्रिकेटमै सहयोग पुग्ने सन्दीप बताउँछन् । ‘आईपीएल २० ओभरको खेल भए पनि बेसिक क्रिकेट भने सबैमा समान हुन्छ । प्रशिक्षणका दौरान मैले धेरै कुरा सिक्न पाउँछु, जसले मेरो क्षमता विकासमा सहयोग पुग्नेछ । यदि खेल्न पाएँ भने आफूलाई सिद्ध पार्न कुनै कसुर छाड्ने छैन,’ सन्दीपले सुनाए । आईपीएलमा दर्शकको ठूलो भीडमा थप दबाब होला भन्नेबारे प्रश्नमा सन्दीप भन्छन्, ‘नेपालमा मैले हजारौं दर्शकमाझ खेलिसकेको छु । त्यसैले पनि त्यहाँ घरमै खेलेजस्तो लागेर थप उर्जा मिल्नेछ ।’

प्रकाशित : चैत्र ८, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?