२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मनाङ सेमिफाइनलमा

मदन भण्डारी गोल्डकप

बुटवल — मनाङ मस्र्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

मनाङ सेमिफाइनलमा

मानव ज्ञान माविको मैदानमा बिहीबार मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेको थियो ।

मनाडलाई अन्तिम चारमा पुर्‍याउन दुवै गोल अञ्जन विष्टले गरेका थिए । अग्रता कायम राख्न नसक्दा बुटवलकै तिलोत्तमा गोल्डकपको उपविजेता पुलिस भने पहिलो खेलबाटै विदा भएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको १४ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तेजले पेनाल्टी बक्सभित्र प्राप्त बलमा चलाखीपूर्ण पारामा गोल गरेका थिए । मध्यान्तरसम्म थप गोल हुन नसकेको खेलको दोस्रो हाफमा मनाङले सुधारिएको खेल पस्क्यो । मनाङबाट अञ्जनले ६१ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । उनले भिक्टरको पास सदुपयोग गरेका थिए । बराबरीपछि आफ्नो लय समातेको मनाङले फेरि गोल थप्यो । अञ्जनले ७५ औं मिनेटमा गोल थप्दै टोलीलाई २–१ को स्थितिमा पुर्‍याए । कर्नरबाट आएको बललाई भिक्टरले मिलाइदिएपछि अञ्जन गोल गर्न चुकेनन् ।

मनाङले अग्रता लिएपछि बराबरी गर्न पुलिसले निकै प्रयास गर्‍यो । तर सफल भएन । सुमन लामा र रवि पासवानका प्रयास मनाङका गोलरक्षक दिनेश थापाले बचाए । दोस्रो हाफमा पुलिसले रविन श्रेष्ठ र भोला सिलवाललाई मैदान छिराएको थियो । उनीहरूको आगमनले खेल केही सुधारिए पनि गोल हुन सकेन ।

पुलिसका प्रशिक्षक अनन्त थापाले टिममा समन्वय र बलमा फोर्स कम हुँदा हार्नुपरेको बताए । खेलाडीबीच असन्तुलनका बाबजुद निकै सुस्त गतिमा आएको बलसमेत किपरले समात्न नसक्दा गोल खानुपरेको उनले सुनाए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले मध्यम स्तरको खेल खेले पनि जित निकाल्न सकेको बताए । दोहाबाट बुधबार राति फर्केका राष्ट्रिय टोलीका कप्तान विराज महर्जन र विशाल राईलाई बिहीबार मैदान उतार्ने भनिए पनि फ्लाइट डिले भएका कारण उनीहरू अनुपस्थित रहे ।

सेमीफाइनलमा उनीहरूसहित केही खेलाडी थप्ने लोप्साङको योजना छ । मनाङले साबिक विजेता सुनौलो संगम रूपन्देहीसँग शनिबार खेल्नेछ । मनाङका अञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

शुक्रबार आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : चैत्र १६, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?