१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुआब्जा विवादले क्रिकेट मैदान अलपत्र

भूषण यादव

वीरगन्ज — वीरगन्जमा झन्डै डेढ दशकअघि १८ कट्ठा १५ धुर क्षेत्रफलमा ७ वटा टर्फ विकेटसहित निर्मित क्रिकेट मैदान अलपत्र परेको छ । सरकार र राष्ट्रिय खेलकुद परिषद्ले केही जग्गाधनीको मुआब्जा विवाद समाधान नगर्दा मैदानको रेखदेख हुन सकेको छैन । 

मुआब्जा विवादले क्रिकेट मैदान अलपत्र

खेल मैदानको स्तर दिनप्रतिदिन खस्किँदै गइरहेको छ । मैदानको आउटफिल्ड खाल्डाखुल्डीले भरिएका छन् । टर्फ विकेटमा पनि क्रिकेट खेल्ने अवस्था छैन । ०५८ सालमा क्रिकेट मैदान निर्माण हुँदा स्थानीय ७ जनाको करिब ४ कट्ठा जग्गा ओगटिएको थियो । लामो समय बित्दा पनि मुआब्जा नपाएको भन्दै ०६९ माघ १६ मा जग्गाधनीले क्रिकेट मैदानमा डोजर चलाएका थिए । उनीहरूले मैदानको एक फिट अग्लो पर्खाल, त्यसैमा जोडिएको ४० वटा फलामे एंगलसहितको करिब ७० मिटर लामो तारजालीसमेत भत्काइदिए । जग्गाधनीमध्ये ४ जनाले ‘खिचलो चलन’ अन्तर्गत मुद्दा हालेका छन् भने बाँकी तीन जनाले मुआब्जा माग्दै परिषद्मा निवेदन दिएका छन् । अदालतले पनि जग्गाधनीहरूकै पक्षमा फैसला गरेको छ ।


०६९ असार २४ मा राष्ट्रिय खेलकुद परिषदका संरक्षक एवं तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा परिषदको ९३ औं बोर्ड बैठकले नारायणी रंगशाला क्रिकेट खेलमैदान निर्माण हुँदा विभिन्न व्यक्तिहरूको जग्गा खेलमैदानभित्र परेकाले जग्गाधनीको क्षेत्रफल बमोजिम क्रिकेट मैदान र भविष्यमा खेलकुदलाई असर नपर्ने गरी जग्गा सट्टापट्टा गर्ने निर्णय गरेको थियो ।

जग्गाधनीहरूको खेल मैदानले मिचेको क्षेत्रफल बराबरको जग्गा परिषदको नारायणी रंगशालाभित्रको जग्गाबाटै सट्टापट्टा गर्ने व्यवस्था मिलाउन मध्यामाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई अख्तियारीसमेत प्रदान गर्ने निर्णय गरेको थियो ।


सट्टापट्टा गर्ने निर्णय भएको झन्डै साढे ५ वर्ष बितिसक्दा पनि जग्गा विवाद सुल्झिएको छैन । नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारीका अनुसार सट्टापट्टाबापत राखेपले उपलब्ध गराएको जग्गामा बाटो नभएकाले समस्या समाधान नभएको हो ।


‘राखेपसँगै गुठी संस्थानको पनि जग्गा छ,’ अन्सारीले भने, ‘गुठीकै जग्गा बाटोको रूपमा प्रयोग गर्न सके समाधान निस्कन सक्छ, यसका लागि पनि सरकारी निर्णय आवश्यक छ ।’ यही खेलमैदानमा क्रिकेट खेल खेल्न सुरु गरेका राष्ट्रिय टोलीका सदस्य आरिफ शेख आफ्नो घरेलु मैदानको अवस्था देखेर खिन्नता प्रकट गर्छन् । ‘घर आउँदा जब अभ्यास गर्न पुग्छु, यसको अवस्था देखेर मन खिन्न हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘अन्यत्र खेल मैदान निर्माण भइरहेका छन् तर वीरगन्जको अन्तर्राष्ट्रिय स्तरको खेल मैदानको अवस्था खस्कँदै गइरहेको छ ।’


आर्थिक नगरी भए पनि यहाँका उद्योगी, व्यवसायीले खेलकुद प्रवद्र्धन र संरक्षणका लागि चासो नलिएको खेलाडीको गुनासो रहँदै आएको छ । मर्मतसम्भार अभावमा जीर्ण बन्दै गएको मैदान पछिल्लो पटक मुआब्जा विवादमा परेपछि खेलाडी निराश छन् ।

प्रकाशित : चैत्र १९, २०७४ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?