उपाधितिर लम्कँदै आर्मी

राजर्षि जनक गोल्डकप
अमन कोइराला

सर्लाही — वागमती मैदानमा बिहीबार राजर्षि जनक गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई २–१ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनल पुगेको छ ।

उपाधितिर लम्कँदै आर्मी

आर्मीको जितमा दुवै गोल जर्जप्रिन्स कार्कीले गरेका थिए ।

सुरुआतमा आर्मीका खेलाडीले दबाब कायम गर्दै दर्शकलाई आफ्नो पक्षमा तानेका थिए । २१ औं मिनेटमा आर्मीका स्ट्राइकर भरत खवास घुँडामा चोट बोक्दै बाहिरिए । उनको सरस्वतीका जाङ्बु शेर्पासँग बल खोस्ने क्रममा घुँडा ठोक्किएको थियो । उनी बाहिरिएपछि आर्मीको खेल रक्षात्मक हुने अपेक्षा गरिएको थियो । तर २४ औं मिनेटमा आर्मीका जर्जप्रिन्सले दीप लामाको पासमा गोल गरेर टोलीलाई अग्रता दिलाए । गोलपछि आर्मीका खेलाडीले उत्साहित भएर खेलमा दबाब राखे पनि अर्को गतिलो प्रहार गर्न सकेनन् ।

खेलको ३४ औं मिनेटमा सरस्वतीले प्राप्त फ्रि–किकमा गोल गर्दै खेल बराबरी गर्‍यो । योगेश गुरुङको पासमा पियुस हेनरीले हेड गोल गरेका थिए । बराबरीपछि आर्मीमाथि लगातार दबाब राख्दै मध्यान्तरसम्म सरस्वतीले खेल एकतर्फी बनायो ।

सर्लाही ११ लाई हराएर आर्मी र नेपाल पुलिसलाई हराएर सरस्वती अन्तिम चारमा पुगेका थिए । मध्यान्तरपछि दुवै टोली आक्रामक खेल्ने रणनीतिसहित मैदान उत्रिए । लगत्तै आर्मी विपक्षीमाथि हाबी भयो । त्यसै क्रममा आर्मीले तीनपटक गोल गर्ने राम्रो अवसर सदुपयोग गर्न सकेन । स्ट्राइकरको अभाव टोलीमा खट्किएको थियो ।

जर्जप्रिन्सले अन्तिम एक मिनेट बाँकी हुँदा गोल गरेर टिमको जित सुनिश्चित बनाए । इन्ज्युरी समय सदुपयोग गर्दै उनले पेनाल्टी बक्समा पाएको बलमा गतिलो प्रहार गर्दा सिधै गोलमा परिणत भएको थियो ।

शनिबार उपाधिका लागि आर्मी र सुदूरपश्चिम ११ भिड्दै छन् । वागमती युवा क्लबको आयोजनामा भएको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।

प्रकाशित : चैत्र १६, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?