३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धनगढी प्रिमियर लिग (डीपीएल): आरोह–अवरोह

विनोद पाण्डे

धनगढी — विभिन्न आरोह–अवरोहपछि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अहिलेको स्थितिमा आइपुगेको छ ।

धनगढी प्रिमियर लिग (डीपीएल): आरोह–अवरोह

कुल २५ हजारको बजेटमा ८ वर्ष होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिता गरेको सुवास शाहीलाई आजै हो जस्तो लाग्छ । डीपीएलको सेरोफेरोले अहिले सुदूरपश्चिमकै क्रिकेट कायापलट हुने स्थितिमा पुगेको छ ।

इच्छाशक्ति र मिहिनेतले कति परिवर्तन आउँछ त्यो डीपीएल हेरे नै पुग्छ । डीपीएल अहिले देशकै प्रमुख प्रतियोगितामा पर्छ । यसको अनुमानित बजेट ३ करोडभन्दा माथि छ । त्यसमा फ्रेन्चाइज टोलीले गर्ने खर्च छुट्टै हुन्छ । ६ फ्रेन्चाइज टोलीले पनि लगभग २ करोड वा त्योभन्दा बढी खर्च गर्ने सम्भावना रहन्छ ।

अक्सनमा एउटा फ्रेन्चाइज टोलीले १२ खेलाडी खरिद गर्न ११ लाख खर्च गर्न पाउने प्रावधान थियो । त्यसबाहेक रणनीतिक खेलाडी र दुई विदेशी खेलाडीको राशि जोड्दा यो खर्च झन्डै २० लाखको हाराहारी हुन आउँछ । विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार राशिले डीपीएललाई सर्वाधिक धनराशिको पुरस्कारमा उभ्याएको छ । पहिलोपल्ट विदेशी खेलाडी पनि उत्रन लागेकाले डीपीएलले नयाँ उचाइ लिने आयोजकको विश्वास छ ।

गत महिनामात्र जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता घरेलु क्रिकेटमा हुन लागेको यो बृहत प्रतियोगिता हो । ‘नेपालले पाएको ठूलो सफलतामध्ये एक वान–डे अन्तर्राष्ट्रियपछिको यो पहिलो प्रतियोगिता हो, त्यसैले हामी खेलाडी निकै उत्साही छौं,’ राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने । उनी बलियो देखिएको विराटनगर किंग्सका कप्तान हुन् ।

धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयमा हुने प्रतियोगितामा नेपाली क्रिकेटको ढुकढुकी अडिएको छ । अक्सनबाटै बलियो बनेको पारसको टोलीले के उपाधि उचाल्ला ? टिम चौराह धनगढीले जितेर यहाँको क्रिकेटमा ह्याट्रिक गर्ला ? दुई राम्रा विदेशी खेलाडी र राष्ट्रिय टोलीका तीन प्रमुख युवा खेलाडी रहेको महेन्द्रनगर युनाइटेडको उपाधि दौडमा कहाँसम्म पुग्ला ? यस्तै प्रश्नले डीपीएल झन्डै दुई साता चर्चाको विषय बन्नेछ ।

समग्रमा डीपीएल नेपाली क्रिकेटको नयाँ गन्तव्य हो, जसले सुदूरपश्चिमको क्रिकेटलाई नयाँ जीवनदान दिएको छ । नेपाललाई वान–डे अन्तर्राष्ट्रिय मान्यता दिलाउने राष्ट्रिय टोलीका तीन सदस्य दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ र ललितसिंह भण्डारी सुदूरपश्चिमकै हुन् ।

विनोद भण्डारी, नरेश बुढाएर, धिरेन्द्र चन्द, चन्द्र साउद, प्रदीप ऐरी, भुवन कार्की, राजु रिजाल र सुनील धमलाले यही क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । त्यसमा धिरेन्द्र चन्दबाहेक अरु सबै हालै नेपालबाट खेलेका खेलाडी हुन् र डीपीएलमै गरेको प्रदर्शनबाट उनीहरू अहिले पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्न आतुर छन् ।

नेपालले आईसीसी यू–१९ विश्वकपको क्वाटरफाइनल पुग्दा बंगलादेशी भूमिमा सुदूरपश्चिमकै योगेन्द्रसिंह कार्की, राजु रिजाल, सुनील धमला, प्रेम तामाङले युवा टोलीबाट खेलेका थिए । एसीसी यू–१६ जित्ने रोशन अधिकारी र सुबोध ऐरी पनि सुदूरका हुन् । एक समय थियो सुदूरपश्चिमको प्रतिनिधित्व अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय टोलीका धिरेन्द्र चन्द र यू–१९ मा प्रेम चौधरीमात्र थियो ।

धनगढीमा हुने क्रिकेट चहल–पहलले नेपाली क्रिकेट यो स्थितिमा आइपुगेको दावी गर्छन् नेपाल क्रिकेट संघका पूर्वसदस्य धिरेन्द्र साउद । डीपीएलका आयोजक धनगढी क्रिकेट एकेडेमीका निर्देशक साउदले भने, ‘हाम्रो क्यालेन्डरसहित कार्यक्रम र प्रतियोगिताहरू भइरहेका छन् । पहाडी जिल्ला भए पनि क्रिकेट गतिविधि शून्य छैन । डीपीएलजस्ता ठूला प्रतियोगिताले सुदूरपश्चिमलाई मात्र नभई नेपाली क्रिकेटलाई उचाइमा पुरयाएको छ, त्यसमा कुनै शंका छैन ।’

साउदको जन्मभूमि अछाम हो । अछाममा भर्खर मेयर कप भएको छ र वैशाखको दोस्रो साता गहुँबाली भित्राएपछि नयाँ वर्षका अवसरमा मंगलसेन नगरपालिकामा जिल्लास्तरीय प्रतियोगिता हुँदै छ । १५ भन्दा बढी स्थानीय टोलीको सहभागिता रहने यस प्रतियोगिताको विशेषता भनेको गहुँ काटिसकेपछि गराको बीचमा पिच बनाएर खेल आयोजना गर्नु हो । यो प्रतियोगिता यस क्षेत्रको अर्को पहिचान हो ।

राजु रिजाल र एकसमय नेपाली तीव्र बलिङमा आस देखाएका यज्ञमान कुमाल अछामकै हुन् । धिरेन्द्रले बैतडीको प्रतिनिधित्व गरेका थिए । भुवन कार्की र सुनील धमला कैलालीका हुन् भने विनोद, नरेश, चन्द्र, प्रदीप कञ्चनपुरका हुन् । साउदका अनुसार डीपीएलले डोटी, डडेलधुरा लगायत अन्य जिल्लामा पनि ठूलो प्रभाव पारेको छ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा कर्मथलो राजधानी केन्द्रित भए पनि उनको जन्मथलो कैलालीको टीकापुर हो ।

२०५१ सालमा कैलालीले जय ट्रफी राष्ट्रिय क्रिकेट आयोजना गरेको थियो । त्यसको साढे दुई दशक बित्न लाग्दा पनि मैदानको स्थितिमा कुनै फरक आएको छैन । जय ट्रफी भएकै मैदान संघीय ट्राफिक प्रहरी कार्यालय मैदानमा डीपीएलका खेलहरू आयोजना हुन लागेका छन् । जय ट्रफी म्याट विकेटमा भएको थियो । डीपीएलका लागि झन्डै दुई महिना लगाएर टर्फ विकेट बनाइएको छ । दर्शकलाई स्थायी प्यारापिट बनाइएको छ । अन्य यथावत छ ।

सुदूरपश्चिमका प्रमुख समस्या भनेको अन्य स्थानको जस्तै मैदान नै हो । सुदूरपश्चिम क्रिकेटका अभियन्ता सुवास शाहीको टोलीले ‘ड्रिम फाप्ला’ अभियान ल्याए पनि यसले जीवन्त रूप लिन सकेको छैन । बजेटमा आएर ड्रिम फाप्लाको महत्त्वाकांक्षाहरू रोकिएको छ । डीपीएल जस्तो ठूलो प्रतियोगिता भए पनि अभ्यासका लागि पर्याप्त मैदान देखिएका थिएन । सामान्य चौरको अवस्थामा रहेको ड्रिम फाप्लामा शुक्रबार विराटनगर किंग्स र सीवाईसी अत्तरियाले सामान्य हिसाबमै अभ्यास गरेका थिए ।

अध्यक्ष शाही डीपीएलजस्ता प्रतियोगिता ड्रिम फाप्ला निर्माणलाई दबाब दिन पर्याप्त हुनेमा विश्वास राख्छन् । बहुमतको सरकार भएको अवस्थामा ड्रिम फाप्ला रंगशालामा ४० हजार दर्शकले डीपीएल र नेपालले वान–डे अन्तर्राष्ट्रिय खेल खेलिरहेको सपना देख्छन् उनी ।

यस्ता छन् प्रतिद्वन्द्वी


सीवाईसी अत्तरिया
कप्तान : सुवास खकुरेल
‘हामीसँग यू–१९ का धेरै खेलाडी छन्, त्यसैले ब्याटिङ र फिल्डिङ बलियो छ । स्पिनमा अलि कमजोर छौं । एक सातादेखि हामी अभ्यासमा छौं । टिम व्यवस्थापन एकदम राम्रो छ, यसले उर्जा मिलेको छ । सुरुको लक्ष्य हाम्रो प्ले–फ हो । अत्तरियाले राम्रो खेल्नेमा आश गर्छौंं ।’
रणनीतिक खेलाडी : दीपेन्द्रसिंह ऐरी
खेलाडी : कुशल भूर्तेल, सन्दीप जोरा, सुवर्णकार उराव, प्रेम तामाङ, कमलसिंह ऐरी, विनोद लामा, भुवन केसी, सागर भण्डारी, आकाश थापा, रोमन बम ।
विदेशी खेलाडी : गौरव चितकार (भारत), विपिन चन्द (भारत)
प्रशिक्षक : दीपेन्द्रप्रताप सिंह
– – –


विराटनगर किंग्स
रणनीतिक खेलाडी : पारस
खड्का (कप्तान)
‘समग्रमा लक्ष्य प्रतियोगिता जित्ने हो । राम्रो क्रिकेट खेल्ने । टी–२० जहिल्यै इन्टरटेनिङ गेम हुन्छ । धनगढीमा खेल्न एकदमै मजा आउँछ । यहाँको क्रेज क्रिकेटप्रतिको माया देखेर जोस आउँछ । प्रत्येक खेलसँगै अगाडि बढ्ने छौं, पहिलो लक्ष्य भनेको प्लेअफमा ठाउँ बनाउने हो ।’
खेलाडी : वसन्त रेग्मी, पृथु बाँस्कोटा, पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलीप नाथ, अनिलकुमार साह, पूरन बिक, अविनाश बोहोरा, मन्जित श्रेष्ठ, फिर्दोश अन्सारी, सुबोध ऐर ।
विदेशी खेलाडी: बाबर हायत (हङकङ), शुभम कामत (भारत)
सहायक प्रशिक्षक : शंकर राना
महेश रिजाल (प्रशिक्षक) : जित्नु नै लक्ष्य हो, तयारी पनि त्यसैअनुरुप छ । एक साता काठमाडौंमा र दुई दिन धनगढीमा तयारी गर्‍यौं । सबै खेलाडी त न खेलिरहेका छन्, त्यसैले सबै टचमै छन् । टिम सन्तुलित र ब्याटिङमा धेरै विकल्प छ । दुई विशेषज्ञ स्पिनर छन् । अलराउन्डर धेरै छन् । सबै खेलाडीको आ–आफ्नो भूमिका छ, विदेशी खेलाडी भर पर्नुपर्ने हाम्रो टिम होइन ।
– – –


टिम चौराह धनगढी
रणनीतिक खेलाडी : सोमपाल कामी
खेलाडी : योगेन्द्रसिंह कार्की, ललितसिंह भण्डारी, सोनु तामाङ, राजेश पुलामीमगर, विजय राना, शंकर राना, रवीन्द्रजंग शाही, शम्साद शेख, राजु रिजाल, आसु कन्दोइ, सुनील धमला, महेश अधिकारी ।


विदेशी खेलाडी : रोहन मुस्ताफा (यूएई) र पुनित मिश्रा
शेरबहादुर लामा (प्रशिक्षक) : पहिलोपल्ट नेपालमा यस्तो मौका पाउदा मलाई खुसी लागेको छ । टिम चौराह डिफेन्डिङ च्याम्पियन हो । त्यसैले यसपल्ट पनि जिताउने प्रयासरत हुनेछ । टिम संयोजन राम्रो छ । रोहन मुस्ताफा जस्ता खेलाडी भएकाले टिममा धेरै आशा छ । ५ दिनदेखि अभ्यास गरेका छौं, खेलाडीलाई एकापसमा चिन्ने अवसर पायौं । तयारी पनि राम्रो छ । टिम सन्तुलित छ । अर्को विदेशी खेलाडी भनेको पुनित मिश्रा पनि राम्रो ब्याट्सम्यान हुन् ।

सोमपाल : हाम्रो टिम संयोजन धेरै राम्रो छ । ओपनिङ ब्याटिङदेखि मध्यक्रम राम्रो छ । बिग हिटर सोनु तामाङ पनि छ । देव्रेहाते स्पिनर, अफ स्निपर, देव्रेहाते र दाहिने हाते तीव्र बलर सबै राम्रो छन् । कन्डिसन धेरै राम्रो नभए पनि सबैले राम्रो खेल्दै आएका छन् । हाम्रो लक्ष्य उपाधि जित्नु नै हो । मलाई चाहिँ विदेशीभन्दा नेपाली खेलाडीमा विश्वास छ । दुई विदेशी खेलाडीले पुरै प्रतियोगिता नै जिताउँछ भन्ने होइन । उनीहरूले सहयोगी भूमिका खेल्ने हो, उपाधि जित्न राम्रो खेल्नुपर्ने नेपाली खेलाडीले हो ।
– – –


काठमाडौं गोल्डेन्स
रणनीतिक खेलाडी : ज्ञानेन्द्र मल्ल (कप्तान)
‘टिम सन्तुलित छ । बलिङ बलिया छ । स्पिन अट्याक राम्रो छ । हामीसँग भेराइटी छ । ब्याटिङ पनि राम्रै छ । यो कन्डिसनमा कतिको क्लिक हुन्छ त्यसले महत्त्व गर्छ । हाम्रो टिम विदेशी खेलाडी जयकिसन र सन्नी पटेलमा पनि भरपर्छ । उनीहरूले टिम राम्रो बनेको छ ।’
खेलाडी : नरेश बुढाऐर, ललित राजवंशी, अमित श्रेष्ठ, शाहब आलम, किशोर महतो, सन्तोष भट्ट, रशिद खान, पुष्प थापा, सञ्जय श्रेष्ठ, भूपेन्द्र थापा, विक्रम ठगुन्ना र सञ्जय बस्नेत ।

विदेशी खेलाडी : जयकिशन कोल्सावाला र सन्नी पटेल (भारत) राजु बस्न्यात (प्रशिक्षक) : टिम तयारी राम्रो छ । काठमाडौंमा पनि ८–१० दिनको क्याम्प राखेका थियौं । हामीले क्याटगोरी ‘ए’ बाट कम र ‘बी’ बाट राम्रो खेलाडी लिएका थियौं । हाम्रो शक्ति भनेको स्पिन हो । तीन राम्रा मिडियम पेस बलर छन् । नम्बर ८ सम्म व्याटिङ गर्ने खेलाडी छन् । प्रतियोगिता जित्ने लक्ष्य हो । हाम्रो जुन खालको टिम छ, बलिङ–ब्याटिङ सक्षम छ । हाम्रो उत्कृष्ट भनेको युवा खेलाडी हुन् । फिल्डिङ पनि उत्कृष्ट छ ।
– – –


रूपन्देही च्यालेन्जर्स
रणनीतिक खेलाडी : शक्ति गौचन (कप्तान)
खेलाडी : सागर पुन, सुशन भारी, सिद्धान्त लोहनी, विक्रमकुमार भुसाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, कुशल मल्ल, मोहम्मद सोनु अन्सारी, अमरसिंह राउटेला, दिपेश श्रेष्ठ, विपिन खत्री, प्रकाश जैसी ।
विदेशी खेलाडी : दीपक प्रसाद (भारत), सुफ्यान मोहम्मद (ओमान)
प्रशिक्षक : जंगबहादुर थापा
– – –


महेन्द्रनगर युनाइटेड
रणनीतिक खेलाडी : विनोद भण्डारी (कप्तान)
‘टिम सब ठीक छ । पोहोर भन्दा यसपालि टिम राम्रो छ । हाम्रो लक्ष्य भनेको सिधै फाइनल जित्ने हो । एउटा एउटा खेल गरेर हिँड्ने हो । हामी गत वर्ष खेल हार्दै जाँदा रनरेटको पनि चक्करमा थियौं । यसपालि त्यो नहोला । विदेशी खेलाडी आउँदा झन् राम्रो भएको छ ।’
खेलाडी : करण केसी, आरिफ शेख, भुवन कार्की, रोहितकुमार पौडेल, हरिशंकर साह, अविनाश कर्ण, प्रनीत थापामगर, आशिफ सेख, अरुण ऐरी, नारायण जोशी, रोबिन क्षेत्री, दीपेन्द्र चन्द ।
विदेशी खेलाडी : पुनीत विष्ट (भारत), पुनीत मेहरा (भारत)
विनोद दास (मेन्टर) : सम्भवत अहिलेको टुर्नामेन्टमा
हामी उत्कृष्ट टिम हौं, नभए पनि उत्कृष्टमध्ये एक टिम हौं । तीन खेलाडी नेपाल टिमबाट खेलेर आएका छन् । बाँकी खेलाडीका लागि ६ दिने क्याम्प लगाएको थियौं महेन्द्रनगरमा । हामी पूर्ण रूपमा प्रतियोगितालाई तयार छौं । ट्वान्टी–२० प्रतियोगितामा जे पनि हुनसक्छ, त्यसैले
सुरुआत राम्रो गर्न चाहन्छौं । यसपालि नयाँ सोचले
खेल्ने छौं । हाम्रो क्षमता लगाएर खेल्ने छौं, अरुका बारे चिन्ता छैन ।

आजको खेल
टिम चौराह धनगढीविरुद्ध
काठमाडौं गोल्डेन्स


तयारी ...

प्रकाशित : चैत्र १७, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?