३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संकटाले लियो बदला

विनोद भण्डारी

विराटनगर — विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबको चुनौतीलाई १–० गोलले पन्छाउँदै संकटा क्लब मंगलवार पाँचौं विराट गोल्डक फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

संकटाले लियो बदला

संकटाका जिबरेलले खेलको ६१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै संकटाले चितवनमा विकास रनिङ सिल्डको फाइनलमा एपीएफसँग पाएको हारको बदला पनि लिएको छ । उक्त प्रतियोगितामा संकटा एपीएफसँग ३–२ ले स्तब्ध भएको थियो ।

विराट गोल्डकपको दोस्रो संस्करणमा पनि संकटाले एपीएफमाथि १–० को जित दर्ता गरेर उपाधि हात पारेको थियो ।

संकटाको सेमिफाइनल भेट थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबवीचको विजेतासँग शनिवार हुनेछ । दर्शको अपेक्षाभन्दा निकै सुस्त देखिएको मंगलबारको खेलको पहिलो हाफमा एपीएफविरुद्ध संकटा हाबी देखिए पनि उसले गोलको खाता खोल्न सकेन र ६१ मिनेटसम्म कुर्नुपर्‍यो ।

संकटाका जिवरेलले मैदानको मध्यभागबाट गरेको कडा प्रहार गोलमा परिणत भएको थियो । खेलको २७ औं मिनेटमा उनैले ३० यार्ड टाढाबाट गरेको प्रहार बारमा लागेर रिबाउन्ड भएको थियो । उनी म्यान अफ द म्याच पनि भए । संकटाले कोलकातालाई पन्छाउँदै अन्तिम आठको यात्रा गरेको थियो ।

दोस्रो हाफमा एपीएफले केही सुधारिएको खेल पस्के पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा खेलमा फर्कनबाट वञ्चित बन्यो । ६४ औं मिनेटमा रुपक लामाले विपक्षी गोलकिपर सागर बिट हुँदा गरेको हेड प्रहार पोस्ट बाहिरिँदा खेलमा फर्कने अवसर गुम्यो । ८२ औं मिनेटमा हरि कार्कीको प्रहारलाई संकटाका किपरले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए । खेलको ८८ औं मिनेटमा विश्वास उदासको पावर सुट पनि पोस्टबारमा ठोक्किएर रिवाउन्ड हुँदा एपीएफ चुक्चुकाएको थियो ।


वैकल्पिक खेलाडी सुनील खड्काले ७९ औं मिनेटमा विपक्षी गोलकिपर राजु नगरकोटी बिट हुँदा गरेको प्रहार पोस्ट बाहिरिँदा संकटाको थप गोल गर्ने अवसर गुमेको थियो । उनी दोस्रो हाफको २५ औं मिनेटमा अनिल गुरुङको ठाउँमा मैदान छिरेका थिए ।


पहिलो हाफमा कमजोर प्रदर्शन गर्नु र दोस्रो हाफमा पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपरेको एपीएफका प्रशिक्षक रत्नकाजी मर्हजनको प्रतिक्रिया थियो । अधिकांस खेलाडीले पहिलोपल्ट फ्लडलाइटमा खेलेका कारण पनि टिमको समीकरण नमिलेको उनको तर्क रह्यो ।

उता संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीका लागि डे–नाइट म्याच अनुकूल भएको र युवा खेलाडीको तालमेल मिलेका कारण जित सम्भव भएको बताए । बुधबार नेपाल पुलिसले त्रिभुवन आर्मीसँग खेल्नेछ ।

प्रकाशित : चैत्र २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?