१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रशिक्षक अरुणकुमार अर्याल र पूर्व कप्तान राजु खड्का सम्मानित

विनोद पाण्डे

धनगढी — प्रशिक्षक अरुणकुमार अर्याल र नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्का उनीहरुको क्रिकेट योगदानका लागि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन दिन सम्मानित भएका छन् ।

प्रशिक्षक अरुणकुमार अर्याल र पूर्व कप्तान राजु खड्का सम्मानित

डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमीले शनिबार अर्याललाई ‘अर्जुन खड्का स्मृति सम्मान’ पुरस्कार र खड्कालाई पूर्व खेलाडीलाई दिइने ‘धनगढी क्रिकेट सम्मान’ बाट पुरस्कृत गरेका हो । दुवैलाई नगद १ लाख रुपैयाँसहित ताम्रपत्र प्रदान गरिएको थियो । विगतमा यो सम्मान पुबुदु दासानायके, प्रफुल्ल वैद्य, जगत टमाटा, जंगबहादुर थापालाई प्रदान गरिएका थियो ।


धनगढी क्रिकेट एकेडेमीका प्रशिक्षक रहेका अर्जुन खड्काको दुई वर्ष अगाडि निधन भएको थियो । डीपीएललाई बनाइएको अस्थायी प्यारापिटको ५ मध्येको २ स्टान्ड अर्जुन खड्का र राजु खड्काको नाममा रहेको छ । अन्य तीन स्टान्ड विनोद दास, महबुब आलम र दीपक विष्टको नाममा छ । कीर्तिमानी तेक्वान्दो खेलाडी विष्ट धनगढीका स्थानीय बासिन्दा हुन् ।


गैह्रीधारा क्रिकेट क्लबबाट ७–८ वर्ष खेलेका अर्यालले खेलाडी जीवनको केही सयम बालुवाटार क्रिकेट क्लबमा पनि बिताएका थिए । फास्ट बलर अर्यालको स्विङ बलिङ विशेषता थियो । ५९ वर्षे अर्याल राष्ट्रिय खेलकुद परिषदका पहिलो क्रिकेट प्रशिक्षक पनि हुन् ।


राखेपमा २०३९ जेठ १ गते देखि प्रशिक्षकको भूमिकामा जागिर सुरु गरेका अर्यालले २०७३ फागुन १४ गते अवकाश पाएका थिए । २०४५ देखि २०७० सम्म उनी राखेपका प्रमुख प्रशिक्षक थिए । नेपाल १९९६ मा पहिलोपटक एसीसी ट्रफी खेल्न जानु अघि प्रशिक्षण क्याम्पमा रहेका अर्यालको प्रशिक्षणमा नेपालले १९९७ मा एसीसी यू–१९ कप खेल्न हङकङ गएको थियो ।

अर्याल २००० मा आईसीसी यू–१९ विश्वकपमा नेपाली टोलीका सहयाक प्रशिक्षक थिए जहा नेपाल पहिलोपटक दोस्रो चरणमा पुगेको थियो । उनी २००० मा युएईमा भएको एसीसी ट्रफीमा नेपालका सहयाक प्रशिक्षक थिए । त्यसमा नेपाल पहिलोपटक प्रतियोगिताको सेमिफाइनल पुगेको थियो ।


अर्याल २००३ मा एसीसीले बनाएको यू–१९ सेलेक्ट एसिया टिमका सहयाक प्रशिक्षक थिए । पारस खड्का, शरद भेषावकर, बन्टु बटाजु, पवन दास, जेम्स एटकिन्सन सो टोलीका सदस्य थिए । नेपालले सन् २००५ मा सिंगापुरसँग सिंगापुर गई एसीसी फास्ट ट्रयाक कन्ट्रिज तीनदिवसीय खेल्दा मुख्य प्रशिक्षक रहेका अर्याल २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीका प्रशिक्षक थिए ।


अर्याललेपछि नेपालको महिला टोली पनि सम्हाले । २०११ एसीसी वुमन्स ट्वान्टी–२० र २०१४ एसियाली खेलकुदमा नेपाल महिला क्रिकेट टोलीको प्रशिक्षक रहेका अर्याल घरेलु क्रिकेटमा बालुवाटार क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लबको प्रशिक्षक थिए ।


४१ वर्षे खड्का सन् १९९६ मा नेपालले मलेसियामा एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ढोका खेल्दाका सदस्य हुन् । उनले नेपालबाट २००४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनलाई २००१ मा आईसीसी ट्रफी खेल्न क्यानाडा जाने टोलीको कप्तान बनाइएको थियो । तर खड्कासहित अन्य तीन खेलाडी भिसा नपाएपछि क्यानाडा जान पाएका थिएनन् ।


खड्काको कप्तानीमा सिंगापुरमा एसीसी ट्रफीको फाइनल पुग्दै नेपाल एसिया कपमा छनोट हुन सफल, तर राजनैतीक कारण नेपालले एसिया कप खेल्न पाएनन् । खड्काको जिन्दगी भरको गुनासो यसैमा छ । खड्का अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो खेलाडी हुन् । उनले २००३ मा भुटानसँग एसीसी इमर्जिङ कपमा ५० बलमा अविजित १ सय ५ रन बनाएका थिए ।


तिरुपति, यति एयरलायन्स, महावीरबाट क्लब क्रिकेट खेलेका खड्काले कपिलवस्तु, रुपन्देही, भैरहवा क्षेत्रबाट राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेलेका थिए । कपिलवस्तुलाई २०५७ को जय ट्रफी राष्ट्रिय प्रतियोगिता जिताउन उनले प्रमुख भूमिका खेलेका थिए । २०५६ को जय ट्रफी राष्ट्रिय प्रतियोगिताको फाइनलमा उनले काठमाडौं जिल्लाविरुद्ध शतक बनाएका थिए । २०६० मा भैरहवा क्षेत्रबाट खेल्दै वीरगन्जविरुद्ध वीरगन्जमा उनले बनाएको अविजित १५३ रन राष्ट्रिय क्रिकेट प्रतियोगितामा व्यक्तिगत उच्च स्कोर हो ।


विगत १२ वर्ष देखि चितवन जिल्ला क्रिकेट संघले सन्चालन गरिरहेको चितवन क्रिकेट एकेडेमीको प्रशिक्षक भूमिकामा । खड्काकै प्रशिक्षणमा रहेका सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा छनोट हुन सफल भए । खड्काको प्रशिक्षणमा चितवन क्रिकेट एकेडेमीबाट हालसम्म निश्चल पाण्डे, दीपेश श्रेष्ठ, सुशील कँडेल लगायत खेलाडी राष्ट्रियस्तरमा आइसकेका छन् ।


प्रकाशित : चैत्र १७, २०७४ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?