झापालाई कटारी गोल्डकप
उदयपुर — चौथो कटारी मेयर गोल्डकप फुटबलको उपाधि रमपम झापा ११ ले जितेको छ । पूर्व विजेता झापाले शनिबार फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । झापा पहिलो संस्करणको विजेता टोली हो ।
उपविजेता संकटाले २ लाख ५१ हजारमा चित्त बुझायो । टाइब्रेकरमा झापाका कर्ण लिम्बू, देवेन्द्र तामाङ, विशाल गुरुङ र प्रवेश गुरुङले गोल गरे । संकटाबाट हेम थापामगर र सौजन राईको प्रहार मात्रै गोलमा परिणत भयो । संकटाका अनिल गुरुङको प्रहार गोलरक्षक मनोज प्रधानले बचाए भने नवीन गुरुङको प्रहार बाहिरियो ।
झापाका योगेश गुरुङको प्रहार गोलरक्षक विनय श्रेष्ठले बचाएका लिए ।
निर्धारित समय र थप १५ मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो हाफमा संकटाका हेम थापामगरको फ्रिकिक बारमा लागेर फर्किनु टोलीका लागि दुर्भाग्य बन्यो । दुवै टोलीले आधा दर्जन प्रहार गरे पनि गोल हुन सकेन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ भए । उनले माउन्टेन साइकल प्राप्त गरे । उदीयमान खेलाडी कटारीका प्रताप राई भए । उनले ५ हजार पुरस्कार पाए । सर्वाधिक गोलकर्ता बनेका संकटाका टम्पी अर्नेस्टले मोबाइल सेट पाए । म्याच अफ द म्याच झापाका निशान्त खडा भए । उनले ५ हजार रुपैयाँ पाए ।
उत्कृष्ट गोलरक्षक झापाका मनोज प्रधान, उत्कृष्ट डिफेन्डर संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए । सबैले मोबाइल सेट पुरस्कार पाए ।
८ टोलीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए ।