आर्मी फाइनलमा

विनोद भण्डारी

विराटनगर — त्रिभुवन आर्मी क्लब पाँचौं विराट गोल्डकप फुटबलको फाइनल पुगेको छ । शुक्रबार रमपम झापा–११ लाई १–० गोलले हराउँदै आर्मीले उपाधि दाबेदारी प्रस्तुत गरको हो ।

आर्मी फाइनलमा

खेलको ६८ औं मिनेटमा विमल पाण्डेले गरेको गोल आर्मीका लागि निणायक बन्यो । आर्मीले थ्रीस्टार र संकटाबीचको विजेतासँग सोमबार उपाधि भिडन्त गर्नेछ ।

आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले र झापाले आयोजक रिजालको मोरङ ११ लाई टाइब्रेकरमा ५–३ ले हराएर अन्तिम चारको यात्रा गरेका थिए ।

आर्मीले यो सिजन झापामाथि तेस्रोपल्ट जित दर्ता गरेको छ । उसले तेस्रो झापा गोल्डकपको फाइनलमा झापालाई सडनडेथमा हराएर उपाधि जितेको थियो । आर्मीसँग सताक्षी गोल्डकपको सेमिफाइलमा पनि झापा ३–१ ले पराजित भएको थियो । झापा तेस्रो विराट गोल्डकपको विजेता हो ।

प्रतिस्पर्धात्मक खेलको ६८ औं मिनेट आर्मीका लागि टर्निङ प्वाइन्ट बन्यो । नवयुग श्रेष्ठले प्रहार गरेको बललाई झापाका गोलकिपर किरण चेम्जोङले पन्च गरी बाहिर फाले । त्यसमै कर्नर हुँदा भरत खवासको भलीमा विमल पाण्डेले दोस्रो बार च्यापेर गरेको हेडिङ गोलमा परिणत भयो । राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलकिपर चेम्जोङ झापाका लागि ४३ औं मिनेटमा मनोज प्रधानको स्थानमा मैदान छिरेका थिए । भरत खवास म्यान अफ द म्याच भए ।

पहिलो हाफमा आर्मीलाई दबाबमा राखेको झापाका स्कोररले पाएको अवसर सदुपयोग गर्न नसक्दा टिमलाई अग्रता दिलाउन सकेनन् । खेलको नवौं मिनेटमा झापाका माइकलको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले पन्च गरे । रिबाउन्डमा विश्वास श्रेष्ठको प्रहारलाई आर्मीका डिफेन्डर दीपक गुरुङले क्लियर गरेर संकट टारेका थिए । ३५ औं मिनेटमा माइकलको प्रहार आर्मीका सुमन अर्यालले नियन्त्रण गर्दा र ३७ आैं मिनेटमा माइकलको वान भर्सेस वान प्रहार पोस्टबाट बाहिरिँदा झापाले अग्रता लिन चुक्यो ।

आर्मीले पहिलो हाफमा एक पटकमात्र पोस्ट आक्रमण बुन्यो । २१ औं मिनेटमा भरत खवासको पासलाई टंक बस्नेतले हेड गर्दा बल पोस्ट बाहिर गयो । इन्ज्युरी समयको तेस्रो मिनेटमा गोलकिपर चेम्जोङ बक्स बाहिर हुँदा दिनेश हेम्जनको प्रहार पोस्ट माथिबाट बाहिरिँदा आर्मी गोलअन्तर बढाउन चुकेको थियो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले विपक्षी टोलीका विदेशी मूलका खेलाडीलाई च्यापेर खेल्ने रणनीति सफल भएका कारण नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए ।

झापाका प्रशिक्षक प्रवेश कटुवालको राम्रो खेल पस्किए पनि अवसर सदुपयोग गर्न नसक्दा र रेफ्रीको गलत निर्णयका कारण पराजय भोग्नुपरेको बताए । उनका अनुसार गोलको ‘टर्निङ प्वाइन्ट’ कर्नर नभई आउट थ्रो थियो ।

प्रकाशित : चैत्र २४, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?