कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टंक पहिलोपल्ट च्याम्पियन

काठमाडौँ — टंकबहादुर कार्कीले अन्तिम दिन शुक्रबार गोकर्ण गल्फ क्लबमा १ अन्डर ७१ स्कोर गर्दै नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

टंक पहिलोपल्ट च्याम्पियन

टंकले पहिलोपल्ट नेपाल एमेच्योर उपाधि जित्ने क्रममा ५४ होलमा कुल सात अन्डर २ सय ९ स्कोर गरे । उनले पहिलो दिन दुई अन्डर ७० र दोस्रोमा चार अन्डर ६८ स्कोर गरेका थिए । ‘अभ्यासको क्रममा दायाँ हातमा चोट लागेको थियो । त्यसैले ६ साता आराम गरी बिनातयारी नै प्रतियोगितामा सहभागी हँुदा निकै गाह्रो भयो । तैपनि उपाधि जित्न पाएकामा खुसी छु,’ २६ वर्षीय टंकले भने । उनले ६ महिनाअघि थिम्पुमा भएको भुटान एमेच्योर ओपनको उपाधि पनि जितेका थिए ।


चार स्ट्रोक पछाडि रहेर फाइनल चरणको खेल सुरु गरेका टंकले भने, ‘हिजोभन्दा राम्रो गर्ने सोचेको थिएँ तर उपाधि नै जित्छु भन्नेचाहिँ लागेको थिएन ।’ अन्तिम दिन दुई अन्डर ७० को कार्ड बनाएका पृथ्वी मल्ल कुल दुई ओभर २ सय १८ सहित उपविजेता भए । अघिल्लो दिन शीर्षस्थानमा रहेका तासी छिरिङको स्कोर पनि उति नै रह्यो । तर पृथ्वीले पछिल्ला ३६ होलको स्कोरमा गत वर्षको विजेता तासीलाई उछिन्दै दोस्रो स्थान हात पारेका हुन् ।


अघिल्लो दिन शीर्षस्थानमा रहेका तासी अन्तिम दिन खराब प्रदर्शन गर्दै १२ ओभर ८४ स्कोर गरेपछि तेस्रो स्थानमा पुगेका हुन् । उनले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै नौ अन्डर ६३ स्कोर गरेका थिए तर उक्त प्रदर्शनलाई शुक्रबार निरन्तरता दिन सकेनन् । शुक्रबहादुर राई कुल चार ओभर २ सय २० स्कोरसहित चौथोमा रहे । पाँचौं स्थानमा रहेका वान्चेन धोन्डुपले पाँच ओभर २ सय २१ को कार्ड बनाए । अन्तिम दिन शुक्रले ७५ र वान्चेनले ७१ स्ट्रोक खेलेका थिए ।


अन्तिम दिन ६ ओभर ७८ खेले पनि सुवास तामाङ नौ ओभर २ सय २५ स्कोरसाथ यू–१६ तर्फ पहिलो भए । उनी समग्रमा छैटौंमा रहे । विनोद तामाङ १५ ओभर २ सय ३१ स्कोरसहित यू–१६ स्पर्धामा दोस्रोमा रहे । क्लबहरूको प्रतिस्पर्धामा हिमालयन गल्फ क्लब, पोखराका अजित बिके र सुवास तामाङ पहिलो भए । टिम स्पर्धामा टंकबहादुर कार्की र शुक्रबहादुर राईले पहिलो स्थान हात पारेका थिए ।

वर्ष (सन्) विजेता/देश
२००३ सिद्धिकुर रहमान/बंगलादेश
२००४ सिद्धिकुर रहमान/बंगलादेश
२०१३ त्रिशूल चिनप्पा/भारत
२०१४ देछेन उगेन/भुटान
२०१५ अरुण तामाङ/नेपाल
२०१६ मोहम्मद रिप्पोन/बंगलादेश
२०१७ तासी छिरिङ/नेपाल
२०१८ टंकबहादुर कार्की/नेपाल

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?