विवादपछि फाइनल रोकियो

आर्मीका तीन खेलाडीलाई रातो कार्ड
अमन कोइराला

सर्लाही — आर्मी र सुदूरपश्चिम ११ का खेलाडीबीच विवाद भएपछि शनिबार राजर्षि जनक गोल्डकप फुटबलको फाइनल स्थगित भएको छ ।

विवादपछि फाइनल रोकियो

वागमती मैदानमा भएको खेलमा सुदूरपश्चिमले २–१ को अग्रता लिइसकेको थियो । दोस्रो हाफको २२ औं मिनेटमा आर्मीका पदम तामाङलाई टाउकोले छातीमा प्रहार गरेपछि रेफ्री सुदीश पाण्डेले सुदूरपश्चिमका अफ्रिकी मूलका खेलाडी आरोनले दोस्रो पहेंलो कार्ड (रातो) देखाए । छाती र टाउकोमा चोट लागेका पदमलाई अस्पताल नै लानुपर्‍यो ।

सुरुबाटै ‘रफ’ खेलिरहेका आरोनले मैदान छाड्न मानेनन् र झगडा सुरु भयो । दुवै टिमका खेलाडी झगडा गर्न थालेपछि दर्शक पनि मैदानमा ओइरिए । आयोजकले दर्शकलाई रोक्न नसकेपछि स्थिति तनावपूर्ण बन्यो । सुदूरपश्चिमका कप्तान राकेश हमालसहित दुवै टोलीका थुप्रै खेलाडी हातपातमा ओर्लिए ।

कमजोर सुरक्षाबीच आधा घण्टापछि फेरि खेल सुचारु हुन लागेको थियो । तर रेफ्री पाण्डेले आर्मीका गोलरक्षक विकेश कुथु, विकास तामाङ र दीपक गुरुङलाई मात्र रातो कार्ड दिएपछि विवाद फेरि चर्कियो । अपिल गर्न गएका आर्मीका खेलाडीलाई आयोजकले नै रोक्न थाले । दर्शकले पनि फेरि मैदानमा प्रवेश गरी आर्मीका खेलाडीलाई निशाना बनाउन थालेपछि खेल सम्भव भएन ।


आर्मीका प्रशिक्षक नवीन न्यौपानेले एकतर्फी रूपमा आफ्ना खेलाडीलाई मात्र रातो कार्ड देखाएको बताए । ‘हाम्रा खेलाडीलाई अपिल गर्न जाँदासमेत आयोजकले रोक्नु नियम विपरीत हो,’ उनले भने, ‘हाम्रा खेलाडीलाई सुदूरपश्चिमका खेलाडीले हातपात गरेका थिए तर उनीहरूलाई कुनै कारबाही गरिएन ।’

‘दर्शकसमेत झगडामा उत्रिएकाले खेल सुचारु गर्न नसकेपछि फाइनल स्थगित गरिएको हो,’ आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले भने । फाइनल के गर्ने भन्नेबारे शनिबार अबेरसम्म आयोजकले टुंगो लगाउन सकेन ।

यसअघि राकेश हमालको फ्रि–किकमा माधव भण्डारीले गोल गर्दै सुदूरपश्चिमलाई दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । आर्मीका सुमन अर्यालले ३५ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा पुर्‍याए । विनोद केसीले ३९ औं मिनेटमा गोल गर्दैफेरि सुदूरपश्चिमलाई अगाडि बढाएका थिए ।

प्रकाशित : चैत्र १८, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?