कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फाइनल पूरा नहुँदै विजेता

राजर्षि जनक गोल्डकप
अमन कोइराला

सर्लाही — झगडाका कारण अघिल्लो दिन स्थगित भएको राजर्षि जनक गोल्डकप फुटबलको फाइनल खेल पूरा नहुँदै आयोजक वाग्मती युवा क्लबले आइतबार सुदूरपश्चिम ११ लाई विजेता घोषणा गरेको छ ।

फाइनल पूरा नहुँदै विजेता

उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमबीच फाइनल भइरहँदा दोस्रो हाफमा खेलाडीबीच कुटाकुट भएको थियो । दर्शक पनि मैदानमा ओर्लिएर हातपात गर्न थालेपछि सुरक्षाका कारण आयोजकले फाइनल स्थगित गरेको थियो । उसले बाँकी रहेको २१ मिनेट आइतबार खेलाएर उपाधि होड टुंग्याउने जनाएको थियो ।

फाइनलको बाँकी समयको प्रतिस्पर्धा आइतबार दिउँसो ३ बजे सुरु गर्ने आयोजकले जनाए पनि आर्मी टिम खेलस्थलमै आएन । ‘एक घण्टा १५ मिनेट पर्खंदा पनि आर्मीको टिम मैदानमा आएन । त्यसैले सुदूरपश्चिमलाई उपाधि दिने निर्णय गरियो,’ आयोजक वाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले भने । शनिबार खेल रोकिँदासम्म सुदूरपश्चिम २–१ ले अगाडि थियो ।

सुरक्षा व्यवस्था फितलो भएकाले अघिल्लो दिन पूरा खेल सम्भव भएको थिएन । दर्शकसमेत भिडन्तमा उत्रिएकाले भोलिपल्टै खेल गराउनु जोखिमपूर्ण थियो । मैदानमा ओर्लन दुवै टिम अनिच्छुक थिए । सुदूरपश्चिमले जितिसकेको दाबी गर्दै नखेल्ने भनेको थियो । आर्मीले आफ्ना तीन खेलाडीलाई रातो कार्ड दिने रेफ्रीको निर्णय एकतर्फी भएको आरोप लगाएको थियो । आर्मीका खेलाडीलाई आक्रमण गर्ने सुदूरपश्चिमका खेलाडीलाई उनमुक्ति दिएको आर्मीका प्रशिक्षक नवीन नेउपानीको दाबी थियो ।

‘एकपक्षीय निर्णय गरेर आयोजकले विज्ञप्ति निकाले,’ आर्मीका प्रशिक्षक नवीन नेउपानेले भने, ‘आयोजकले समस्याको समाधान गर्ने कुनै पहल गरेन । निर्णय गर्दा हामीसँग छलफल पनि गरेन । एक्लौटी निर्णय गरे । नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले पनि आइतबार नखेल्न भनेको थियो । त्यसैले खेल छोडियो ।’

झडप भएको भोलिपल्टै खेल खेलाउदा सुरक्षाको अवस्थालाई लिएर गाह्रो हुन सक्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि आइतबार फाइनल खेल सञ्चालन नगराउन आयोजक क्लबका अध्यक्ष मैनाली र सहआयोजक सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष विष्ण सुसलिङलाई निर्देशन दिएको थियो । तैपनि आयोजक पछि हटेन ।

‘दर्शकको दबाब, खर्च धान्न मुस्किल भएकाले लामो समय खेल रोक्न सक्ने अवस्था थिएन,’ आयोजक अध्यक्ष मैनालीले भने, ‘एन्फाले भने पनि खेल रोक्न नसक्ने भएर तत्काल सञ्चालन गराउनुपरेको हो ।’ सुरक्षा निकायले पनि खेल हुँदा पुन: झगडा हुन सक्ने भनेको थियो । आयोजकले खेल सञ्चालन गर्ने एकतर्फी निर्णय गरेपछि आइतबार मैदानमा प्रहरी उपस्थिति बाक्लो बनाइएको थियो ।

आयोजकले शनिबार राति नै खेलमा आर्मीको गल्ती औंल्याउँदै तोकिएको समयमा खेल्न नआएको खण्डमा पुरस्कार, सुविधा नदिने र आगामी प्रतियोगितामा सहभागी नगराउने निर्णय गरेको थियो । खेल बहिष्कार गरेमा प्रतियोगिताको नियमावलीअनुसार ३० हजार रुपैयाँ जरिवाना गर्ने आयोजकको निर्णयले पनि आर्मीको चिढिएको थियो जबकी आयोजकले आर्मीलाई प्रतियोगिताको नियमावली नै दिएको थिएन ।

आर्मी अनुपस्थित भएपछि उपविजेताको ३ लाख पुरस्कार आयोजकले दिएनन् । विजेता घोषित सुदूरपश्चिमलाई ५ लाख दिइयो । सुदूरपश्चिमका माधव भण्डारीलाई उत्कृष्ट खेलाडीको मोटरसाइकल पुरस्कार दिइयो । पुरस्कार वितरण समारोह उत्साहपूर्ण भएन । खेलाडीमा उपाधि चुम्दाको चमक देखिएन । दर्शक पनि आयोजकको एकतर्फी घोषणापछि निराश थिए ।

प्रकाशित : चैत्र १९, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?