क्रिकेट मैदान स्तरोन्नतिमा तीव्रता

विनोद भण्डारी

विराटनगर — बैजनाथपुर रंगशलामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच निर्माण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणमा १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेसँगै निर्माण कार्यले तीव्रता पाएको हो ।

क्रिकेट मैदान स्तरोन्नतिमा तीव्रता

एक वर्षभित्र देशमै पहिलोपटक वान–डे अन्तर्राष्ट्रिय खेलको आयोजना गर्न सकिने गरी प्यारापिटसहितको मैदान तयार हुने राखेप सदस्य सचिव केशवकुमार विष्टले बताए । यो क्रिकेट पिचमा सम्भवत: नेपालको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय आयोजना हुने विश्वास विष्टको छ । साताअघि जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रियको मान्यता दिएको थियो ।


सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषको क्रिकेट स्पर्धा यही मैदानमा आयोजना गरिएको थियो । उक्त प्रतियोगिता आयोजनाका लागि राखेपले ६० लाखको लागतमा टर्फ विकेट निर्माण गरी ३५ यार्डसम्म घाँसे मैदान र बाँकी २५ यार्डमा माटो भरेर प्रतियोगिता सञ्चालन गरेको थियो ।


हाल उक्त मैदानको पूरै क्षेत्रफलमा माटो भरेर घाँस उमार्ने र पुरानो टर्फ विकेटलाई भत्काएर नयाँ गुणस्तरीय टर्फ विकेट निर्माण कार्य भइरहेको छ । विष्टले यसका लागि आवश्यक बजेट थप हुने र अब बन्ने क्रिकेट पिच अन्तर्राष्ट्रियस्तरको प्यारापिटसहित पूर्ण घाँसे मैदान हुने बताए ।


मैदानको सबै क्षेत्रफलमा एक फिट माटो भरेर वरिपरि नाला बनाउने काम भइरहेको छ । मैदानलाई चारैतिर घेराबारा गर्ने र जाली लगाउने काम पनि जारी छ । ‘मैदानमा खेलाडी र प्रशिक्षक बस्ने बक्स, साइड स्क्रिन र स्कोर बोर्डको पनि निर्माण गरिनेछ । एक वर्षभित्र निर्माण पूरा गरेर नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय क्रिकेट म्याच यही मैदानमा गर्ने राखेपको सोचका कारण निर्माण कार्यलाई तीव्रता दिइएको हो,’ विष्टले भने ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?