२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बलियो विराटनगर बाहिरियो

अत्तरिया प्ले अफमा, धनगढी भाग्यमानी

धनगढी — प्रतियोगिताअघि उपाधिको प्रमुख दाबेदार मानिएको विराटनगर किंग्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

बलियो विराटनगर बाहिरियो

पहिलो चरणको अन्तिम खेलमा सीवाईसी अत्तरियासँग ६ विकेटले पराजित भएपछि आइतबार विराटनगर प्ले–अफमा स्थान बनाउन असफल भएको हो ।

जितसँगै अत्तरिया प्ले–अफमा पुग्यो । अत्तरियाको ५ र विराटनगरको चार अंकमात्र रह्यो । काठमाडौं गोल्डेन्स नौ अंकसाथ शीर्षस्थानमा रहँदै ‘क्वालिफायर’ मा पुग्यो । टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेडको समान ६ अंक भए पनि सर्वाधिक जितका आधारमा दोस्रो स्थानमा रहँदै धनगढीले काठमाडौंसँग फाइनल प्रवेशका लागि क्वालिफायरमा खेल्ने निश्चित भयो ।

आइतबारका दुवै नतिजा अनुकूल रहेपछि धनगढी क्वालिफायरमा पुगेको हो । महेन्द्रनगर र अत्तरियाले प्ले–अफको इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । रूपेन्देही च्यालेन्जर्स सबै ५ खेल हारेर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं र महेन्द्रनगरबीचको आइतबारको पहिलो खेल वर्षाले एक बल पनि फाल्न नपाई रद्द भएपछि दुवैले १–१ अंक बाँडेका थिए ।

वर्षाले मैदान भिजेको कारण दोस्रो खेल पनि ६–६ ओभर मात्र सम्भव भयो । संघीय प्रहरी कार्यालय इकाइ मैदानमा टस जितेपछि अत्तरियाले विराटनगरलाई ब्याटिङमा निम्त्याएको थियो । विराटनगरले ३ विकेट गुमाई ५५ रनमात्र बनाउन सक्यो । अत्तरियाले २ बलअगाडि लक्ष्य पूरा गर्‍यो । ‘थोरै ओभरको खेल भएकाले हामीले टस जितेर फिल्डिङ गर्नै ठीक मान्यौं । हाम्रो बलिङ, फिल्डिङ र ब्याटिङ सबै राम्रो भयो,’ अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले भने ।

सुवास खकुरेल औंलामा चोट बोकेका कारण उनको स्थानमा कप्तानी गरिरहेका दीपेन्द्रले अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा विराटनगरका कप्तान पारस खडकाको बलमा छक्का प्रहार गरेका थिए । अर्को बलमा पारसले उनलाई आउट गरे । दीपेन्द्रले १५ बलमा २० रन बनाए । विपिन चन्द्राले १५ बलमा ५ चौका प्रहार गरी नटआउट २६ रन जोडे । उनी म्यान अफ द म्याच चुनिए ।

रामनरेश गिरीले पहिलो ओभरमै गौरव चितकारा (०) र कुशल भुर्तेल (४) लाई विराटनगरको आशा जगाएका थिए । त्यसपछि दीपेन्द्र र चन्द्राको साझेदारी जमेको थियो । स्कोर बराबर भएको अवस्थामा पारसले दीपेन्द्र र सन्दीप जोरालाई लगातार बलमा आउट गरे ।

यसअघि विनोद लामाको पहिलो ओभरमा १३ जोडे पनि विराटनगरले त्यसलाई निरन्तरता दिन सकेन । दोस्रो ओभरको अन्तिम बलमा बाबर हायत लङ अफमा शुभांकर उराउको बलमा कुशल भुर्तेललाई क्याच दिन पुगेपछि विराटनगरको रन रफ्तार कम भएको थियो । हायतले ७ बलमा १४ रन बनाए । अनीलकुमार शाहले १२ बलमा २ छक्का प्रहार गरी १५ रन बटुले ।

पारसले ८ बलमा ९ रन मात्र बनाउन सके । तल्लोक्रममा आएका दिलीप नाथले ९ बलमा १५ रन बनाए । त्यसमा अन्तिम ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन बनाएका थिए । अत्तरियाका कमलसिंह ऐरीले २ विकेट लिए ।

‘६ ओभरको खेलमा केही भन्नै सकिन्न । छोटो खेलमा जुनै पनि टोलीले जस्तोसुकै टोलीलाई पराजित गर्ने सम्भावना हुन्छ,’ पारसले भने, ‘हामीले तीन खेल साँघुरो अन्तरमा हार्‍यो, जुन जित्न पनि सक्थ्यौं । तर हामीले फिनिसिङ गर्न सकेनौं । आज पनि त्यस्तै भएको हो । हामीले अझ रन बनाउन सक्नुपथ्र्यो । अर्को पाटोबाट हेर्ने हो भने उनीहरूले पनि राम्रो खेलेका हुन् । हामीले क्लिनिकल प्रदर्शन गर्न सकेनौं ।’

प्रकाशित : चैत्र २६, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?